चौघडा, लिखु गाउँपालिकाको वडा नम्बर १ र २ को सिमाना लिखुबगर ढिकुरेमा प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । ढिकुरेको लिखुबगरमा मङ्सिर २८ गतेबाट सुरु भएको महोत्सव पुस १० गतेसम्म सञ्चालन हुनेछ । नेपाली काङ्ग्रेसका प्रवक्ता तथा सङ्घीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले गत बिहीबार महोत्सव उद्घाटन गरेका हुन् ।
उद्घाटनको अवसरमा अर्थमन्त्री डा. महतले स्थानीय मौलिक पहिचान, संस्कृति र अवसरको उपयोगमार्फत मुलुकलाई आर्थिक रूपमा सुदृढ बनाउन सकिने बताए । ‘प्रथम नुवाकोट खेलकुद तथा बृहत् सांस्कृतिक महोत्सव – २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्वदेशको कला, संस्कृति, प्राकृतिक स्रोत तथा स्थानीय साधनको उपयोगमार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने बताए । ‘रोजगारको सिर्जनासहित शिक्षाको गुणस्तर र स्वास्थ्य सेवा सुधारका लागि यहाँकै शैली र सभ्यताको संरक्षण गर्नुपर्छ,’ उनले भने ‘दोस्रो विश्वयुद्धपछि जापानले जसरी आफ्नै मौलिक परम्परालाई जोगाएर विकासमा चमत्कार ग¥यो, अब हामीले त्यस्तै शैली अपनाउनुपर्छ ।’ पछिल्लो समयमा मेला–महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन, प्रचार–प्रसार र उपभोगमा केन्द्रित गराउनुको सट्टामा भड्किलो हुँदै गएको भन्दै त्यसबाट सचेत रहन ध्यानाकर्षण गराए । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलकुद र संस्कृतिलाई लक्षित गर्दै सुरु भएको महोत्सवलाई आगामी दिनमा प्रदेशस्तरीय बनाएर सञ्चालन गर्न सहयोग पु¥याउने प्रतिबद्धता जनाए । लिखु गाउँपालिका संरक्षण तथा न्यु ढिकुरे युवा क्लब र पिप्ले युवा क्लबको संयुक्त आयोजनामा सुरु भएको महोत्सव आगामी पुस १० गतेसम्म चल्नेछ । मेला व्यवस्थापक हरिहर पाण्डेका अनुसार महोत्सवमा खेलकुद र संस्कृतिसँग सम्बन्धित सामग्रीको प्रदर्शनी तथा व्यापारका लागि सयवटा स्टल राखिएको छ ।
महोत्सवमा जिल्लाका लोकदोहोरी, लोकनृत्य, लाखेनाच, काठेभाका, तामाङसेलो, बालन भजन, पञ्चेबाजा, सांस्कृतिक रीतिरिवाज परम्पराका झाँक्रीनाच प्रदर्शन, म्हेन्दोमाया गीतलगायत विधामा प्रतिस्पर्धा भइरहेको छ । खेलकुदतर्फ तेक्वान्दो, कराँते, जुडो, उसु, आइटिएफ तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, भलिबल खेलको प्रतियोगिता पनि सञ्चालन भइरहेको महोत्सव सचिवालयका अशोक थापाले जानकारी दिए । महोत्सवमा जिल्लाका १२ वटै स्थानीय तहबाट एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र विभिन्न विधागत क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई सम्मान गरिने कार्यक्रमसमेत रहेको उनले बताए । महोत्सवले नुवाकोटको खेल जगत्लाई जनमानससम्म प्रचार–प्रसार र संरक्षण, धर्म, संस्कृति, सीप, कलाकौशलको प्रवद्र्धन र प्रचार–प्रसार, खेलकुद तथा संस्कृति पर्यटन प्रवद्र्धनमा जोड, आर्थिक व्यापार प्रवद्र्धन, कृषिउपज उत्पादनको प्रवद्र्धन, प्रदर्शन र प्रचार–प्रसार, पर्यटन विकास तथा नयाँ मार्गको पहिचान गर्ने लक्ष्य लिएको छ ।







प्रतिक्रिया