त्रिशूलीबजार । नुवाकोट जिल्ला, विदुर नगरपालिका-१, त्रिशूलीबजारको अहिले जुन ठाउँमा गणेश मन्दिर स्थापना गरिएको छ त्यो पहिले खाली नै थियो । अहिलेको मन्दिरभित्र रहेको ढुङ्गामा गणेशको दैवी प्रभाव देखेर काश्यप गोत्रका भगतसिंह र तेजलक्ष्मीले ने.सं.९५६ (सन् १८३६) मा विधिपूर्वक गणेश स्थापना गरेपछि वि.सं. १९६३ (सन् १९०६) मा दलबहादुर अमात्यले खुला रूपमा रहेको गणेशका लागि मन्दिर निर्माण गरिदिएको स्थानीयवासी समाजसेवी केशवबहादुर श्रेष्ठ बताउनुभयो ।

त्रिशूलीबजारमा रहेको यो मन्दिर पश्चिमाभिमुख गरी निर्माण गरिएको छ । यी गणेशलाई त्रिशूलीबजारको स्थानगणेशका रूपमा पूजा गरिन्छ । मन्दिरमा एक तहको जस्तापाताको छानो राखिएको छ । छानामाथि धातुको गजुर राखिएको छ र गजुरदेखि छानासम्म आउने गरी धातुको पाताः राखिएको छ । सिमेन्ट प्लास्टर गरी बनाइएको यो मन्दिर कलाकारिताको दृष्टिले राम्रो देखिँदैन । मन्दिरको गर्भगृहभित्र आकृतिविहीन एउटा ढुङ्गा राखिएको छ । त्यो ढुङ्गा नै मन्दिरको वास्तविक गणेश हुन् । त्यसै ढुङ्गालाई मूर्तरूप दिएर पश्चिमाभिमुख गरी ढलोटको गणेशको शिर स्थापना गरिएको छ । गणेशको शिरलाई धातुको तोरण चढाइएको छ भने दायाँबायाँ एक जोडी ढलोटको छुचुन्द्रो स्थापना गरिएको छ । उक्त छुचुन्द्रो भीमलाल जोशीले चढाउनुभएको स्थानीयवासीले जनाए । मन्दिरभित्र दक्षिणपूर्व कुनामा गणेश जात्रामा प्रयोग गरिने खट राखिएको छ । मन्दिरको दक्षिणपश्चिम जःधुं स्थापना गरिएको छ ।
त्यहाँ एउटा आकृतिविहीन ढुङ्गा मात्र थियो । भगतसिंह र तेजलक्ष्मीले धर्मचित्त उत्पन्न भएर ने.सं.९५६ मा विधिपूर्वक गणेश स्थापना गरेर चारैतिर पर्खाल लगाई ढुङ्गा छापिदिनुभएको थियो । पछि विसं १९६३ मा त्रिशूलीबजार बस्ने दलबहादुर अमात्यले खुला रूपमा रहेको गणेशका लागि मन्दिर निर्माण गरिदिएको मन्दिरको शिलामा उल्लेख छ । त्यसै अवसरमा उहाँले जःधुं पनि स्थापना गरिदिनुभएको थियो । उक्त जःधुं अहिले पनि मन्दिरको दक्षिणपश्चिम कुनामा सुरक्षित राखिएको छ । विसं १९८२ (सन् १९२६) मा त्रिशूलीबजारनिवासी कालीदास श्रेष्ठले त्रिशूली गणेशलाई घन्ट चढाउनुभएको थियो । विसं २०५८ मा गणेशको ढलोटको शिर चोरी भएकाले विसं २०५९ मा दिवङ्गत श्रीमान् पूर्णबहादुर मलेकु श्रेष्ठका स्मृतिमा त्रिशूली बजारनिवासी नारायणमायाले परिवारका सदस्यसँग मिलेर गणेशको नयाँ शिर बनाएर चढाउनुभएको थियो । मन्दिर जीर्ण हुँदा मन्दिर निर्माण गर्ने अमात्यका सन्तति दुर्गाभक्त अमात्यले पुनर्निर्माण गर्नुभएको थियो । त्यसै वेला झिँगटी नराखी जस्तापाताको छाना राखिएको थियो । पुनर्निर्माणको मिति यही हो भनेर स्थानीयवासीले बताउन नसकेको विदुर-१ का अध्यक्ष लेनिन रञ्जितले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।
त्रिशूलीबजारको स्थानगणेश हुनाले टोलमा कसैको जन्मदिन, पास्नी, व्रतबन्ध, भीमरथारोहणजस्ता संस्कार गर्दा सबैभन्दा पहिले यहीँ आएर पूजा गर्नुपर्ने परम्परा अहिलेसम्म रहिआएको स्थानीय समाजसेवी केशवबहादुरले बताउनुभयो । प्रत्येक वर्ष फागुनशुक्ल अष्टमीका दिन ढलोटको गणेशको मूर्तिलाई खटमा राखी अबिर छर्केर बाजागाजासहित त्रिशूलीबजार परिक्रमा गराइन्छ । त्यस दिनदेखि त्रिशूली बजारमा होली सुुरु भएको मानिन्छ । जात्रामा प्रयोग गरिने खट मन्दिरभित्रै तथा परिक्रमा गराइने गणेशको मूर्ति मन्दिरको दक्षिणमा रहेको पाटीमा राखिएको छ । उक्त जात्रा स्थानीय वंशलाल श्रेष्ठले सञ्चालनमा ल्याइरहेको, तर अहिले गर्न छाडिएको हुनाले स्थानीयवासी मिलेर पुनः सञ्चालनमा ल्याएका छन् । कालीदासले विसं १९८२ मा मन्दिरमा घन्टा चढाउनुभएको थियो । उहाँले आफ्नै निजी खर्चमा चाँदीको गणेश मूर्ति बनाएर आयस्ताको बन्दोबस्त गरी जात्रा चलाउनुभएको थियो । जात्रा हुनुअघि पूजाआजासहित बोका काटेर टोलभरिका मानिसलाई भोज खुवाइन्थ्यो र मूर्तिलाई पुनः उहाँका घरमा फिर्ता लगिन्थ्यो । पछि उहाँका सन्ततिले जात्रा सञ्चालनमा ध्यान दिएनन् । उनीहरूले खटमा राखेर बजार परिक्रमा गर्नका लागि चाँदीको पुरानो गणेश मूर्ति उपलब्ध गराएनन्, बरु ढलोटको नयाँ मूर्ति बनाई टोलवासीलाई सुम्पिदिएर जात्राको दायित्वबाट पन्छिए । अहिले टोलवासीसँग चन्दा उठाएर गणेश मन्दिर संरक्षण समिति नाम गरेको संस्थाले जात्रा चलाइरहेको छ ।
प्रत्येक वर्ष भदौ शुक्ल पूर्णिमाका दिन मन्दिरको प्रवेशद्वारअगाडि समयबजी प्रदर्शन गरिन्छ । त्यसवेला टोलवासी मिलेर मन्दिरमा भजन गर्छन् । विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिपछि विदुर नगरपालिकाले विसं २०८२ मा भजन पाटी निर्माण गरिदिएपछि बडादसैँ अवधिभर स्थानीयवासीले भजन गरेर गणेशको आराधना गर्ने गरेको स्थानीयवासी राजेन्द्र अमात्यले बताउनुभयो । नेवार समुदायको ऐतिहासिक बस्ती त्रिशूली बजारबाट नेवार समुदाय व्यापार-व्यवसायका लागि अन्यत्र बसाइँसराइ हुन थालेपछि युवाहरूको धर्म, संस्कारप्रति रुचि नहुँदा त्रिशूलीका जात्रा, पर्व सञ्चालन गर्न समस्या भइरहेको गणेश मन्दिर संरक्षण समितिका अध्यक्ष मोहनबहादुर श्रेष्ठले दुखेसो पोख्नुभयो ।






प्रतिक्रिया