हेटौँडा, गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घ प्रदेश कार्यसमितिका अध्यक्ष कर्णबहादुर मगर नेतृत्वमा गएको टोलीले कर्मचारी समस्या समाधानलगायतका ६बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा प्रदेश समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गर्न, स्थानीय सरकारसँग सम्बन्धित कानुन निर्माण गर्दा गाउँपालिका राष्ट्रिय महासङ्घको अनिवार्य सहभागिता गराउन, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि तालिम महासङ्घको सहकार्यमा गर्न प्रदेश सरकारसँग माग गरिएको छ । त्यसैगरी, गाउँपालिका महासङ्घ बागमती प्रदेश कार्यालय सञ्चालन गर्न अनुदानको व्यवस्था गर्न, स्थानीय सरकारको कर्मचारी सरुवा, बढुवा हुँदा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा मात्रै गर्न र दहत्तर–बहत्तर सङ्कलनलगायतका कानुनी जटिलता हटाउन महासङ्घले प्रदेश सरकारसँग माग गरेको छ । ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले गाउँपालिका महासङ्घले उठाएका कर्मचारी अभाव, दहत्तर–बहत्तर सङ्कलनलगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा महासङ्घ बागमती प्रदेश कार्यसमिति सचिव कान्छालाल जिम्बा, सहसचिव मानकुमारी पाख्रिन र सदस्य फणीन्द्र तिमल्सिनाको सहभागिता रहेको थियो । टोलीले स्थानीय तहमा कर्मचारी अभावको समस्याबारे प्रदेश लोकसेवा आयोगका पदाधिकारी, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय र प्रदेश किताबखानाका निर्देशक अनिता तामाङसँग छलफल गरेको थियो ।







प्रतिक्रिया