गँगटे (नुवाकोट), नेपाल मगर सङ्घ बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले पुस ७ गते शनिबार नेपाल मगर सङ्घ केन्द्रीय समितिकोे आयोजनामा दाङमा हुने ‘बृहत मगर जनसभा’मा सहभागी हुने निर्णय गरेको छ ।
प्रदेश अध्यक्ष मिलन थापामगरको अध्यक्षता, नेपाल मगर सङ्घ केन्द्रीय सदस्य भगवान रानामगरको प्रमुख आतिथ्यता र राजकुमार थापामगरको विशेष आतिथ्यतामा विनपा–५ गँगटेपार्क निबुवाडाँडा नुवाकोटमा गत शनिबार बैठक सम्पन्न भएको हो । प्रदेश समितिका प्रथम सचिव रामकृष्ण थापामगरले सञ्चालन र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थापामगरले गरेको बैठकमा जिल्लाका अध्यक्ष/प्रतिनिधिमार्फत जिल्लाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रानामगरले मगर समुदायको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र नागरिक अधिकार सुनिश्चितता र कार्यान्वयनमा लागिरहेको बताए ।
सङ्घको केन्द्रीय समितिले आयोजना गरेको ‘बृहत् मगर जनसभा’ दाङ जिल्लाको देउखुरीमा बागमती प्रदेश समिति सहभागी हुने निर्णय गरेको प्रदेश समितिका प्रथम सचिव रामकृष्ण थापामगरले बताए । बैठकले बागमती प्रदेश समितिको जिल्ला इन्चार्जसमेत तोकिएको छ । जिल्ला समितिलाई जिल्लामा अधिवेशन सम्पन्न गर्न कार्यभार तथा जिम्मेवारी उक्त बैठकले प्रदान गरेको छ । बैठकमा चितवन जिल्लाको इन्चार्जमा सुरेन्द्र थापामगर, मकवानपुमा देवबहादुर रानामगर, धादिङमा रामकृष्ण थापामगर, नुवाकोटमा खेम जर्गामगर, सिन्धुलीमा रामकुमार बोगटीमगर, काभ्रेपलाञ्चोकमा मोहन थापामगर, सिन्धुपाल्चोकमा ईश्वर पल्लीमगर, रामेछापमा भद्रिका थापामगर, दोलखामा इन्द्रबहादुर थापामगर, रसुवामा शर्मिला थापामगर र काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सबै पदाधिकारीको उपस्थिति रहेको थियो । बैठकले बागमती प्रदेशले तयार पारेको कार्यविधिअनुसार १३ वटै जिल्लाको विस्तृत विवरण सङ्कलन गर्ने निर्णय गरेको छ । बैठकले बागमती प्रदेश समितिमा भक्तपुरका धर्मराज थापामगर, सानुकान्छा आलेमगर र उदयबहादुर थापामगरलाई मनोनीत गरेको छ ।
त्यसैगरी, मगरहरूको महान् चाड माघेसङ्क्रान्ति ‘मिनम ल्हेस’ २०८० प्रत्येक जिल्लामा भव्यताका साथ मनाउन प्रदेश समितिबाट सहभागी साथ मगर घरधुरीले मगर सङ्घको झण्डा राखी शुभदिनको कामकार्य सुरुवाती गर्न निर्देशन दिने निर्णय गरेको छ । गोरखा जिल्लाको पालुङटारमा हुन गइरहेको नेपाल मगर सङ्घ केन्द्रीय समितिको २८औँ राष्ट्रिय सम्मेलमा नेपाल मगर शिक्षक सङ्घको गठनका लागि प्रत्येक जिल्लाबाट महिला शिक्षकसहित दुइजना प्रतिनिधि पठाउन जिल्लालाई बैठकले निर्देशन गरेको छ ।






प्रतिक्रिया