बट्टार, नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट प्रभावितका लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले ३० हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ ।
शुक्रबार सहकारीका अध्यक्ष केशव मिश्रसहित पदाधिकारीको टोलीले जिल्ला प्रशासन कार्यालय नुवाकोट पुगेर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई राहत कोषमा जम्मा भएको भौचर बुझाएका थिए । सहकारीको निर्णयअनुसार नयाँ कार्यसमितिको पहिलो बैठकको भत्ता र थप सहयोग गर्ने निर्णयबमोजिम जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई राहतस्वरूप सहयोग गरिएको सहकारीका अध्यक्ष मिश्रले बताए । उक्त रकमबाट भूकम्प प्रभावितको राहत र उद्धारमा थोरै भए पनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी राख्ने सहकारीले जनाएको छ । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवद्र्धन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ ।