काठमाडौंदेखि नुवाकोट जोड्ने पाँच दशक पुरानो बालाजु–रानीपौवा–पिपलटार सडकको तिनपिप्ले–रानीपौवाखण्ड अब दुई लेनमा स्तरोन्नति हुने भएको छ । उक्त सडकखण्डको ठेकेदारसँग सम्झौता तोडेको १७ महिनापछि नयाँ ठेक्का आह्वान भएको छ । माघभित्र ठेक्का सम्झौता गर्ने भन्दै ठेक्का आह्वान गरिएको सडक डिभिजन नुवाकोटका प्रमुख सुबोधकुमार देवकोटाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।
३५ दिनको सूचना दिएर मङ्सिर २१ गते आह्वान गरिएको ठेक्काको भ्याटबाहेक रकम ९८ करोड रुपैयाँ रहेको छ । ठेक्का सडक डिभिजन नुवाकोटमार्फत भएको हो । ठेक्का सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माणको काम सकिसक्नुपर्ने सडक डिभिजन नुवाकोटका प्रमुख देवकोटाले बताए । ‘यो नुवाकोट जोड्ने महत्वपूर्ण र पुरानो सडक हो,’ उनले भने, ‘दूरीका हिसाबले काठमाडौंबाट छोटो सडक हो ।’ यसलाई दुई लेन व्यवस्थित सडकका रूपमा स्तरोन्नति गर्न लागिएको उनको भनाइ छ । ठेक्का भने सबैभन्दा कम आर्थिक प्रस्ताव पेस गर्नेले पाउनेछ । बालाजु–रानीपौवा–पिपलटार सडकको कुल दूरी ५५.५ किलोमिटर हो । यसमध्ये अहिले तीनपिप्ले–रानीपौवा सडकको दूरी १४ किलोमिटर छ । सुरुमा यसको दूरी १२.५ किलोमिटर थियो । विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयारपछि यो खण्डको दूरी बढेको हो । यो सडकको स्तरोन्नतिका लागि एक अर्ब ३३ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता प्राप्त भएको थियो । त्यसैका आधारमा ठेक्का आह्वान गरिएको डिभिजन प्रमुख देवकोटाले बताए । सुरुको ठेक्काअनुसार काम नभएपछि पुनः दोस्रोपटक ठेक्का आह्वान गरिएको हो । सुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियो । तर, सातपटक म्याद थप्दा पनि एआइपिएल र सैलुङ कन्स्ट्रक्सन जेभीले काम सकेनन् । ठेकेदारले काम नगरेको भन्दै कारबाहीको माग गर्दै यो क्षेत्रका स्थानीयले पटक–पटक आन्दोलन गरे । चाँडो निर्माणको काम सक्न ठेकेदार र सम्बन्धित कार्यालयलाई दबाब दिए । तैपनि काममा प्रगति नभएपछि अन्तिम विकल्पका रूपमा ठेक्का तोडिएको सडक विभागको भनाइ छ । ठेक्का ०७९ असार ५ मा तोडिएको हो । यो ठेक्काको ठेकेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का आर्थिक सहयोगी सैलुङ कन्स्ट्रक्सन जेभीका शारदा अधिकारी रहेका छन् । यो सडकसँग अध्यक्ष प्रचण्डको सम्बन्ध जोडिएको कारण माओवादी केन्द्रले स्थानीयवासीको ठूलो विरोध सामना गर्नुपरेको थियो । माओवादीका नेता र अन्य दलका नेताले प्रचण्डका घरबेटी अधिकारीलाई कारबाही गर्न माग गरे पनि बालाजु–रानीपौवा खण्डको ठेक्काको सातपटक म्याद थप्दा पनि निर्माणको कार्यले गति लिएन ।
सम्झौता तोडेर सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो । यी कम्पनीलाई तीन वर्षका लागि गत वर्ष नै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिसकेको छ । बालाजुदेखि तीनपिप्लेसम्मको सडकमा भने कुनै समस्या नरहेको सडक सुधार तथा विकास योजना कार्यालयका योजना प्रमुख मेघराज मरासिनीले बताए ।
रानीपौवाबाट पिपलटारसम्म सुरुको दूरी ३४ किलोमिटर थियो । पछि तीनपिप्ले–रानीपौवा खण्डमा डिपिआरका क्रममा यताको दूरी घटाएर उता (तीनपिप्ले–रानीपौवामा) दुई किलोमिटर सडक थप गरिएको हो । यसअनुसार यो खण्डको दूरी ३२ किलोमिटर कायम भएको हो । यही सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डको करिब साढे चार किलोमिटर सडक बनिसकेको छ । उपत्यकाको फोहोर विसर्जनमा समेत बालाजु–रानीपौवा खण्डको मुड्खु–तीनपिप्ले सडकका कारण अवरोध हुँदै आएको थियो । उपत्यकाको फोहोर फाल्न सडकका कारण समस्या भएपछि बालाजु–रानीपौवा खण्डलाई टुक््रयाएर फास्ट ट्र्याकमा निर्माण सक्ने भन्दै मुड्खु–तीनपिप्ले खण्डमा ०७९ असोज २६ मा ठेक्का गरिएको थियो । ठेक्का सम्झौताअनुसार माघ २६ भित्र काम सकिइसक्नुपर्ने थियो । तर, पछि बजेटका कारण तोकिएकै समयमा काम सक्न समस्या भएको थियो । पछि तोकिएको समयभन्दा एक महिना ढिला गरेर यसको काम सकिएको थियो । रानीपौवा–पिपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम गरिँदै छ । ‘यसको डिपिआर पेस भइसकेको छ । यसको इन्जिनियरले छिट्टै अध्ययन गरेर सक्ने जानकारी सडक डिभिजन नुवाकोटका प्रमुख देवकोटाले दिएका छन्,’ उनले भने, ‘त्यसपछि निर्माण लागत अनुमान गरेर सहमतिका लागि भारतीय एक्जिम बैंकसँग स्वीकृति माग्छौँ ।’ सडक डिभिजन नुवाकोटका प्रमुख देवकोटा आएपछि तीनपिप्ले–रानीपौवा सडकको ठेक्का लगाउने काम अगाडि बढेको हो । उनकै पहलमा रानीपौवा–पिपलटार सडकको पनि डिपिआर भएर स्रोत सुनिश्चितताका लागि प्रक्रिया अगाडि बढेको छ । चालू आर्थिक वर्षभित्रै सबै प्रक्रिया सकेर यो सडकखण्डको समेत स्तरोन्नतिका लागि पुनः ठेक्का आह्वान गरिनेछ । रानीपौवा–पिपलटार भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए । उक्त निर्माण कम्पनीसँग पनि ०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । अहिले यो कम्पनीलाई कालोसूचीमा राखिएको छ । सन् १९६५ मा देवीघाट जलविद्युत् आयोजना निर्माणका लागि पहुँच सडकका रूपमा यसको निर्माण गरिएको पूर्वसचिव अर्जुनजंग थापा बताउँछन् । ‘यो सडक त्यसबेला भारत सरकारको सहयोगमा निर्माण गरिएको थियो,’ उनले भने, ‘जसले गर्दा काठमाडौं–नुवाकोट जोड्ने यो धेरै पुरानो सडक हो ।’ अघिल्लोपटक निर्माण व्यवसायीका कारण निर्माणमा ढिलाइ भए पनि अब त्यस्तो हुन नहुने उनको भनाइ छ ।







प्रतिक्रिया