गोसाइँकुण्ड पदमार्गका चार होटेल कारबाहीमा

  • त्रिशूली प्रवाह
  • १४ मंसिर २०८०, बिहीबार १२:५७

धुन्चे, रसुवाको धार्मिक, ऐतिहासिक क्षेत्रको गोसाइँकुण्ड पदमार्गमा पर्ने चारवटा होटेललाई घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सहभागी टोलीले जरिवानासहित कारबाही गरेको छ । अनुगमन गर्दा ती होटेलले तीर्थयात्रीलाई बढी रकम असुलेको प्रमाणित भएपछि कारबाही गरिएको बताइएको छ ।

चर्काे मूल्य लिएको, बिलबिजक नभएको र म्याद गुज्रिएको सामान ती होटेलमा भेटिएकाले चार होटेल कारबाहीमा परेका हुन् । यस पदमार्गमा पर्ने होटेलले मनपरी पैसा लिने र बिलबिजकसमेत नदिने गरेको गुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्ज, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागितामा मङ्सिर ५ देखि ७ गतेसम्म धुन्चेदेखि गोसाइँकुण्ड पदमार्गमा रहेका ११ वटा होटेलको अनुगमन गर्दा चार होटेल कारबाहीमा परेका हुन् । अनुगमनको क्रममा बिलबिजक नराखी कारोबार गर्ने गोसाइँकुण्ड नमस्ते होटेल, माया होटेल, टिबेट होटेल, होटेल लाङटाङ लिरुङ भ्यु रहेका छन् । उनीहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको बताइएको छ । केही होटेलमा म्याद गुज्रेको पेय-पदार्थ जफत गरी नस्ट गरिएको र अबका दिनमा यस्तो कार्य नगर्न सचेत गराइएको अनुगमन टोलीका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीले जानकारी दिए ।