उत्तरगयाधाममा निर्माण भएका १०८ शिवलिङ्गको प्राण-प्रतिष्ठा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २१ मंसिर २०८०, बिहीबार १२:०३

धुन्चे, रसुुवा र नुवाकोटको संगमस्थल उत्तरगयाधाम (बेत्रावती)मा निर्माण भएका एक सय आठ शिवलिङ्गको मङ्सिर १७ गते धार्मिक विधिवत् रूपमा प्राण-प्रतिष्ठा सम्पन्न भएको छ ।

धार्मिक एवम् ऐतिहासिक उत्तरगयाधामका लागि एक सय आठ शिवलिङ्ग निर्माण सहयोगी दाताबाट प्राप्त नगद, जिन्सी सहयोगबाट स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता एवम् विभिन्न संस्था, उद्यमी-व्यवसायीको प्रयासबाट निर्माण भएको हो । उक्त शिवलिङ्ग स्थापना गर्दा १६ लाख ५० हजार नौ सय १७ रुपैयाँ खर्च भएको स्थानीय दिलकृष्ण श्रेष्ठले बताए । स्थापना गरिएको शिवलिङ्ग प्राण-प्रतिष्ठा, रुद्री पुजन, लाखबत्ती प्रज्ज्वलन गरी उद्घाटन गरिएको थियो । उक्त शिवलिङ्ग स्थापना गर्न सहयोग गर्ने दाताको नाम शिलालेखमा राखिने निर्माणको नेतृत्व गर्ने दिलकृष्ण श्रेष्ठले जानकारी दिए । मङ्सिर २५ गते बालाचतुदर्शीमा शतबीज छर्ने दिनका लागि समेत विशेष तयारी बेत्रावतीमा गरिएको छ ।