+
Search

ताजा अपडेट +

पपुलर +

सुन्तलाले मगमगाइरहेको छ बुङताङ गाउँ

सुन्तलाले मगमगाइरहेको छ बुङताङ गाउँ
त्रिशूली प्रवाह
२ साल अगाडी

देउराली (नुवाकोट), केही वर्ष अघिसम्म कोदो र मकै मात्र फलाउने नुवाकोटको बुङताङका पाखोबारीमा अहिले सुनझैँ लटरम्म पाकेका सुन्तलाले गाउँ नै मगमगाइरहेको छ । गाउँभरि सुन्तला पाकेर पहेँलपुर भइरहेको छ । म्यागङ गाउँपालिका-२ का गरबहादुर तामाङको प्रयासमा बुङताङ गाउँ अहिले सुन्तलाको पकेट क्षेत्र बनेको छ । उनको प्रयासमा म्यागङ गाउँपालिकाका अन्य वडामा समेत सुन्तला खेती विस्तार भइरहेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सुन्तला खेतीका लागि राम्रो हावापानी र राम्रो उत्पादन हुने भएपछि बुङताङ गाउँको विगतमा कोदो, मकै फल्ने अधिकांश जमिनमा अहिले सुन्तलाका बोट रोपिएका छन् । ‘मेरो पाखोबारीमा पहिले २२ पाथी कोदो फल्थ्यो,’ गरबहादुर भन्छन्, ‘अहिले यही बारीमा १० देखि १५ लाख रुपैयाँको सुन्तला फल्छ ।’ गरबहादुरले ०५६ सालमा सुन्तलाको बिरुवा परीक्षणको रूपमा २७ बोट घरपछाडिको बारीमा रोपेका थिए । पहिले चारजनाले पाँच सय बिरुवा रोपिएकोमा अहिले गाउँमा २१ हजार बिरुवा रोपिएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक सुन्तला खेती थालेका छन् । ‘सुन्तला रोपौँ, समृद्ध बनौँ’ भन्ने नाराका साथ गरबहादुरले गाउँलेलाई नै अघि बढाएका छन् । अहिले सुन्तला खेतीबाट सबै खर्च कटाएर वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको गरबहादुरले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । अबको दश वर्षमा वार्षिक करोडौँ रुपैयाँ सुन्तला खेतीबाट आम्दानी लिने महत्वाकाङ्क्षी योजनासमेत उनले सुनाए ।

Suzuki New Bike & Scooter

साबिकको बुङताङ गाविस, हालको म्यागङ गाउँपालिका-२ बाट अहिले वार्षिक ३५ देखि ४० लाख रुपैयाँभन्दा बढीको सुन्तला निर्यात हुँदै आइरहेको वडाध्यक्ष सन्तवीर तामाङले बताए । उत्पादित सुन्तला नुवाकोट जिल्लामा र अन्य छिमेकी जिल्लामा बिक्री हुँदै आइरहेको छ । बुङताङ– २ कै नन्दराम न्यौपाने र धनमाया तामाङले पनि गरबहादुरकै प्रेरणाबाट सुन्तला खेती सुरु गरेका छन् । पुख्र्याैली खेतीबाट भन्दा सुन्तला खेतीबाट मनग्य आम्दानी भएको उनीहरूले बताएका छन् । अहिले गाउँपालिकाका ६ वटै वडामा सुन्तला खेती सुरु भएको छ । सामरी, किम्ताङ, देउराली, बर्सुन्चेतलगायतका पहरामा सुन्तला खेती फस्टाइरहेको छ । अबको केही वर्षमा म्यागङ गाउँपालिकाभरि लगाएको सुन्तला फल्न थालेपछि नुवाकोटमा बाहिर जिल्लाबाट सुन्तला आयात गर्नु नपर्ने अवस्था आउने नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य धु्रव रावलले बताए । विगतमा देश–विदेश गएर आर्जन गरेको अनुभव र पैसाबाट २४ वर्षअघि सुन्तला खेती सुरु गरेका गरबहादुर सरकारले कृषि क्षेत्रमा नगद अनुदानभन्दा पनि प्रविधि र ढुवानी खर्चमा सहयोग गर्नुपर्ने बताउँछन् । उनले सुन्तला खेतीबाट कमाएको पैसालाई सुन्तला क्षेत्र विस्तारमै लगानी गरेका छन् । नुवाकोटको पञ्चकन्या, ककनी गाउँपालिकामा पनि केही कृषकले व्यावसायिक रूपमा सुन्तला खेती गरेर कमाइ गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह