विदुर, नुवाकोटमा सरकारी कार्यालय र निजी प्रयोजनका चिठीपत्र हुलाकबाट पठाउनेको सङ्ख्या अहिले न्यून रहेको छ । हुलाकको सेवा छिटो-छरितो र विश्वसनीय तथा समयसापेक्ष नहुँदा सरकारी कामकाजका चिठीपत्र कानुनी मान्यता दिनका लागि मात्र अहिले हुलाकबाट पठाइने गरिन्छ ।
गत महिना मङ्सिरमा चिठपत्र ६ सय ६९ वटा मात्रै दर्ता भएको जिल्ला हुलाक कार्यालय नुवाकोटले जनाएको छ । कार्यालय प्रमुख नन्दकिशोर यादवका अनुसार हुलाक सेवाअन्तर्गत जिपिओ २१ वटा, चिठी वितरण एक हजार एक सय ५४ वटा, सामान वितरण नौवटा र राहदानी वितरण नौ पोका रहेका छन् । यस्तै, अन्य हुलाकबाट कार्यालयमा साधारणपत्र प्राप्तमा ५५ र चलानमा तीन सयवटा रहेका छन् भने रजिस्ट्रीपत्र चलानमा चार सय ८५ वटा रहेका छन् । हुलाकमार्फत मङ्सिरमा देशभरबाट सात सय ५६ वटा पत्रपत्रिका जिल्लामा प्राप्त भएका छन् । हुलाक टिकट बिक्रीबाट एक लाख ३६ हजार रुपैयाँ, अटोमेसनबाट ४२ हजार आठ सय ५ रुपैयाँ र सामान वितरण सेवा शुल्कबाट एक हजार आठ सय ८२ रुपैयाँ सङ्कलन भएको छ । सरकारी कार्यालयले सरकारी हुलाक सेवा प्रयोग गर्न छाडेपछि गत असोजमा सरकारी चिठीपत्र र कागजात हुलाकमार्फत पठाउने व्यवस्था सुनिश्चित गर्ने निर्णय सरकारले गरेको थियो । उक्त निर्णय कार्यान्वयन गराउन सरकारले सकेको छैन । पछिल्लो समयमा इमेलको माध्यम र व्यवसायीले सञ्चालन गरेका कुरियर तथा कार्गो सेवामार्फत चिठी पठाउँदा हुलाक सेवामा कमी आएको हो । सरकारी कार्यालयले चिठीपत्रसहित विभिन्न हुलाकसम्बद्ध सेवा पनि निजीस्तरका कुरियर र कार्गो कम्पनीबाट लिइरहेका छन् । यसले गर्दा हुलाक सेवामा आकर्षण कम हुँदै गएको छ । अहिले धेरैजसो सरकारीपत्र तथा परिपत्र इमेल र अनलाइन प्रविधिमार्फत नै कार्यालयमा पुग्ने गरेका छन् । अदालतको चिठीपत्र र अन्य कानुनी मान्यता दिनुपर्ने चिठीपत्र मात्र अहिले हुलाकबाट आदान–प्रदान हुने गरेको छ । हुलाकमा दक्ष जनशक्तिको अभाव रहेकाले हुलाक सेवाप्रति दिन–प्रतिदिन नागरिकको विश्वास घटिरहेको छ ।






प्रतिक्रिया