तातोपानी कुण्डमा नुहाउनेकोे भिड

  • त्रिशूली प्रवाह
  • २१ मंसिर २०८०, बिहीबार ११:४५

टिमुरे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको तातोपानी कुण्डमा दसैँपछि नुहाउनेको भिड लागेको छ । दसैँ र तिहारको बिदाको समयमा दैनिक नुहाउन आउनेको सङ्ख्या बढेको थियो ।

नेपाल–चीन सिमानानजिक रहेको तातोपानी कुण्डमा कात्तिक, मङ्सिर र पुस महिनामा मुख्य सिजन रहेको छ । तीन महिनाको सिजनमा दैनिक दुई सयभन्दा बढी मानिस नुहाउन आउने गरेको स्थानीयले बताएका छन् । तातोपानीमा नुहाउँदा बाथ, घाउ, खटिरा, ग्यास्ट्रिक, गानुगोलालगायतका रोग निको हुने विश्वास रहेको छ । यहाँ नुहाउन रसुवाबाट मात्रै नभई नुवाकोट, धादिङ र अन्य जिल्लाबाट पनि मानिस आउने गरेको स्थानीय समाजसेवी मीनाक्षी मगरले बताइन् । यहाँबाट चीनको सिमानासमेत नजिक रहेकाले चिनियाँ पर्यटकसमेत नुहाउन आउने गरेका छन् । पुरानो तातोपानीको ०७२ को भूकम्पले मुहान सुकाइदिएपछि टिमुरेमा मानिसको भिड लाग्ने गरेको बताइएको छ । विभिन्न ठाउँमा तातोपानीको मुहान भए तापनि यहाँको तातोपानी बढी मात्रामा औषधिको रूपमा लाग्ने भएकाले पनि मानिसको घुइँचो नै हुने गरेको टिमुरेका स्थानीय समाजसेवी सोनाम तामाङले बताए । रसुवागढी हाइड्रोपावर कम्पनीले महिला र पुरुषको लुगा फेर्ने छुट्टा–छुट्टै कोठा, छुट्टाछुट्टै शौचालय, छुट्टै बस्ने घर र पोखरीसमेत व्यवस्थित बनाइदिएपछि तातोपानी नुहाउन आउनेको भिड लागेको छ । सडकमै जोडिएको तातोपानी कुण्ड भएकाले आवत–जावत गर्न सहज भएको तातोपानीबाट नुहाएर तिहारअघि फर्केका नुवाकोट जिल्ला तादी गाउँपालिका तामेका जीवन पाठकले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।