बट्टार, जिल्ला प्रहरी कार्यालय नुवाकोटले बट्टारको हावाघरमा गत बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रहरीको शान्तिसुरक्षाको विषयमा स्थानीय जनतासँग राय–सुझाव लिने र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा प्रहरी प्रमुख सञ्जयसिंह थापाले नुवाकोटका १२ वटै स्थानीय तहमध्ये विदुर नगरपालिकामा चालू आर्थिक वर्षमा ५९ अपराधका घटना दर्ता भएको जानकारी दिए । सहरी जनजीवन, आर्थिक क्रियाकलापलगायतका गतिविधिले विदुरमा अपराध बढेको उनले बताए । अपराध न्यूनीकरणमा सरोकारवाला सबैको हातेमालो हुनुपर्ने बताए । यसैगरी, सबैभन्दा कम अपराध गतिविधि किस्पाङ गाउँपालिकामा भएको उनले बताए । किस्पाङमा यस वर्ष दुई घटना मात्र दर्ता भएको जानकारी उनले दिए । चालू आर्थिक वर्षको मङ्सिर महिनासम्ममा विभिन्न अपराधका ३९ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख थापाले जानकारी दिए । जसबाट नुवाकोट प्रहरीले सात लाख ६८ हजार ६ सय २५ रुपैयाँ राजस्व असुल गरेको छ । गत आ.व. ०७९/८० मा दुई सय ५१ अपराध तथा अन्य घटना दर्ता भएको छ । जसमा आत्महत्या ४८, यौन व्यवसाय १८ घटना र अन्य घटना रहेका छन् । सुनुवाइमा सहभागीबाट उठेको प्रश्नको जवाफ दिँदै नुवाकोटका प्रहरी प्रमुख थापाले प्रहरीले स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन स्थानीयसँग हातेमालो गर्दै आएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र विदुर नगरपालिका– ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले नुवाकोटको शान्तिसुरक्षा कायम राख्न प्रहरी सफल रहेको र थप सुरक्षा संयन्त्र कायम राख्न समयसापेक्ष सुरक्षा रणनीति अपनाउनुपर्ने औँल्याए । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले समग्र नुवाकोटका व्यापारीको शान्ति, सुरक्षा, बजार क्षेत्रमा सिसिक्यामेरा जडान, बट्टार बसपार्क सञ्चालनबारे ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी, गत शुक्रबार समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत समाजमा घटेका आपराधिक घटना रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रहरी कार्यालयमातहतका इकाइले आ–आफ्नो कार्यक्षेत्रमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए । प्रहरी चौकी रानीपौवा, प्रहरी चौकी सेराबगर, प्रहरी चौकी तारुकाले लैङ्गिक हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको थियो भने प्रहरी चौकी तादी पुलले बालविवाह र प्रहरी चौकी कुमरीले सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा अपराधका कारण, अपराध न्यूनीकरण गर्न निर्वाह गर्नुपर्ने भूमिका, कानुनविपरीतका कार्य गर्दा हुने दण्ड, सजाय र अपनाउनुपर्ने सजगतालगायतका विषयमा जानकारी गराई सचेत गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्र.ना.उ. खगेन्द्रबहादुर खड्काले बताए । नुवाकोट प्रहरीले सोमबार सवारी ज्यान मुद्दाका फरार प्रतिवादी कृष्णबहादुर तामाङलाई १४ वर्षपछि पक्राउ गरी नुवाकोट जिल्ला अदालतमा पेस गरेको थियो । जिल्ला अदालतले तामाङलाई कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश गरेको छ । पुनरावेदन अदालत पाटनको ०६६ साउन ३२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा एक वर्ष नौ महिना कैद तोकी फरार रहेका नुवाकोट जिल्ला साबिक तलाखु गाविस–४ हाल शिवपुरी गाउँपालिका–१ बस्ने कृष्णबहादुर तामाङलाई खोततलास गर्दै जाने क्रममा पुस २ गते बिहान अन्दाजी १० बजे शिवपुरी गाउँपालिका–१ बाट प्रहरीले पक्राउ गरेको थियो ।






प्रतिक्रिया