+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्ड–चौतारी सहकारीको वार्षिक साधारणसभा सम्पन्न

गोसाइँकुण्ड–चौतारी सहकारीको वार्षिक साधारणसभा सम्पन्न
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, नुवाकोट जिल्लाभरि कार्यक्षेत्र रहेको गोसाइँकुण्ड–चौतारी बहुउद्देश्यीय सहकारी संस्था लि. को २२औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । जिल्ला सहकारी सङ्घका अध्यक्ष गोकर्णनाथ न्यौपानेले उद्घाटन गरेर सुरु भएको साधारणसभामा सञ्चालक समितिले प्रस्तुत गरेको प्रस्ताव पारित भएको छ ।

सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डितको सभापतित्वमा भएको साधारणसभाको बन्दसत्रमा कोषाध्यक्ष लक्ष्मीकुमारी प्रधान, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक धु्रवप्रसाद अर्यालले प्रस्तुत गरेको प्रतिवेदन छलफलसहित पारित भएको छ । साधारणसभाले अध्यक्षको आ.व. ०७९/८० को वार्षिक प्रतिवेदन तथा आ.व. ०८०/८१ को नीति तथा कार्यक्रम बृहत् छलफल गरी सुझावसहित पारित भएको छ । आ.व. ०८०/८१ का लागि लेखा परीक्षण गर्न लेखापरीक्षकको नियुक्ति, साधारणसभाको निर्णय पुस्तिका प्रमाणित गर्ने सेयर सदस्यको मनोनयन र उद्देश्य मिल्ने सहकारी संस्थासँग एकीकरण गर्ने प्रस्ताव पारित भएको व्यवस्थापक हरिवंश ढकालले जानकारी दिए । साधारणसभाको उद्घाटन सत्रमा जिल्ला सहकारी सङ्घको विषयगत बहुउद्देश्यीय सहकारी सङ्घका सचिव तथा जनमुखी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक भोजराज पनेरू, सेयर सदस्य, वासुदेव सापकोटा, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तथा गोसाइँकुण्ड–चौतारी बहुउद्देश्यीय सहकारीका संस्थापक सञ्जीवबहादुर श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा नुवाकोट तेक्वान्दो सङ्घका अध्यक्ष शरण उत्सुक सापकोटाले सहकारीको नीति र सिद्धान्तअनुसार संस्था सञ्चालन गर्न सुझाव दिएका थिए ।

नुवाकोटको सहकारी अभियानको मूल प्रवाहमा रहेको गोसाइँकुण्डले गत आ.व. ०७९/८० मा सात करोड ५७ लाख ६ हजार सात सय १३ रुपैयाँ बचत सङ्कलन गरी आठ करोड नौ लाख ५७ हजार पाँच सय २९ रुपैयाँ बचत फिर्ता गरेको थियो भने सोही आ.व.मा दुई करोड ६० लाख ३५ हजार कर्जा लगानी गरी चार करोड ६८ लाख ८८ हजार सात सय ८४ कर्जा असुली गर्न सफल भएको छ । सहकारीको गत आ.व.को असार मसान्तसम्म १७ करोड ९५ लाख ४८ हजार एक सय २० रुपैयाँ सेयर सदस्यमा कर्जा लगानी रहेको थियो । ०५८ मङ्सिर ११ गते स्थापना भएको ॐ श्री गोसाइँकुण्ड बहुउद्देश्यीय सहकारी संस्था लि. बट्टार र ०६५ असार ३ गते स्थापना भएको चौतारी बचत तथा ऋण सहकारी संस्था लि. विदुरबीच ०७७ चैत २ गते एकीकरण भएर गोसाइँकुण्ड–चौतारी बहुउद्देश्यीय सहकारी संस्था लि.को नामबाट एकीकृत कारोबार गरिरहेको उपाध्यक्ष बाबुराम लामिछानेले जानकारी दिए । सहकारीको बट्टारमा केन्द्रीय कार्यालय विनपा–४ विदुर र बेलकोटगढी नगरपालिका–७ महाँदेवफाँटमा सेवा केन्द्र सञ्चालनमा रहेको छ । सहकारीले साधारणसभामा असल बचतकर्ता यकुमाया डङ्गोल, असल ऋण कारोबार गर्ने वासुलाल श्रेष्ठ र दोलखादेवी निर्धन उत्थान केन्द्रलाई नगदसहित सम्मानपत्र प्रदान गरेको सचिव सुकुमान डङ्गोलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह