विदुर, विदुर नगरपालिकाले सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोट परिसरमा सञ्चालन गरेको नागरिक सहायता कक्षबाट सात महिनामा नौ हजार तीन सय २० जनाले सेवा पाएका छन् । सहायता कक्षबाट निःशुल्क राष्ट्रिय परिचयपत्र र राहदानी आवेदन फाराम भर्नेको सङ्ख्या नौ हजार सात सय २० जना पुगेको छ । तथ्याङ्कअनुसार राहदानीमा चार हजार पाँच सय ५० र राष्ट्रिय परिचयपत्रमा चार हजार सात सय ७० जना सेवाग्राहीले लाभ लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सेवाग्राहीको सहजताका लागि विदुर नगरपालिकामार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्र (सामी)को सहायता कक्षबाट निःशुल्क राहदानी र राष्ट्रिय परिचयपत्र फाराम भर्ने सुविधा रहेको छ । गत वैशाखमा प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहित सरोकारवालाबीच भएको निर्णयअनुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले निःशुल्क भर्ने व्यवस्था गरेको थियो । तथ्याङ्कअनुसार राहदानीतर्फ महिला दुई हजार दुई सय ९२, पुरुष दुई हजार एक सय २१, बालबालिकामा केटी ७२ र केटा ६५ जनाले लाभ लिएका छन् । त्यस्तै, राष्ट्रिय परिचयपत्र आवेदन फाराम भर्ने सुविधा लिनेमा महिला दुई हजार चार सय आठ र पुरुष दुई हजार तीन सय ६२ जना रहेका छन् । राहदानीतर्फ विदुर नगरपालिकाकै ६ सय १० जना रहेका छन् । जसमा महिला तीन सय १८, पुरुष दुई सय ६७, बालबालिकामा केटी १४ र केटा ११ जना रहेका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रमा महिला दुई सय ७९ र पुरुष तीन सय १० जना गरी कुल पाँच सय ८९ जनाले निःशुल्क सेवा लिएका छन् ।
त्यसैगरी, राहदानीतर्फ बेलकोटगढी नगरपालिकाका आठ सय ५५, ककनी गाउँपालिकाका चार सय २९, लिखुका दुई सय ६७, शिवपुरीका दुई सय १९, पञ्चकन्याका दुई सय ४९, दुप्चेश्वरका दुई सय ७० जना, तादीका दुई सय ९६, तारकेश्वरका तीन सय १४, सूर्यगढीका दुई सय ९४, किस्पाङका तीन सय ७१ र म्यागङका तीन सय ७६ जना सेवाग्राहीले लाभ लिएका छन् । राष्ट्रिय परिचयपत्रतर्फ बेलकोटगढी नगरपालिकाका नौ सय ४७, ककनी गाउँपालिकाका चार सय ५०, लिखुका तीन सय ६८, शिवपुरीका दुई सय ४९, पञ्चकन्याका दुई सय ६०, दुप्चेश्वरका दुई सय १९, तादीका दुई सय ६९, तारकेश्वरका दुई सय ७६, सूर्यगढीका तीन सय २५, किस्पाङका तीन सय २९ र म्यागङका चार सय ८९ जना सेवाग्राहीले लाभ लिएका छन् । कतिपय सेवाग्राहीले अनलाइनबाटै आफैँ फाराम भरी आउने गरेकोमा केही त्रुटि हुने भएकाले पुनः फाराम भरी सहजीकरण गर्ने गरेको सामी परियोजनाका सूचनादाता तथा परामर्शकर्ता विक्रम रिमालले बताए । उक्त कक्षबाट सेवाग्राहीलाई आवश्यक कागजातको प्रतिलिपि गर्न निःशुल्क फोटोकपी गर्ने गरेको छ । जेठ १ गतेदेखि विदुर नगरपालिकाले प्रशासन कार्यालयको परिसरमा रहेको विदुर नगरपालिकामार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्र (सामी) को सहायता कक्षबाट निःशुल्क फाराम भर्न दुई कर्मचारी र आवश्यक उपकरणको व्यवस्था गरी नागरिकको सहजतालाई कार्यको थालनी गरेको थियो । नगरप्रमुख श्रेष्ठका अनुसार विदेशमा अलपत्र परेका नागरिकलाई फिर्ता, बिमासम्बन्धी परामर्श, बिरामी तथा घाइतेको उपचार, कानुनी सेवा, बेपत्ता तथा सम्पर्कविहीनको खोजतलासमा पु¥याउँदै आएको सामी परियोजना सेवाले वैदेशिक रोजगार, अध्ययन, भ्रमण तथा व्यवसायमा जानेका लागि उल्लेख्य सहयोग पुग्दै आएको छ ।






प्रतिक्रिया