बट्टार, विदुर नगरपालिकाभर कार्यक्षेत्र रहेको सौगात बचत तथा ऋण सहकारी संस्था लि.ले आ.व.०७९/८० मा कुल कारोबारबाट एक करोड ९८ हजार ५८ रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ ।
नुवाकोटको विदुर नगरपालिका–२ बट्टार दम्कीमा कार्यालय रहेको सौगात बचत तथा ऋण सहकारीले शनिबार १४औँ वार्षिक साधारणसभा गरेर गत आ.व. ०७९/८० को आय–व्यय पारित गरेको छ । सहकारीले गत वर्ष ब्याज आम्दानी ९८ लाख २६ हजार ७० र बैंक ब्याज दुई लाख ७१ हजार नौ सय ८८ रुपैयाँ गरेको थियो । गत आ.व.मा सहकारीले विभिन्न शीर्षकमा ७३ लाख १८ हजार तीन सय ४० रुपैयाँ खर्च गरेको प्रतिवेदन साधारणसभामा कोषाध्यक्ष रामप्रसाद रिमालले प्रस्तुत गरेका थिए । १४ वर्षअघि दर्ता भएको सहकारीमा सेयर थप गरेर नयाँ व्यवस्थापन आएपछि विगत तीन वर्षदेखि विदुर नगरका सहकारी संस्थाको भिडमा छुट्टै पहिचान बनाउन सफल रहेको छ । सहकारीको १४औँ वार्षिक साधारणसभाको उद्घाटन जिल्ला सहकारी सङ्घका अध्यक्ष गोकर्णनाथ न्यौपानेले गरेका थिए । उनले सो कार्यक्रमलाई सम्बोधन गर्दै सेयर सदस्यसँग मात्र बचत र कर्जा लगानी गर्न सुझाव दिए । सहकारीका अध्यक्ष रामप्रसाद अधिकारीको सभापतित्वमा भएको साधारणसभामा साङ्ग्रिला विकास बैंक नुवाकोटका प्रबन्धक नवराज सुवेदी, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, लेखापरीक्षक इन्द्रमणि गैरे, सहकारी संस्थापक अध्यक्ष एवम् विदुर नगरपालिका–९ का अध्यक्ष हरिराम भण्डारी, सहकारीका वरिष्ठ सल्लाहकार केशवप्रसाद तिमिल्सना, सेयर सदस्य राजेन्द्र तिवारीलगायतले सहकारी संस्थाले क्षेत्राधिकारबाहिर गएर कारोबार नगर्न सुझावसहित उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सल्लाह दिएका थिए ।
गत आ.व. ०७९/८० को असार मसान्तसम्म सहकारीमा ६ सय ९२ जना सेयर सदस्य रहेका छन् । सहकारीले गत आ.व.मा बचत सङ्कलन १८ करोड २१ लाख ५२ हजार तीन सय २७ रुपैयाँ र अघिल्लो आ.व. ०७८/७९ को ६ करोड ४७ लाख २३ हजार चार सय ७१ रुपैयाँसहित कर्जा लगानी रहेकोमा आ.व. ०७९/८० मा सात करोड एक लाख ८४ हजार एक सय ३१ रुपैयाँ थप लगानी गरेको थियो । सहकारीको कुल चुक्ता पुँजी दुई करोड ६ लाख ५५ हजार रहेकामा गत आ.व. ०७९/८० मा बचत फिर्ता १७ करोड ४२ लाख २३ हजार नौ सय ७९ रुपैयाँ गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । सहकारीका लेखा समितिका संयोजक दीपकराज प्याकुरेलले आ.व. ०७९/८० सम्मको संस्थाको कारोबार सन्तोषजनक र नेपाल सरकारको प्रचलित कानुनको अधीनमा रही बचत र कर्जा लगानी रहेको जानकारी दिए । दुई आ.व. ०७८/७९ र आ.व. ०७९/८० को कारोबार, निक्षेप र कर्जा लगानी रकम वृद्धि भएको जानकारी दिँदै सहकारीप्रति सेयर सदस्यको विश्वास बढेको बताए ।






प्रतिक्रिया