त्रिशूलीबजार, नुवाकोटको विदुर नगरपालिका–१ को त्रिशूली बसपार्कमा टिमुरे यातायात प्रालिको लगानीमा निर्माण भएको दुईवटा विद्युतीय चार्जिङ स्टेसनको शनिबार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेका छन् ।
सानो र ठूलो विद्युतीय गाडी छुट्टाछुट्टै चार्जिङ गर्न सकिने गरी ३० लाख रुपैयाँको लागतमा आवश्यक पूर्वाधारसहित निर्माण भएको टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए । त्रिभुवन त्रिशूली माविको जग्गासँगै रहेको वडाको मातहतको सार्वजनिक जग्गामा विदुर नगरपालिका–१ सँग सम्झौता गरेर चार्जिङ स्टेसन निर्माण गरिएको हो । चार्जिङ स्टेसनको व्यवस्थापन खर्च कटाएर मासिक ३० प्रतिशत रकम वडा कार्यालयलाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । विदुर नगरपालिका–१ का अध्यक्ष लेनिन रञ्जितको पहलमा विद्युत् प्राधिकरणले ट्रान्सफर्मरसहित अन्य प्राविधिक सहयोग गरे पनि चार्जिङ स्टेसनको निर्माण गर्न झन्डै ३० लाख रुपैयाँ लागेको यातायात प्रालिले जानकारी दिएको छ । नुवाकोटमै पहिलोपटक आफूले सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय माइक्रो सञ्चालन गरेर विद्युतीय चार्जिङ स्टेसन निर्माण गरेको अध्यक्ष जोशीले बताए । आन्तरिक रूपमा विद्युत् खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएकाले सरकारको नीतिलाई सहयोग गर्न आफूले विद्युतीय माइक्रोको सञ्चालन गरेको उनले बताए ।
चार्जिङ स्टेसनको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र विदुर नगरपालिका–१ का अध्यक्ष लेनिन रञ्जितले शनिबार संयुक्त रूपमा उद्घाटन गरेका थिए । मेयर श्रेष्ठले चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय सवारीसाधन खरिद गरी चलाउने व्यवसायीलाई विदुर नगरपालिकाले प्रोत्साहन गर्ने बताए । उनले त्रिशूली बसपार्कमा चार्जिङ स्टेसन निर्माण भएकाले बसपार्क क्षेत्रमा चहल–पहल हुनेसमेत बताए । त्रिशूलीबजार क्षेत्रमा चहल–पहल बढाउन बसपार्कले र विद्युतीय चार्जिङ स्टेसनले सहयोग पुग्ने वडाध्यक्ष रञ्जितले बताए । टिमुरेले सञ्चालन गरिरहेको विद्युतीय माइक्रोको भाडा तीन सय ५० रुपैयाँ तोकिएको छ । टिमुरे र पासाङल्हामु यातायात प्रालिले काठमाडौं–त्रिशूली रुटमा १०–१० वटा विद्युतीय माइक्रोबस सञ्चालन गरिरहेका छन् । त्रिशूलीबाट छहरे–टोखा हुँदै बालाजु–माछापोखरी–काठमाडौं चल्ने माइक्रोको क्षमता १० जना र फुल एसी रहेको छ । काठमाडौं–त्रिशूली आवत–जावत गर्न विद्युतीय माइक्रोलाई डेढ घण्टा लाग्ने गरेको छ ।
नेपालले बर्सेनि पेट्रोल आयातमा खर्बौँ रुपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ । यसलाई न्यूनीकरण गर्न अब देशका सबै स्थानमा विद्युतीय गाडी सञ्चालन गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने माग नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले राखे । नेपालको नदीमा प्रशस्त पानी भएको कारण नेपालमा विद्युत् बढी उत्पादन हुने र नेपालले विद्युतीय गाडी प्रयोगमा ल्याउन सके जलविद्युत्ले बजार पनि प्रशस्तै पाउने हुँदा देशको अर्थतन्त्रमा ठूलो टेवा दिने विश्वाससमेत उनले गरेका छन् ।







प्रतिक्रिया