स्वास्थ्य शिविरबाट ८ सय ८५ लाभान्वित

  • त्रिशूली प्रवाह
  • २१ मंसिर २०८०, बिहीबार १२:१४

धुन्चे, रसुवा अस्पताल धुन्चेमा मङ्सिर १६ देखि १८ गतेसम्म भएको तीनदिने स्वास्थ्य शिविरमा आठ सय ८५ रसुवालीले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

गोर्खा वेलफेयर ट्रस्टले आयोजना गरेको उक्त शिविर रसुवा अस्पताल र स्वास्थ्य कार्यालयको सहकार्यमा सम्पन्न भएको हो । उक्त शिविरमा दुई सय ६९ जनाको कान, पाँच सय ५९ जनाको दाँत, अशक्त अपाङ्गता भएका व्यक्ति ५६ जनाले उपचार पाएका छन् । एक सय २१ जनाले कान सुन्ने मेसिन पाएका छन् । पालिकाअन्तर्गत सबैभन्दा धेरै गोसाइँकुण्ड गाउँपालिकाबाट चार सय ८५ ले यो सेवा लिएका छन् र सबैभन्दा कम नौकुण्ड गाउँपालिकाका ८५ ले सेवा लिएका छन् । त्यसैगरी, कालिका गाउँपालिकाका ६५, उत्तरगया गाउँपालिकाका एक सय ५५ र आमाछोदिङ्मो गाउँपालिकाका एक सय ४५ जना रहेका छन् ।

रसुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमितकुमार शाहले यो तीनदिने स्वास्थ्य शिविरबाट रसुवावासीले राम्रो स्वास्थ्य सेवा लिएकोमा आफू विश्वस्त रहेको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले सम्पूर्ण गोर्खा वेलफेयर ट्रस्टका आयोजकप्रति आफ्नो व्यक्तिगतलगायत अस्पतालको तर्फबाट डाक्टर, नर्स, स्टाफलाई एकमुस्ट रूपमा धन्यवाद दिँदै शिविर निकै फलदायी भएको र आगामी दिनमा यस्तै शिविर भइरहे राम्रो हुने बताए ।