+
Search

ताजा अपडेट +

पपुलर +

२५ सय वर्षदेखि महादेवको निरन्तर मूर्तिपूजा

२५ सय वर्षदेखि महादेवको निरन्तर मूर्तिपूजा
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

ठूलोभार्खु, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोभार्खुमा रहेको दुई हजार पाँच सय वर्षदेखि निरन्तर पूजा गरिँदै आएको ढुङ्गालाई यस वर्ष पनि महादेव प्रतिमूर्ति स्थापना गरेर मङ्सिर १२ गते पूजा सम्पन्न भएको छ । यो पूजा हरेक वर्षको मङ्सिरको पूर्णिमाका दिन गरिन्छ । ठूलोभार्खुका लामा गुरु र झाँक्रीबाट परम्परागत विधिअनुसार विधिवत् पूजा–आराधना हुँदै आएको छ ।

पूर्णिमाका दिन दिनभरि तयार गरेर रातभर लामा र झाँक्रीले पूजाआजा गरी मंगलबारको दिन बिहान सबै गाउँलेलाई रोगव्याध नलागोस् र अनिष्टबाट जोगाउन ग्रहदशा फाल्ने र दिउँसो गाउँले सबै भेला भएर प्रमुख लामा र झाँक्रीबाट आशीर्वाद लिइन्छ । मानिस झाँक्रीको थानमा गएर आयु वृद्धिको पुकार गरिन्छ भने यो दिन शुद्ध मनले मागेमा धन–दौलत तथा पशुको प्राप्ति हुने धार्मिक विश्वास गरिन्छ । यो महादेव पूजा लामाबाट गाउँका प्रमुख लामा सिङ्गी नुर्पु लामाको प्रमुख आतिथ्यतामा र झाँक्रीमा पुजारी पासाङ दिन्डुवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख लामा सिङ्गी नुर्पु लामाका अनुसार परापूर्वकालमा मान्छे र भगवान्सँग कुराकानी हुने बेलादेखि ठूलोभार्खुमा महादेवको पूजा हरेक वर्षको मङ्सिर पूर्णिमाको दिन हुँदै आएको छ । यो करिब दुई हजार पाँच सय वर्ष पहिलेदेखि यो स्थानमा पूजा गरी जात्रा मनाउँदै आएको किंवदन्ती छ । यहाँ महादेवको पूजा लामा गुरु र झाँक्री दुवैले एकैसाथ छुट्टाछुट्टै थान बनाएर गर्छन् ।

ठूलोभार्खुमा यो पूजा गर्नका लागि दशवटा महादेव पूजा समिति बन्ने गरेको छ । यी समितिले पालैपालो एक–एक वर्षमा पूजा गर्छन्, जुन समितिलाई एक वर्षभरि गाउँका सबै पूजापाठ गर्ने जिम्मा पाउँछन् । तसर्थ यो पालो हरेक १०–१० वर्षमा एउटा समिति/चिबालाई एकपटक पालो आउँछ । यो समितिको मूल नेतृत्वलाई आमा भनिन्छ जसले टिमको नेतृत्व गर्छ । यो सालको जिन्दा आमा अर्थात् समितिको नेतृत्व गाउँकै प्रमुख लामा सिङ्गी नुर्पु लामा र कामी दावा लामाको नेतृत्वमा भएको एक स्थानीयले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह