अन्तरविद्यालयस्तरीय टी-२० क्रिकेटमा त्रिभुवन त्रिशूली विजयी

  • त्रिशूली प्रवाह
  • १२ पुष २०८०, बिहीबार १२:३९

त्रिशूलीबजार, नुवाकोट क्रिकेट सङ्घको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा गत मङ्सिर २४ देखि २७ गतेसम्म सम्पन्न भएको अन्तरविद्यालयस्तरीय टी-२० क्रिकेट प्रतियोगितामा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय विजयी भएको छ । खेलमा पछि परेको त्रिभुवनले विजयी सुरुवात गरेको हो ।

सङ्घको आयोजनामा भएको प्रतियोगितामा त्रिभुवनले शुभेनियर बोर्डिङ स्कुललाई ३८ रनले हराउँदै विजयी भएको थियो । त्रिभुवनले ९३ रन र शुभेनियरले ५५ रन बनाउन सफल भए । फाइनल खेलको म्यान अफ दी म्याच त्रिभुवनका हसन खान भए । खानले चार विकेट लिए । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको प्रतियोगितामा विजेता र उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेता र उपविजेतालाई बागमती प्रदेश क्रिकेट सङ्घका सदस्य अनुजमान श्रेष्ठले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । विजेता त्रिभुवनले एक थान ब्याट प्राप्त गरे । प्रतियोगिताभरिकै त्रिभुवनका रिसु कलवार सर्वोत्कृष्ट खेलाडी र शुभेनियरका भविष्य थापा उत्कृष्ट ब्याटर घोषित भए । शुभेनियरका जोहन जेके उत्कृष्ट बलर र नवउदीयमान खेलाडी घोषित भए । प्रतियोगिताभर शुभेनियरका थापाले ७० रन र जेकेले ३४ रन र सात विकेट बनाउन सफल भएका थिए । प्रतियोगितामा जिल्लाका सामुदायिक र निजी गरी ६ विद्यालयले सहभागिता जनाएको सङ्घका सचिव करण खतिवडाले जानकारी दिए ।