+
Search

ताजा अपडेट +

पपुलर +

कृषि कर्मबाटै सम्पत्ति आर्जन गरेका छिरिङको कथा

कृषि कर्मबाटै सम्पत्ति आर्जन गरेका छिरिङको कथा
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ सानोभार्खु तल्लो १२ घुम्तीको नयाँ बस्तीमा बसोवास गरिरहेका छिरिङ साङ्बो तामाङ तीन रोपनी जग्गामा उन्नत जातका बाख्रापालन र आधुनिक तरकारी खेती गरेर श्रीमतीलाई आठ तोला सुन, छोरालाई कमाई गरेर खाओस् भनेर डिब्बा कन्टेनर र एकतले ढलान घर बनाउन सफल भएका छन् । कृषि कर्मबाट गरेको आम्दानीले सुन, डिब्बा किनेको र घर बनाएको छिरिङ बताउँछन् । उमेरले ६८ कटे पनि शरीरले साथ दिए अझै २० वर्ष कृषि कर्ममै लाग्ने उनी बताउँछन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

मिहिनेत र परिश्रम गर्न उमेरले छेक्दैन भन्ने उदाहरणीय व्यक्तित्व बनेका उनले ०७२ सालदेखि व्यवस्थित रूपमा नै मौसमअनुसारको तरकारी खेती गरेर गाउँकै नमुना कृषक भएका छन् । रैथाने परम्परागत रूपको खेतीलाई परिमार्जित गरेर उनले आधुनिक प्रविधिमा टनेल हालेर भन्टा, गोलभेँडा, बन्दा, काउली, साग, खुर्सानी, मुला, धनियाँ, लसुन, काँक्रो लगाएर आम्दानी गरिरहेका छन् । उनले उत्पादन गरेको मौसमी–बेमौसमी तरकारीको मुख्य बजार सदरमुकाम धुन्चे, स्याफ्रुबेँसी, टिमुरे र रसुवागढी रहेको छ । उनले प्राविधिकको सरसल्लाहमा एक सयको हाराहारीमा उन्नत जातका बाख्रासमेत पालेका छन् । बाख्रापालन व्यवसायलाई बढाउँदै लैजाने सोचमा रहेका उनलाई छोराहरूले दुःख नगर हामी पाल्छौँ भन्छन्, तर मनले नमानेको बताउने छिरिङ भन्छन्, ‘काम नगरी बस्न मनले मान्दैन, ज्यानले सकुञ्जेल काम गर्छु ।’ गोसाइँकुण्ड गाउँपालिकाले गत वर्ष खोर बनाउन ३० हजार दिएको थियो र यस वर्ष पनि ३० हजार दिएको बताउने छिरिङलाई बोका किन्न भनेर ३३ हजारसमेत दिएको थियो । बाख्रामा रोग लाग्यो, बिरामी भयो भने पालिकाको भेटेरेनरी शाखामा भनेपछि उपचार गरिदिने र औषधिसमेत दिने गरेको उनले बताए । वर्षमा तीन लाख त सबै खर्च कटाएर नाफा बस्छ, तर हामी तामाङको चलन के छ भने बिरामी पर्दा, मानिस मर्दा र समाजमा केही कार्य भयो भने पैसा हाल्नुपर्छ, कति पैसा त त्यसमा नै जान्छ । मैले यस्तो काम गरेको भनेर गाउँले खिसी गर्छन्, तर मलाई त्यस्तो लाग्दैन र यस्तै काम गर्दा खुसी लागेको बताउँछन् । उमेरले साढे ६ दशक काटेका छिरिङ साङ्बो तामाङमा युवा उमेरको जस्तै जोस–जाँगर अहिले पनि रहेको छ । पहिले त डकर्मी, सिकर्मीको काम गरेर १० हजार कमाइ हुन्थ्यो, त्यसले घर खर्च पुग्दैन थियो । घर, परिवार चलाउन र समाजमा घुलमिल हुन समेत धौधौ भएपछि विकल्पको रूपमा तरकारी खेती र बाख्रापालन गरेका उनको दुःखका दिन घट्दै गयो । तरकारी खेती र बाख्रापालनबाट सफलता मिल्दै गए पनि र उनको उमेरले आराम खोजे पनि छोराहरूले उनको कामलाई पछ्याउन नसकेकोमा भने दुःखी छन् ।

Suzuki New Bike & Scooter

युवाहरूलाई हरेश र निराश नभई कामप्रति मिहिनेत गरे सफल हुने बताउने उनका तीनजना छोरा र एक छोरी रहेका छन् । छोराबुहारी आफ्नो सुर गरिरहेका र छोरी विदेश गएको बताउने उनलाई बुढीले भने जेनतेन साथ दिइरहेकी छिन् । बुढी अलि रोगीजस्तो भएकाले त्यति सहयोग गर्न नसक्ने अवस्था भएको उनले बताए । उतिबेला हाम्रो समयमा पढ्नु–लेख्नुपर्छ भन्ने चेतना थिएन, स्कुल थिएन, वातावरण नै मेलापात, घाँस, दाउरा गर्ने थियो, अहिलेजस्तो सुविधा थिएन । कामबाट सन्तुष्टि मिलेकाले ०७८ सालमा घरेलु तथा साना उद्योग विकास कार्यालयमा डाङा समूह फर्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारी खेती र बाख्रापालन गरिरहेका छिरिङ जिल्लाकै नमुना कृषकको रूपमा परिचित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह