- सुनील श्रेष्ठ
विदुर, राम्रो काम गर्नेलाई जीवनर्पयन्त पनि सम्झिने र सम्मान गर्ने प्रचलन हाम्रो समाजमा रहिरहेको छ । नुवाकोटको विदुर नगरपालिकाले पनि २०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा मृत्युर्पयन्त राधिकासहित १३ महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरेको छ
‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको संयुक्त प्रयास’ नाराका साथ मनाईएको कार्यक्रममा वडा नम्बर–३ खड्गभञ्ज्याङ्ग स्वास्थ्यचौकी मातहतका महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका राधिका श्रेष्ठलाई मृत्युपछि पनि सम्मान गरिएको स्वास्थ्य प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए । उनको गत भाद्रमा उपचारको क्रममा निधन भएको थियो । समग्र नगर र वडाको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नगरका सबै वडाबाट १/१ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए । महिला स्वास्थ्य स्वयम्सेविकाको कामको कदर र मनोवल उच्च राख्ने उद्देश्यका साथ दिवसको अवसरमा स्वास्थ्य नीति, महिला तथा बालबालिका स्वास्थ्य, खोप, नगर स्वास्थ्यलगायत नगर सम्बन्धी जानकारी दिन नगरपालिकाले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा १० नम्बर वडा महिला स्वास्थ्य स्वयम्सेविका समुह प्रथम, ४ नम्बर वडा समूह द्धितिय र ५ नम्बर वडा समूह तृतीय भएका छन् । प्रतियोगितामा विजयी हुने प्रथम, द्धितीय र तृतीय हुनेले ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको नगर स्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।
विजेतालाई विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बोगटीले स्वास्थ्य क्षेत्रमा तल्लो इकाईमा रहेर महिला स्वास्थ्य स्वयम्सेविकाको कार्यको प्रशंसा गरिन् । स्वयम्सेवक भनेको निःस्वार्थ भावले गरिने कार्य भए तापनि नगरको स्वास्थ्य नीति कार्यान्वयनमा ठूलो प्रभाव परेको उनले बताईन् । कार्यक्रममा नगरका १ सय ३९ महिला स्वास्थ्य स्वयम्सेविकालाई झोला वितरण गरिएको छ । नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुमा स्वास्थ्य स्वयम्सेविकाको उल्लेखनीय भूमिका रहेको युनिसेफले जनाएको छ । महिला स्वास्थ्य स्वयम्सेविकाको मुख्य काम महिला तथा बालबालिकाको क्षेत्रमा भएपनि कतिपय अवस्थामा स्वयम्सेवकका रूपमा खटाउने गरिएको छ ।






प्रतिक्रिया