Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

निर्माण सम्पन्न भएको चार वर्षपछि जिल्ला अदालतको भवन उद्घाटन

निर्माण सम्पन्न भएको चार वर्षपछि जिल्ला अदालतको भवन उद्घाटन
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, भवन निर्माण सम्पन्न भएको चार वर्षपछि नुवाकोट जिल्ला अदालतको भवन उद्घाटन गर्ने साइत जुरेको छ । ०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)मार्फत ०७४ भदौ १९ गतेदेखि निर्माण थालनी भएको भवनको शिलान्यास तत्कालीन प्रधानन्यायधीश गोपाल पराजुलीले गरेका थिए । उक्त भवन ०७६ मङ्सिरमा नै निर्माण सम्पन्न भई सोही भवनबाट अदालतले सेवा प्रवाह गर्दै आइरहेको थियो ।

चार वर्षअगाडि निर्माण सम्पन्न भएको अदालतको नवनिर्मित भवनको उद्घाटन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मङ्सिर २१ गते बिहीबार गरेका थिए । प्रधानन्यायाधीश श्रेष्ठले बिहीबार जिल्ला अदालतको दैनिक तथा प्रशासनिक कार्य सञ्चालन भएको चार वर्षपछि नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘न्यायपालिकाबाट हुने न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । जिल्ला अदालतको आफ्नै भवन निर्माण भएपछि सेवाग्राहीलाई पनि सहजता महसुस गर्ने वातावरण बनाउनुपर्छ ।’ देशभरका सबै न्यायालयले सूचना तथा प्रविधिको माध्यमबाट सेवाग्राहीमा सहज रूपमा सेवा पु¥याउन आफू तत्पर रहेको बताए । भवनमा ३४ कोठा रहेको जिल्ला अदालत भवन भ्याटबाहेक नौ करोड ६१ लाख चार हजार दुई सय ४५ रुपैयाँमा निर्माण भएको जिल्ला न्यायाधीश मदनबहादुर धामीले सो कार्यक्रममा जानकारी दिए । करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ भवनको तीन तलामा ३४ वटा कोठा रहेका छन् । न्यायालयका लागि आवश्यक सुविधासम्पन्न संरचना रहेको नवनिर्मित जिल्ला अदालतको भवनमा न्यायाधीश चेम्बर कक्ष, सुविधासम्पन्न इजलास कक्ष, बाल इजलास, व्यवस्थित पार्किङ सुविधा, अपाङ्गमैत्री भवन, विषयगत मुद्दा फाँट र १२ शौचालयलगायतका सुविधा रहेका छन् । भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङ, नुवाकोट जिल्ला अदालत बार इकाइ अध्यक्ष राजाराम थपलिया, विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायतले जिल्ला अदालतमा हुने चापलाई घटाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह