रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

  • त्रिशूली प्रवाह
  • १४ मंसिर २०८०, बिहीबार १२:००
  • सरस्वती न्यौपाने

धुन्चे, स्थलमार्ग हुँदै चीनबाट नेपाल सामान भित्रिने रसुवागढी भन्सार नाका अहिले सुन तस्करी नाकामा परिणत भएको छ । सुन तस्करी नयाँ–नयाँ तरिकाबाट हुन थालेपछि अहिले रसुवा प्रहरीले रसुवागढी नाकामा विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाई सुन ल्याउन थालेपछि भन्सार नाकामा प्रहरीले सूक्ष्म निगरानी बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीका अनुसार केरुङबाट बेरुवा औँठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीनजना पक्राउ परेका थिए । यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेकोे हो । रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत–जावत गर्न पाउँछन् । केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । केरुङ आवत–जावतका लागि पास पाएका स्थानीयले अवैध रूपमा कुनै पनि सामग्री ल्याउन नपाउँदैनन् । राहदानीमार्फत आएका महिलाले ५० ग्राम एवम् पुरुषले २५ ग्राम मात्र सुन ल्याउन पाउने प्रावधान रहेको बताइएको छ । केरुङबाट सुनको औँठी ल्याई अवैध कारोबारमा संलग्न भएको आरोपमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका– १ हाकुनिवासी सिनेवाङ्दी तामाङ, आमाछोदिङ्मो–४ गोल्जुङकी लक्ष्मी तामाङ एवम् आमाछोदिङ्मो–५ चिलिमेकी ल्हाक्पावुटी तामाङ पक्राउ परेका हुन् । उनीहरूको साथबाट १४ लाख ९१ हजार ६ सय २८ बराबरको १२ तोला ९१ लालबाट तयार भएका पाँच बेरुवा सुनका औँठी जफत गरिएको थियो । उनीहरूलाई रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक सुमन थापाले बताए । उनका अनुसार रसुवागढी नाकाबाट बढ्दो सुन तस्करी हुन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले भन्सार कार्यालयमा निगरानी राख्न थालेका छन् । सशस्त्र प्रहरी बललाई चौकी स्थापना गर्ने जग्गा उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयले स्वीकृति नदिँदा नाकथलीमा चौकी स्थापना हुन सकेको छैन ।