म्यागङ, म्यागङ गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि ग्रामसेवा माध्यमिक विद्यालय सामरीले प्राप्त गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, आठ रजत र चार कांस्य गरी कुल २० पदक प्राप्त गर्दै प्रथम हुन सफल ग्रामसेवा माविले राष्ट्रपति रनिङ सिल्डको उपाधि हात पारेको हो ।
प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र ६ कांस्य पदकसहित कुल १९ वटा पदक प्राप्त गर्दै देउराली मावि देउराली दोस्रो र चार स्वर्ण, दुई रजत र तीन कांस्यसहित नौ पदक प्राप्त गर्दै भूमेदेवी माध्यमिक विद्यालय गोगने देउराली तृतीय भएको थियो । गाउँपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ सिल्डका प्रतियोगिता मङ्सिर २७ गते बुधबारदेखि २९ गते शुक्रबारसम्म सञ्चालन भएको थियो । उक्त प्रतियोगिता समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष आशा तामाङले विद्यार्थीलाई रनिङ सिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरेकी थिइन् । अध्यक्ष तामाङले युवालाई खेलकुदतर्फ आकर्षित गर्न गाउँपालिकाले विद्यालयलाई खेलकुदमैत्री बनाउने र खेलको विकास गर्दै गाउँपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न पालिका लागिपरेको बताइन् ।






प्रतिक्रिया