+
Search

ताजा अपडेट +

पपुलर +

समृद्धिका लागि सङ्कल्प यात्राको टोलीलाई नुवाकोटमा मध्यरातमा भव्य स्वागत

समृद्धिका लागि सङ्कल्प यात्राको टोलीलाई नुवाकोटमा मध्यरातमा भव्य स्वागत
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, मध्यपहाडी लोकमार्गविशेष झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा रहेको नेकपा एमालेको टोलीलाई शनिबार मध्यरातमा नुवाकोटवासीले भव्य स्वागत र सम्मान गरेका छन् । साँझ ढिलो गरी नुवाकोट आइपुगेको नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीको टोली दशौँ दिन शनिबार बिहान गोरखाको सल्यानटारबाट धादिङ हुँदै राति ९ः३० बजेपछि नुवाकोटको बट्टार आइपुगेको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

जिल्लावासीले ओली नेतृत्वको टोलीलाई चिसोको बेवास्ता गर्दै नुवाकोटमा भव्य स्वागत गरेका थिए । नेकपा एमालेका नेता, कार्यकर्ता, स्थानीय र शुभेच्छुकले ओलीको टोलीलाई भव्य स्वागत गर्दै सभामा लगेका थिए । टोली पुग्नासाथ युवाहरूले नुवाकोटमा स्वागत छ, केपी बा आई लभ यू लगायत नारासमेत लगाएका थिए । नुवाकोट बट्टारमा ठूलो सङ्ख्यामा पार्टीका नेता, कार्यकर्ता, स्थानीय र शुभचिन्तकले करिब चार घण्टादेखि टोलीको प्रतीक्षा गरेका थिए । बट्टारको कार्यक्रमलाई ओलीले केहीबेर सम्बोधन गरेका थिए । प्रतीक्षा, स्वागत र सम्मानप्रति ओलीले बट्टारवासीलाई धन्यवाद दिए । अध्यक्ष ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वाभाविकै भएको बताए । मध्यपहाडी लोकमार्गविशेष अभियान (झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत शनिबार राति १० बजे नुवाकोटको बट्टारमा सम्पन्न सभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीले सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । अध्यक्ष ओलीले एमाले सरकारमा नभएपछि विकास नहुनु, भए पनि सुस्त हुनु र काम रोकिनु स्वाभाविक भएको बताए । आफू नेतृत्वको सरकारले साढे तीन वर्षको अवधिमा असाधारण काम गरेको स्मरण गर्दै उनले एमाले सरकारबाट बाहिरिएपछि विकास निर्माणका काम ठप्प भएको बताए । चीनसँगको आवागमनलाई सहज बनाउन टोखा–छहरे सुरुङमार्ग बनाउनेलगायत योजना आफूहरूले अगाडि सारेको अध्यक्ष ओलीले बताए । एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुवात गरे पनि अहिलेको गठबन्धन सरकारले त्यसमा ध्यान केन्द्रित गर्न नसकेको र काम अगाडि बढाउन नसकेको ओलीले आरोप लगाए । उनले भने, ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी बाटो बनाउने काम थाल्यौँ, चीनसँगको आवागमनलाई सहज बनाउन टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने योजना अगाडि सा¥यौँ, २४ किलोमिटर स्याफ्रुबेँसी–बेत्रावती खण्डलाई पनि सुरुङ बनाएर काम गर्न योजना अघि सा¥यौँ, त्यसले रेलमार्गका लागि सहज बनाउँछ, काठमाडौंबाट दिल्ली र काठमाडौंबाट बेइजिङ कनेक्सन दुवैतिर सजिलो बनाउँछ, हामीले भारतसँग पनि कुरा ग¥यौँ, रक्सोल–काठमाडौं रेलका लागि भारतले र चीनले पनि काम गरिरहेको छ, हामी सरकारमा छैनौँ त्यसकारण केही विलम्ब भएको छ, हामी सरकारमा नभएपछि ढिलाढाला हुनु, सुस्त हुनु, काम रोकिनु स्वाभाविकै हो, जसले जति सक्छ त्यति न गर्छ ।’

Suzuki New Bike & Scooter

सरकारले कर्मचारी नै परिचालन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सुनको तस्करी गरिरहेको आरोपसमेत अध्यक्ष ओलीले लगाए । अध्यक्ष ओलीले सरकारको संलग्नताबिना विमानस्थलबाट सुन तस्करी हुनै नसक्ने जिकिरसमेत गरे । सरकारले कैयौँ क्विन्टल सुन तस्करी गरिसकेको भन्दै वर्तमान सरकारलाई भ्रष्ट र नैतिकता नभएको लुतेकुररजस्तै भएको आरोप उनले लगाए । यो सरकार फेरिएर केही सुधारका काम भए पनि त्यसले राम्रोसँग काम गर्न नसक्ने भन्दै एमालेको नीतिअनुसार सरकार चलाउन बहुमत दिन आग्रह गरे । अध्यक्ष ओलीले आफूले चीनबाट सहयोग र सस्तो ब्याजमा ऋण लिएर भए पनि विकास योजना सुरु गर्न लागेको बेला सत्ताच्युत गरिएको भन्दै पोखरा र भैरहवा विमानस्थल तुरुन्त सञ्चालन गर्न माग गरे । आफूहरूले थालेका विकास निर्माणका योजना वर्तमान सरकारले कटौती गरेको भन्दै एमाले सरकार आएपछि त्यसले निरन्तरता पाउने बताए ।कार्यक्रममा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले वर्तमान सरकारले कटौती गरेको लोकसञ्चार मार्गलगायतका वैकल्पिक सहायक राजमार्ग र अन्य रणनीतिक सडक पुनः समावेश गरेर अगाडि बढाउन माग गर्दै अध्यक्ष ओलीलाई नुवाकोटका समावेश गर्नुपर्ने योजनाको सूची हस्तान्तरण गरेका थिए । राति पौने १० बजे मात्र कार्यक्रमस्थलमा अध्यक्ष ओलीको टोली आइपुगेका कारण हतार–हतार कार्यक्रम सम्पन्न गर्नुपरेको थियो । आइतबार नुवाकोटको बट्टारमा अध्यक्ष ओलीले जिल्लाका सरोकारवाला पक्षसँग छलफल गरेका थिए । जिल्लाको ढिकुरे, थानसिंह, छहरे, लिखु, शिवपुरीलगायतका स्थानमा भेटघाट र स्वागतग्रहण गर्दै ओलीको टोली सिन्धुपाल्चोकको कुन्ताबेँसीको सभामा पुगेको थियो ।

एमालेले मङ्सिर १४ मा बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अभियान १४औँ दिन कोशी प्रदेश प्रवेश गरेको छ । अभियानको नेतृत्व गरिरहेका ७२ वर्षीय पार्टी अध्यक्ष केपी ओलीको सक्रियता लोभलाग्दो छ । उनी दैनिक १३–१४ घण्टा खटिरहेका छन् । सामान्यतया नेताहरू राजनीतिक भेटघाट र कार्यक्रममा व्यस्त हुनु नौलो र अनौठो होइन । तर, दैनिक औसत सय किलोमिटर यात्रा गर्दै अध्यक्ष ओली बिहान सबेरैदेखि राति अबेरसम्म खटेका देखिन्छन् । उनीसँगै पार्टीका अन्य पदाधिकारी, स्थायी समिति सदस्यसहितका नेताहरू पनि पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘लङमार्च’मा छन्  । १३ दिनमा एक हजार तीन सय किलोमिटरभन्दा लामो यात्रा पार गरेको अभियानका क्रममा अध्यक्ष ओली दैनिक औसतमा पाँचसहित बुधबारसम्म ६५ वटाभन्दा बढी कार्यक्रममा प्रत्यक्ष सहभागी भएका छन् । यात्राका क्रममा उनले बाटोमा भेटिने स्थानीयसँग पनि साक्षात्कार गरेका छन् । पाँचथरको चिवाभञ्ज्याङसम्म पुग्दा अब ओलीको बाँकी पाँच दिनको यात्रा करिब साढे पाँच सय किलोमिटरको हुनेछ । राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्व–पश्चिम यात्रामार्फत प्रमुख प्रतिपक्षमा रहेको एमालेलाई पहिलो र बलियो शक्तिमा पुनस्र्थापित गर्न अहिले ओलीले आफ्ना सबै सामथ्र्य प्रयोग गर्न खोजेका छन् । ‘पार्टी प्रतिपक्षमा भएकाले केही न केही राष्ट्रियस्तरको सन्देशमूलक कार्यक्रम त गर्नैपर्ने हुन्थ्यो, त्यही क्रममा पार्टीलाई बलियो रूपमा पुनस्र्थापित गर्न ओलीले अहिले शारीरिक, बौद्धिक, वाचनकलालगायत सबै सामथ्र्य प्रयोग गर्न खोजेजस्तो देखिन्छ । राजावादीले राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै माहोल सिर्जना गर्न खोजेका बेला त्यसलाई चिर्दै ओलीजीले स्पष्ट अडानसहित प्रस्ट अभिव्यक्ति दिएर गणतन्त्रको पक्षमा माहोल खडा गरेका छन्,’ उनले भने, ‘पछिल्ला सबै परिवर्तनको नेतृत्वका रूपमा स्वामित्व लिएर अहिले खडा गर्न खोजिएको चुनौती सामना गर्दै माहोल र भाष्य नै परिवर्तन गर्न सक्नु चानचुने कुरा होइन, यो सकारात्मक कुरा हो ।’

एमालेले अभियानको नारा ‘सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय’ दिएको छ । त्यसलाई मेलखाने गरी नै ओलीको सक्रियता देखिएको पोखरेलको भनाइ छ । ‘अहिलेको सत्तागठबन्धन, नयाँ पार्टीको गतिविधि हेर्दा देशको राजनीति कुनै पनि बेला कता मोडिन्छ, टुङ्गो पनि छैन, २०८४ सम्म सहरमा कुरा मात्र गरेर बस्दा ओझेलमा पर्ने सम्भावना पनि हुन्छ, जनताले पनि परिस्थितिलाई नै हेर्ने हुन्,’ उनले भने, ‘त्यसैले केही गरेर वा बल गरेर अबको चुनावमा केही मिराकल गर्न सकिन्छ कि भन्ने लागेर पनि अभियान गरिएको हुन सक्छ । पहिले पनि एमालेले मधेश यात्रा रोज्यो, अहिले मध्यपहाडी ।’ ओलीले सबैजसो कार्यक्रममार्फत पूर्वराजालाई लोकतन्त्रविरुद्ध नलाग्न चुनौतीसहित सचेत मात्र गराएका छैनन्, सरकारको असफलता, पार्टीले अब लिने नीति, राष्ट्रियता र समृद्धिका विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । त्यस्तै, पहाडको समस्या र चुनौती पहिचान गर्ने प्रयास पनि गरेका छन् । एमालेले राष्ट्रिय एकता बलियो बनाउने, सामाजिक सद्भाव बलियो बनाउने, चुनावसम्म निरन्तर मिसन ८४ अभियान चलाएर पार्टीलाई सबै क्षेत्रको समर्थन रहेको बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने, विकास र समृद्धिका चुनौती पहिचान गरी नयाँ आशा जागृत गर्नेजस्ता उद्देश्य अभियानमार्फत राखेको छ । एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियान अध्यक्ष ओलीकेन्द्रित छ । कार्यक्रममा ओलीपत्नी राधिका शाक्यसहित पदाधिकारी तहका नेताहरू सहभागी भए पनि समयको दबाब र कार्यक्रमलाई चुस्त बनाउन सबैतिर ओलीलाई नै प्रमुख वक्ता बनाइएको छ । स्थानीयस्तरमा हुने कार्यक्रममा सम्बन्धित प्रदेशको कुनै एक प्रमुख नेताले मात्रै बोल्ने गरेका छन् । ओलीले बाटामा देखिएका दृश्य, अनुभूति र सम्बन्धित स्थलमा प्रस्थान गर्दै गरेको सन्देशलाई छिनछिनमा सामाजिक सञ्जालबाटै अडियो, भिडियो, तस्बिर र अक्षरमार्फत सूचित गर्ने काम प्रचार विभागको टोलीले गरेको छ । प्रचार टोलीमा ओलीको भित्री घेरामा सचिवालय सामेल एउटा टोली र बाहिरी घेरामा सम्बद्ध प्रचार जनसङ्गठन प्रेस चौतारी नेपाल खटिएको छ । सचिवालय टोलीले ओलीको सामाजिक सञ्जाल सम्हालेको छ ।

राजनीतिक कार्यक्रमबाहेक विकास निर्माणस्थलको अवलोकन, स्थानीय विकास, समस्या र चुनौतीबारे सर्वदलीय र सर्वपक्षीय अन्तक्र्रिया, भेटघाट, बहस तथा छलफलमा ओली सहभागी भइरहेका छन् । बेहुला–बेहुलीलाई शुभकामना, बालबालिकासँगको साक्षात्कार, मन्दिर, ऐतिहासिक पयर्टकीय स्थलको भ्रमणलगायत पनि उनको प्राथमिकतामा परेको छ । पछिल्लो भूकम्पले क्षति पु¥याएको जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्ने रिम्नामा पुगेर उनले १९ दिन अस्थायी संरचना निर्माणमा खटिएका एक हजार एक सय स्वयम्सेवकलाई धन्यवाद दिनुका साथै पीडितसँग अन्तक्र्रिया गरेका थिए । जहाँ ४० समूहमा बाँडिएका एमालेका स्वयम्सेवकले १६ वटा विद्यालयको अस्थायी संरचना, आठ सयभन्दा बढी घरको अस्थायी संरचना निर्माण गरेको थियो । अभियानका क्रममा जिल्लामा काङ्ग्रेस, माओवादीलगायत पार्टी, नागरिक समाज, विभिन्न पेसागत समूहले पनि ओलीलाई ज्ञापनपत्र बुझाउनेदेखि अन्तक्र्रिया गर्नेसम्मको कार्यक्रम भइरहेको छ । जिल्ला–जिल्लामा सर्वपक्षीय र सर्वदलीय रूपमा जिल्लाको विकास निर्माणबारे ज्वलन्त छलफल र बहस भइरहेका छन् । उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ, सहकारीदेखि वन, खानेपानी उपभोक्ता, आमा समूहलगायत धेरै समूह कार्यक्रममा सहभागी भएका छन् । ओलीसहित अभियान टोलीको नियमित स्वास्थ्य अनुगमन परीक्षणका लागि स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा चिकित्सकको छुट्टै टोली पनि अभियानमा सामेल छ । ०७३ पनि संविधान जारी भएपछि २१ फागुनबाट एमालेले मेची–काली मधेश–तराई अभियान सञ्चालन गरेको थियो । त्यतिबेला संविधानको विशेषता बुझाएर पार्टीमाथि मधेशमा लागेको आरोप खण्डन गर्न एमालेले अभियान चलाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह