नेकपा एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको टोली शनिबार नुवाकोट जिल्ला आइपुग्ने कार्यक्रम रहेको छ । बैतडी जिल्लाको सिमाना झुलाघाटमा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर सुरुवात गरेको समृद्धिका लागि सङ्कल्प यात्राको टोली दशौँ दिन गोर्खा जिल्लाको गोर्खाबजार, सल्यानटार, आरुघाट हुँदै नुवाकोट जिल्लाको सामरीभञ्ज्याङबाट प्रवेश गरेर मङ्सिर २३ गते विदुर आइपुग्दै छ । नुवाकोटको छहरे, पाटीभञ्ज्याङ हुँदै मङ्सिर २४ गते केन्द्रीय टोली काभ्रे जिल्लाको कुन्ताबेँसी पुग्ने कार्यक्रम रहेको छ ।

०८० मङ्सिर १४ गतेबाट सुरु भएको यस सङ्कल्प यात्रामा नेकपा एमालेका अध्यक्ष एवम् मुलुकका पूर्वप्रधानमन्त्री आफैँले केन्द्रीय टोलीको नेतृत्व गरिरहेका छन् । केन्द्रीय नेताको टोलीमा यात्रा गर्ने करिब दुई सयजना रहेका छन् भने प्रत्येक जिल्ला र प्रदेशमा स्थानीय नेता तथा कार्यकर्ता यात्रामा सहभागी भइरहेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय सङ्कल्पलाई आफ्नो लक्ष्य बनाएको एमालेले यस सङ्कल्प यात्रालाई नेपालको मध्यपहाडी भू–भागका जनतालाई जोड्ने सघन अभियानका रूपमा लिएको देखिन्छ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भनिएको यो अभियान मङ्सिर १४ बाट सुरु भयो र पुस २ गते काठमाडौंमा सम्पन्न हुने बताइएको छ । पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गमा सुरु गरेको सङ्कल्प यात्रालाई एमालेले महाअभियानको रूपमा लिएको जनाएको छ । सुदूरपश्चिमको बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ (च्याङथापु) सम्मको मध्यपहाडी राजमार्गको करिब एक हजार आठ सय ७९ किलोमिटर लामो यो पद यात्रा एमालेको मात्र नभएर आमनेपालीको उत्साह प्रतिबिम्बित गर्ने एउटा अवसरका रूपमा रहेको छ । एमालेको यो समृद्धिलक्षित क्याराभान नेपालको समृद्धि, चेतना र विकासका लागि निकै अर्थपूर्ण रहेको र राजनीतिको सत्ता र दलकेन्द्रित बढ्दो विसङ्गतिबाट मुलुकलाई मुक्ति दिन यो सङ्कल्प यात्रा महत्वपूर्ण हुने देखिएको छ । एमालेले राजनीतिको एजेण्डालाई सत्ता प्राप्तिभन्दा मुलुकको समृद्धि र नागरिकको सुखका लागि हुनुपर्छ भन्ने आफ्नो स्थापित मान्यतालाई जनताका पक्षमा परिणाममुखी बनाउन यो यात्रा कोसेढुङ्गा बनाउन खोजिरहेको छ ।
नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा र एमालेको गन्तव्यलाई साकार पार्ने उद्देश्यका साथ झुलाघाटबाट सुरु भएको अभियानमा यसभन्दा अगाडिका नवौँ सभामा मध्यपहाडी राजमार्गका जिल्लामा ठूला–ठूला जनसभा, सन्देश सभा र भेटघाटलगायतका कार्यक्रममा हजारौँ जनता, नेता तथा कार्यकर्ताको उपस्थिति र उत्साहले देशभर एमालेप्रतिको विश्वास थप मजबुत बनाउन मद्दत पुगेको देखिन्छ । करिब तीन साताको यस पदयात्रामा विशेषतः मध्यपहाडी क्षेत्रका नागरिकको अवस्थाबारे अध्ययन, प्रत्यक्ष साक्षात्कार र वस्तुगत अवस्थाको अवलोकन र विकासको अनुगमनसमेत गर्ने अवसर मिलेको एमालेले जनाएको छ । यो समय मध्यपहाडलाई समुन्नत बनाउने अठोटका साथ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का रूपमा रहेको छ । यसका साथै अभियानले सरकारी अकर्मण्यता र अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउन भूमिका खेल्नेछ । यात्राका क्रममा निर्धारित मार्गको आसपासका विभिन्न पेसा–व्यवसायमा रहेका आमनागरिक, स्थानीय जनप्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता, शिक्षक, विद्यार्थी, किसान, मजदुर, संस्कृति संवाहक समुदायसँग नेतृत्वको खुला छलफल, बहस तथा साक्षात्कार र अध्ययन–मनन गर्ने अवसरबाट मुलुकको झन्डै आधा जनसङ्ख्या लाभान्वित भएका छन् । यो यात्रा नेतृत्वले सामूहिक रूपमा नै जनताका गुनासा सुन्ने र दल तथा आफूप्रतिका भ्रम निवारण गर्ने महत्वपूर्ण अवसर बनिरहेको छ । यस अभियानको क्रममा हुने जनता र नेताबीचको अन्तरसंवाद तथा अन्तरघुलनले नेपालको एकता, नेपालको मौलिक संस्कृतिजस्ता समृद्धि र गौरवपूर्ण इतिहासका आधारलाई अझ मजबुत बनाउन सहयोग मिल्नेछ ।
यस यात्राको क्रममा अहिले विकास पहाडतिर उकालो लाग्ने, पहाडका मानिस मधेश र सहर झर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने उपाय पनि खोजिने बताइएको छ । यसका साथै मध्यपहाडी पुष्पलाल लोकमार्गलाई अझै कसरी छोटो बनाउन सकिन्छ भन्ने सम्भावनाको समेत खोजी गरिनेछ । एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारले पन्ध्रौँ योजनामा २५ वर्षे समृद्धिको मार्ग पहिचान गरी लागू गरिसकेको छ । यो लामो यात्राले आगामी दिनमा एमालेको नेतृत्वमा सरकार बनेपछि मुलुकको समृद्धिको खाकामा समयसापेक्ष परिमार्जन गरी अझ उन्नत बनाउन महत्वपूर्ण आधार प्रदान गर्नेछ । यस अर्थमा यो यात्रा मिसन २०८४ को एक महत्वपूर्ण अङ्ग पनि हो भन्न सकिन्छ । सबभन्दा महत्वपूर्ण विषय त वर्तमान विसङ्गतियुक्त राजनीतिक अवस्थाले जनतामा बढ्दै गएको निराशा र आक्रोशलाई जनताका घरआँगनमा नै पुगेर पुनः आशा जगाउनसमेत यो यात्रा निकै सहयोगी बन्नेछ र बन्न सक्नुपर्छ । आगामी पुस २ गते काठमाडौंमा सार्वजनिक गरिने यात्राको निष्कर्षसहितको धारणाले थप उपलब्धि उजागर गर्ने नै छ । एमालेले यसलाई ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ भनेको छ । वास्तवमा यो यात्रालाई सङ्कल्प यात्रा भनिएको छ । सङ्कल्प पूरा गर्नका लागि जनसमर्थन, जनभावना, जनविश्वास अति नै आवश्यक हुन्छ । यसका लागि यो यात्राको यो भूमि चयन गरेर एमालेले राम्रो गरेको छ । यो मध्यपहाडी लोकमार्ग बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पूर्व रुकुम, बागलुङ, पर्वत, कास्की, लमजुङ, गोरखा, धादिङ, नुवाकोट जिल्ला हुँदै अघि बढ्छ । यसको मध्यबिन्दु नुवाकोट जिल्लाको पाटीभञ्ज्याङ पर्दछ । यो मार्ग काठमाडौंसँग जोडिँदैन । काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथर जिल्लाको चुवाभञ्ज्याङ (च्याङथापु) पुग्दछ । यसरी यो लोकमार्गले मध्यपहाडका २४ वटा जिल्लाका करिव साढे दुई सय मानव बस्तीलाई प्रत्यक्ष रूपमा जोडेको छ । यसबाट मध्यपहाडी क्षेत्रका बसोवासी र आउजाउ गरिरहेका करोड हाराहारीका जनतालाई यातायात सुविधा पु¥याउँछ ।
अहिले देखिएको विचारहीन राजनीतिक गतिविधि अनि चरित्रहीन र नैतिकहीन राजनीतिक नेतृत्वलाई विश्वास गर्दै अघि लगाएर न लोकतान्त्रिक गणतन्त्र जनमुखी बनाउन सकिन्छ न त जनअपेक्षाको सम्बोधन गर्दै देशका समस्याको दिगो समाधान गर्नका लागि पनि यो सङ्कल्प यात्राले जनतामा चेतना र विवेकको विकास गराउन सक्नुपर्दछ । यिनै उद्देश्यसहित अगाडि बढिरहेको एमाले केन्द्रीय नेतृत्वलाई स्वागत गर्ने र जिल्लाले भोगिरहेका समस्याबारे नेतृत्व गणलाई सुनाउने अवसर नुवाकोट जिल्लाले पाएको छ । संसदीय क्षेत्रको उपस्थिति र साङ्गठनिक राजनीतिक प्रभाव विस्तार गरी जनताको सेवा गर्ने काममा सधैँ पछाडि परेको नुवाकोट जिल्लाको नेतृत्वलाई केन्द्रीय नेतृत्वग णले विशेष महत्वका साथ हेरेकाले नै यो सङ्कल्प यात्रा नुवाकोट एमालेको सिङ्गो नेतृत्वपङ्क्ति, कार्यकर्ता, समर्थक शुभचिन्तकका लागि गौरवकै विषय भएको नुवाकोट एमालेले जनाएको छ । केन्द्रीय नेतृत्वको स्वागत गर्न र २३ गतेको कार्यक्रमलाई भव्यताका साथ सफल पार्नका लािग अहिले नुवाकोट एमाले योजनासहित लागेको छ । गत १८ गते नुवाकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्र प्रदेशका प्रतिनिधिहरूसमेतकोे उपस्थितिमा जिल्लास्तरीय कार्यकर्ताको भेला डाकेर जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा मूल समारोह समितिको गठन गरेको छ भने विभिन्न जिम्मेवारी पूरा गर्न १८ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्रता दिएको छ । २३ गते अपराह्न ३ बजे बट्टारबजारको घण्टाघरमा आयोजना गरिने सभामा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको तयारीमा एमालेको सिङ्गो जिल्ला कमिटीको साथ–साथै छिमेकी जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवासहित बागमती प्रदेश कमिटी दिनरात खटिरहेको छ । यो यात्रामा नुवाकोट जिल्लामा पर्ने सडकको खाल्डाखुल्डी पुर्ने र अवरोध भएका सडक क्षेत्र सफा गर्नेलगायत काममा सरोकारवाला निकायले पनि सक्रियता देखाइरहेको छ । केन्द्रीय नेतृत्वको टोली नुवाकोटमा वास बस्ने भएकाले जिल्ला सुरक्षा समितिले सुरक्षाको आवश्यक सुरक्षा योजना बनाएर मिलाएको छ ।






प्रतिक्रिया