+
Search

ताजा अपडेट +

पपुलर +

गत वर्ष तीन सय उद्योग वाणिज्य फर्म खारेज

गत वर्ष तीन सय उद्योग वाणिज्य फर्म खारेज
त्रिशूली प्रवाह
१ दिन अगाडी

विदुर । गत आर्थिक वर्ष २०८१/०८२ मा नुवाकोट जिल्लामा दर्ता भएकामध्ये तीन सय उद्योग वाणिज्य फर्म बन्द भएका छन् । सोही अवधिमा दुई सय २६ नयाँ उद्योग वाणिज्य फर्म दर्ता भएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार गत आवमा उद्योग एक सय ५२ र वाणिज्य फर्म ७४ वटा दर्ता हुँदा एक सय १० उद्योग र एक सय ९० वाणिज्य फर्मको लगत कट्टा भएको छ । कार्यालयका सूचना अधिकारी मेखमाया तामाङ घलेले बताएअनुसार गत आवमा कूल राजस्व रु.एक करोड ३२ लाख नौ हजार एक सय ५० सङ्कलन भएको थियो । विगत तीन वर्षको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उद्योग तथा वाणिज्य फर्म नयाँ दर्ता गर्नेको सङ्ख्या घटिरहेको छ । आव २०७९/०८० मा उद्योग दुई सय २४ र वाणिज्य फर्म एक सय २९ दर्ता भएकोमा आव २०८०/०८१ मा घटेर उद्योग एक सय ६६ र वाणिज्य फर्म ९१ दर्ता भएका छन् । दुई आवको भन्दा आव २०८१/०८२ मा घटेर उद्योग एक सय ५२ र वाणिज्य फर्म ७४ वटा मात्र दर्ता भएका छन् । उद्योग र वाणिज्य फर्म दर्ता घट्ने र खारेजीको सङ्ख्या बढ्दै गए पनि राजस्व भने हरेक वर्ष बढिरहेको छ ।

कार्यालयले अघिल्लो आव २०८०/०८१ मा रु.एक करोड १६ लाख ९३ हजार तीन सय ८० राजस्व सङ्कलन गरेकोमा गत आव २०८१/०८२ मा रु. एक करोड ३२ लाख नौ हजार एक सय ५० सङ्कलन भएको छ । अघिल्लो आवमा भन्दा गत आवमा कार्यालयले रु.१५ लाख १५ हजार सात सय ७० राजस्व सङ्कलन गरेको छ । कानुनी व्यवस्थाअनुसार पालिकामा रु. पाँच लाखसम्म पुँजी भएको उद्योग व्यवसाय दर्ता हुने भएकाले खारेजी गर्ने बढेको, दर्ता गर्ने घटेको कार्यालय प्रमुख किशोर सापकोटाले बताउनुभयो । देशको आर्थिक अवस्थामा आएको सङ्कुचनका कारण नयाँ उद्योग र फर्म दर्तामा कमी आएको तथा युवा जनशक्ति उद्योग, व्यवसाय सञ्चालन गर्नेभन्दा बिदेसिने क्रम बढिरहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ उद्योग र व्यवसाय घटेको, सञ्चालनमा रहेका पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेर घाटा ब्यहोरिरहेका छन् ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह