विदुर । विदुर-२ स्थित ‘पृथ्वी सङ्ग्रहालय’ सञ्चालन तयारीमा छ । सात रोपनी जग्गामा रू पाँच करोड २८ लाख लगानीमा सो म्युजियमको गत वर्ष भौतिक निर्माण सम्पन्न भएको छ । सङ्ग्रहालय सञ्चालन र सामग्री व्यवस्थापनका लागि विदुर नगरपालिका तयारीमा जुटेको हो ।
ऐतिहासिक क्षेत्र नुवाकोट डाँडामा रहेको सङ्ग्रहालय नगरपालिकाको स्वामित्वमा छ । टाकुरामा निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको सङ्ग्रहालय नगरपालिकाले सञ्चालनका लागि पहल गरिरहेको नगर प्रमुख राजनलाल श्रेष्ठले जानकारी दिनुभयो । सङ्ग्रहालय सञ्चालनका लागि आवश्यक तयारी, समन्वय तथा सरोकार निकायसँग सहकार्य भइरहेको समेत जनाइएको छ । बजेटसमेत नगरपालिकाले विनियोजन गरी राखिने सामग्री सङ्कलन भइरहेको उपप्रमुख प्रभा बोगटीले बताउनुभयो । गत वर्ष निर्मित ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ सञ्चालनमा ल्याउन नगरपालिकाले विभिन्न सरोकार पक्षसँग सहकार्य गर्ने क्रममा पाटन सङ्ग्रहालयको संरचना डिजाइन गर्ने अस्ट्रियाली र उहाँका साथमा नेपाली नागरिक भरत महर्जनबाट सङ्ग्रहालयको अध्ययनसमेत गराइसकेको छ । सङ्ग्रहालय सञ्चालनमा ल्याएर त्यसको अल्पकालीन र दीर्घकालीन संरक्षण तथा प्रवद्र्धनका लागि प्राविधिकसहित विस्तृत अध्ययन गराइएको छ । प्रतिवेदनका आधारमा सङ्ग्रहालयलाई जति सक्दो छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य लिइएको प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलले बताउनुभयो । नगरपालिकाले सङ्ग्रहालय सञ्चालनका लागि ६ महिनादेखि अध्ययन थालेको प्रवक्ता रवीन्द्र नेपालले जानकारी दिनुभयो । सरोकार पक्षसँग सहकार्य गर्ने क्रममा पाटन सङ्ग्रहालयको संरचना अस्ट्रियाका प्रविधिज्ञ र उहाँका साथमा नेपाली नागरिकबाट सङ्ग्रहालयको अध्ययन भइसकेको छ ।
विद्यार्थी, शोधार्थी, अध्ययनार्थी सबैका लागि देशको मौलिक, परम्परागत सबै विषय जान्न सङ्ग्रहालय आवश्यक छ । सामूहिक स्मृति कला, सिप, अनुभव, ज्ञानको भण्डार यसले पुरानो र वर्तमान पुस्तालाई जोड्ने काम गर्छ, जीवन्त राख्छ । देशको धरोहर अस्ति के थियो, हिजो के रह्यो र भोलिलाई के राख्ने भन्ने आँट राज्यमा हुनुपर्छ । सभ्यताको जीवन्त पाठशाला अब त विद्युतीय माध्यमले संरक्षण गरेर राख्ने समय आइसकेको छ । विकसित देशले यसको थालनी गरेको धेरै दशक भइसकेको छ । छिमेकी मित्र राष्ट्र चीनका हरेक जसो घर सङ्ग्रहालयजस्तै हुन्छन् । सन् १६८२ मै बेलायतले अस्कोलियन म्युजियम स्थापना गरेको थियो ।
युनेस्कोको आँकडामा विश्वमा हालसम्म एक लाख चार हजार बढी नाम लिइने खालका सङ्ग्रहालय छन् । विश्वमा प्रमुख १० सम्पदा छन् । चीनको ग्रेटवाल तेस्रो शताब्दीमा बन्न सुरू भई सत्रौँ शताब्दीमा पूरा भयो, १९८७ मा विश्व सम्पदामा सूचीकृत भयो । भारतको ताजमहल अमर प्रेमको प्रतीक हो जुन मुगल सम्राट् शाहजहाँले रानी मुमताजका नाममा बनाएको भव्य चिहान हो र हेर्दा हर क्षण फरक देखिन्छ । अहोरात्र खट्दा पनि यसमा २० हजारभन्दा बढी मजदुरले काम गरे, तयार हुनै २२ वर्ष लाग्यो, सामान बोक्नैका लागि हजारभन्दा बढी हात्ती प्रयोग गरियो । पेरूको माचु पिच्चु कुशल इन्जिनियरिङ कला हो जुन १५औँ शताब्दीमा कुनै फलाम वा औजारबिना अन्तरिक्ष सम्बद्ध छ, बादलभन्दा माथि छ । इटलीको कोलोसियस प्राचीन रोमन सभ्यता, शक्ति, वास्तुकलाको पहिचान हो । यो सन् ८० मै निर्मित हो र विश्वकै गोलाकार नाट्यशाला हो जहाँ ८० हजार दर्शक अट्ने चुनढुङ्गा छ । कङ्क्रिट, इँटाबाट निर्मित ठुला सुरूङ, जहाँ पाँच लाख मान्छे र १० लाखभन्दा बढी जनावर मारिएका थिए । संसारमा मृत्युदण्डविरूद्धको अभियानको प्रतीक बनेको छ यो । जोर्डनको पेट्रा, चट्टानले कुँदिएको इपु चौथो शताब्दीमा निर्मित, मरूभूमिका बिचको भव्य सहर, जोर्डनको अर्थतन्त्र धान्ने पर्यटनको आधार, जसलाई विश्वको सात आश्चर्यमा राखियो, सन् २००७ मा । इजिप्टको पिरामिड, प्राचीन समयको जीवन्तता, ४५ सय वर्ष पुरानो छ, २३ लाखभन्दा बढी ढुङ्गाका ब्लक प्रयोग भएका छन्, कुनै त ८० टन माथिका छन्, राजाको चिहान हो । बेलायतको स्टोनहोन्जले प्राग् इतिहास झल्काउँछ, खगोलीय चेत खुलाउने, वास्तुकलाको उत्कृष्टता, पाँच हजार वर्ष पुरानो, ढुङ्गे संरचना, निर्माण किन भयो थाहा छैन, मानव सभ्यताको चिनारी, १९८६ मा सूचीकृत, प्रयोग भएका साना ढुङ्गा धेरै टाढाबाट झिकाइएका, एकै पल्ट नबनेर पटक पटक गरी १५ सय वर्षका अन्तरालमा निर्मित भएको हो । त्यस्तै कम्बोडियाको अँकोरबाट, खमेर सभ्यता झल्काउने विश्वकै ठुलो धार्मिक स्मारक हो जुन एक सय ६२ हेक्टर जमिनमा पैmलिएको छ । यो हिन्दु–बौद्धको संयुक्त जोड, १२औँ शताब्दीमा राजा सूर्यवर्मन द्वितीयले बनाएको, हेर्दैमा ब्रह्माण्डको प्रतीक सुमेरू पर्वतजस्तो देखिने, जसलाई हेर्दा सिङ्गो ब्रह्माण्ड, सत्ययुगको समुद्रमन्थन, त्रेताको रामायणकालीन, द्वापरको महाभारतकालीन तस्बिर सुरक्षित, मीन राशि चैत्रमा सूर्य उदाउँदा मन्दिरको मूल शिखरबाट उदाउने गरेको छ । ग्रिसको एथेन्स एक्रोपोलिस लोकतन्त्रको उदयस्थल, राजनीतिक दर्शनको मुहान, अद्वितीय धरोहर, एथेन्स सहर पश्चिमी सभ्यताको प्रतीक, अढाइ हजार वर्षदेखि जीवन्त छ, ग्रिसेली वास्तुकलाको गोल्डेन रेसियो, ज्यामितीय पूर्णताको उदाहरण, पेन्टेलिक मार्बलको प्रयोग जहाँ सूर्यको किरण पर्दा बढी चम्कन्छ । मेक्सिकोको चिचेन इत्जा, माया सभ्यताको अद्भुत उदाहरण, विशाल ढुङ्गे क्यालेन्डर, सबैभन्दा ठुलो र शक्तिशाली सहर, चारैतिर खुड्किला यसका झ्यालबाट शुक्रग्रह, अन्य ताराको गति हेर्न प्रयोग गरिएको, वर्षको तिन सय ६५ दिनको प्रतीक सन् २००७ मा सूचीकृत भएको हो । यस्ता सङ्ग्रहालय अमेरिकामा करिब ३३ हजार तथा जर्मनी, जापान, इटली, रुसमा हजारौँ छन् । इटलीदेखि संसारका अरू धेरै देशको हिसाब गर्दा चालु वर्ष युनेस्कोले २६ नयाँ सम्पदा थप गर्दै एक सय ४० देशमा एक हजार दुई सय ४८ बढी सम्पदा सूचीकृत भएका छन् । दक्षिण भारतको सिमाना अरब सागर, हिन्द महासागर र बङ्गालको खाडीको सङ्गम कन्याकुमारी क्षेत्रबाट सूर्योदयको दृश्य देख्ने अवसर मिल्छ । समुद्रका बिच भागमा विशाल स्वामी विवेकानन्दको सालिक छ, करिब भूमध्यरेखामा पर्छ, सूर्योदय र अस्त एकै ठाउँमा हुने गर्छ । यो दृश्य हेर्न संसारका पर्यटक खनिने गर्छन् ।
विश्वले यस्ता सङ्ग्रहालय संरक्षण गरेर राख्न थालेको दुई सय वर्षभन्दा बढी समयपछि नेपालमा विसं १८८१ मा मुख्तियार भीमसेन थापाले हतियार भण्डारगृह भन्दै शिलाखाना घर स्थापना गराउनुभएको थियो । यसैलाई पछि जुद्धशमशेरले विसं १९९५ मा नेपालमा पहिलो नेपाल म्युजियमका रूपमा स्थापित गरेर रूपान्तरण गराउनुभयो । यसैलाई विसं २०२४ मा राजा महेन्द्रले राष्ट्रिय सङ्ग्रहालय बनाउनुभयो । हाल विषयगत धेरै छन्, जीवनीपरक, कला, संस्कृतिपरक, इतिहास, विज्ञानपरक । सेना, प्रहरी, सरकारी, स्थानीय, प्रदेश र निजी क्षेत्रले पनि यसको स्थापनामा होडबाजी नै देखाएका छन् । समाजमा रहेका सङ्ग्रहालयको यकिन तथ्याङ्क नै छैन, हजारभन्दा बढी छन् दर्तामै । हरेक वर्ष यो क्रम वृद्धि छ र करिब ३० लाखले त अवलोकन नै गरेको पुष्टि छ । यति हुँदा पनि राज्यले यसको सञ्चालन र व्यवस्थाबारे छुट्टै ऐनको आवश्यकता महसुस गरेको छैन । विसं २००७ पछि राज्यले आफ्नो दायित्व महसुस गर्दै संवैधानिक व्यवस्था ग¥यो । विसं २०१३ मा छुट्टै ऐनको प्रावधानानुसार प्राचीन स्मारक संरक्षण ऐनका आधारमा पुरातत्त्व विभागअन्तर्गत सरकारी सङ्ग्रहालय स्थापना, सञ्चालन, रेखदेख, नियमन गर्दै आएको छ । राष्ट्रिय संस्कृति नीति, २०६७ छ, अन्योल छ, छुट्टै विशेष कानुन बनाउनुपर्ने दायित्व बालेन नेतृत्व सरकारको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले यससम्बन्धी काम पनि स्थानीय तहलाई सुम्पेको छ र खुल्ने क्रम जारी छ । सञ्चालन र नियमनका लागि न्यूनतम मापदण्ड के हो, दर्ता र अनुगमन के–कसरी हुने हो, त्यसको दिगो व्यवस्थापन र सञ्चालन कसरी हो, विशिष्ट निकाय कुन हो, स्पष्ट छैन ।
देशको संस्कृति संरक्षणमा राज्य उदासीन रहेको खोज तथा अनुसन्धानकर्ता अच्युतप्रसाद पौडेलले बताउनुभयो । विश्व सम्पदा दिवस मनाइने क्रममा सन् १९८२ मा अवधारणा आई १९८३ देखि पेरिसबाट इन्टरनेसनल डे फर मोनुमेन्ट्स एन्ड साइट्स अप्रिल १८ लाई मान्ने क्रममा यसपालि राष्ट्रिय दिवस वैशाख ५ गते मनाइयो । युनेस्कोले नेपालका चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ । विसं १९७९ मा काठमाडौँ उपत्यकालाई सांस्कृतिक सम्पदाका रूपमा, १९७९ मै सगरमाथा राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सम्पदाका रूपमा, १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई पनि प्राकृतिक सम्पदाका रूपमा र लुम्बिनी सिद्धार्थ जन्मस्थललाई १९९७ मा सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत गरिएको छ । काठमाडौँ उपत्यकामा सात स्मारक क्षेत्रमा हिन्दू–बौद्धको सहिष्णुता, काष्ठकला, प्रस्तर, धातुकला, वास्तुकला, नेवा संस्कृति, मल्लकालीन सभ्यता छन् । यसमा हनुमान ढोका, मल्ल र शाहवंशीय राजा निर्मित तलेजु भवानीको मन्दिर, जगन्नाथ मन्दिर, कालभैरव, कुमारीचोक, नौतले दरबार, वसन्त डबली, पशुपतिनाथ मन्दिर, स्वयम्भू महाचैत्य, बौद्धनाथ महाचैत्य छन् । पाटनमा १७औँ शताब्दीमा निर्मित सिद्धिनरसिंह मल्लको शिखर शैलीको कृष्ण मन्दिर, मूल चोक, सुन्दरी चोक, हिरण्यवर्ण विहार, कुम्भेश्वर मन्दिर छन् । भक्तपुर क्षेत्रमा दरबार स्क्वायर, भूपतीन्द्र मल्लको न्यातपोल, मानदेवको चाँगुनारायण आदि छन् ।







प्रतिक्रिया