Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

थाक्रे गाउँपालिकाको आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु

थाक्रे गाउँपालिकाको आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु
त्रिशूली प्रवाह
२ साल अगाडी
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, नेपालको संविधान, २०७२ अनुसार मुलुक पुनर्संरचना भई तीन तहमा विभाजन भएको छ । पुनर्संरचनाअनुसार केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका छन् । स्थानीय तहमा सात सय ५३ इकाइ रहेका छन् । ती स्थानीय तहमध्ये पहिले नै नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका भएका स्थानीय तहको आफ्नै प्रशासानिक भवन थिए । नयाँ बनाइएका नगरपालिका र गाउँपालिका भाडामा बस्दै आएका छन् । धादिङ जिल्लामा भाडामा नबसेको एक मात्र गाउँपालिका हो– त्रिपुरासुन्दरी । अहिले धुनीबेँसी नगरपालिका, गजुरी, बेनीघाट–रोराङ, गंगाजमुना, थाक्रे, नेत्रावती, दबजोङ गाउँपालिकाले आफ्नै भवन बनाइरहेका छन् । नेत्रावती दबजोङले यसअघि नै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

थाक्रे गाउँपालिकाले पनि आइतबारदेखि नवनिर्मित आफ्नै प्रशासनिक भवनबाट सेवा शुभारम्भ गरेको छ । स्थानीय तह बनेदेखि भाडाको घरबाट सञ्चालन हुँदै आइरहेको गाउँपालिकाको प्रशासनिक कार्यालय मङ्सिर ३ गतेदेखि औपचारिक रूपमा आफ्नै भवनबाट सञ्चालन भएको हो । हालसालै अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष यन्त्रबहादुर थापाले वैदिक विधिअनुसार पूजापाठ गरेर नवनिर्मित सिंहजस्तै दरबारमा प्रशासनिक भवन प्रवेश गरेर सेवा शुभारम्भ गरेका छन् । स्थानीय तहको चुनावको नारा नै गाउँ–गाउँमा सिंहदरबार भन्ने थियो । चुनाव सम्पन्न भएपछि स्थानीय सरकारले विभिन्न सेवा र वस्तुमा कर लगाएपछि गाउँपालिकालाई कर कार्यालयको संज्ञा दिएका थिए । महादेवबेँसी बजारबाट तीन सय मिटर दक्षिणतर्फ सिंहजस्तै दरबार भवनबाट गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह भएपछि थाक्रे गाउँपालिकाका स्थानीय निकै हर्षित भएका छन् । यसअघि आफ्नै प्रशासनिक भवन नहुँदा दुई–तीनवटा घर भाडामा लिएर पालिकाको विभिन्न सेवा अलग–अगल ठाउँबाट प्रवाह हुँदै आएकोमा अब सुविधासम्पन्न एउटै भवनमा प्रवेश गरेपछि गाउँपालिकाबाट पाउने सेवा, सुविधा सजिलो, छिटो र सहज तरिकाले नागरिकले सेवा प्राप्त गर्न सहज हुने पालिकाका अध्यक्ष आचार्यले बताए । एउटै छतमुनिबाट सेवा प्रवाह हुने भएपछि कुनै शाखाबाट जनताको काम ढिलासुस्ती भए–नभएको अनुगमन गर्न सजिलो हुने र सहजीकरण गर्न प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष र अध्यक्षलाई पनि सजिलो भएको अध्यक्ष आचार्यले बताए ।

६ रोपनी क्षेत्रफलमा तीनतले सुविधासम्पन्न भवन करिब पाँच करोड ६३ लाखको लागतमा ०७७ जेठमा सुरु भएको निर्माणकार्य २०८० असारमा सम्पन्न भएको पालिकाका प्राविधिक पवन सुवेदीले जानकारी दिए । थाक्रे गाउँपालिका साबिकको थाक्रे, केवलपुर, तसर्पु, भूमेस्थानका सबै भूभाग र गोगनपानी गाविसको ५, ६, ७ र ८ वडालाई समेटेर बनेको थाक्रे गाउँपालिकामा ११ वटा वडा बनाइएको छ । यस गाउँपालिकाको क्षेत्रफल ९६.४१ वर्गकिलोमिटर रहेको छ । यसको सिमाना पूर्वमा धुनीबेँसी नगरपालिका, पश्चिममा र उत्तरमा गल्छी गाउँपालिका र नुवाकोट जिल्ला रहेको छ भने दक्षिणमा मकवानपुर जिल्लाको थाहा नगरपालिका रहेको छ । देशको राजधानी काठमाडांैबाट यस गाउँपालिकासम्मको दूरी ३२.५ किलोमिटर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह