Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

दावाफिन्जो तामाङको भेडीगोठदेखि राष्ट्रिय पञ्चायतको उपाध्यक्षसम्मको यात्रा

दावाफिन्जो तामाङको भेडीगोठदेखि राष्ट्रिय पञ्चायतको उपाध्यक्षसम्मको यात्रा
त्रिशूली प्रवाह
२ साल अगाडी
  • विश्वास नेपाली

दावाफिन्जो तामाङ राष्ट्रिय राजनीतिको उच्च पदमा पुगेका तामाङ समुदायका अग्रणी व्यक्तित्व हुन् । उनीपछि तामाङ समुदायबाट पहिलोपटक मन्त्री बन्ने तिलकबहादुर नेगी (मकवानपुर) हुन् ।

दावाफिन्जोको जीवनी ‘भेडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म’ खेमराज गोले र पेमा मोक्तान तामाङद्वारा लिखित र ताम्सालिङ नलेज सेन्टरद्वारा प्रकाशित पुस्तक पढ्ने साह्रै हुटहुटीका बीच प्रिय मित्र रसुवाली कविले उपलब्ध गराइदिएका थिए, उनीप्रति कृतज्ञ छु । दुर्गम ठाउँ अनि तामाङ समुदायमा जन्म । सङ्घर्ष गर्दै राष्ट्रिय पञ्चायतको उपाध्यक्ष हुनु दावाफिन्जोका लागि चानचुने कुरा थिएन । राजनीति सहज र सजिलै गर्न सकिने यात्रा होइन भन्ने बुझ्न दावाफिन्जोलाई पढ्नुपर्छ । यस आलेखमा उनैको पुस्तकांशका केही मुख्य भाग चर्चा गर्ने कोसिस गरेको छु ।

दावाफिन्जो र जीवन
वि.सं. १९९४ साउन ४ मा रसुवाको सानुभार्खु (गोसाइँकुण्ड गाउँपालिका– ५) मा दावाफिन्जोकोे जन्म भयो । यो लेख तयार गर्दै गर्दा ८७ वर्षीय दावाफिन्जोसँग केही संवाद भयो । आजभोलि उनी सानुभार्खुस्थित आफ्नै गाउँमा छन् । उनले राणा, प्रजातन्त्र, बहुदल र गणतन्त्र सबै शासन देखे र अनुभूत गर्न पाए । उनी किसान र गोठाला थिए । हर्क गुरुङ लेख्छन्– सन् १९७३ मा गोसाइँकुण्डको यात्राको क्रममा दावाफिन्जो तामाङले आफ्नै बारीमा फलाएको स्याउले स्वागत गरे । उनी जिल्लामा सरकारी बागवानी प्रसारण कार्यक्रमको फाइदा उठाउने पहिलो साहसी किसान थिए । रसुवामा कतै विद्यालय नखुलेकाले हिरालाल नेवारलाई शिक्षकको रूपमा घरमै राखेर दावाफिन्जोको पढाइको बन्दोबस्त बुबाले गराइदिए । उनी तमसुकसम्म लेख्न सक्ने भएपछि अङ्ग्रेजी पढ्न भनेर नुवाकोट झरे । केही समय पढे र बीचमै फर्के ।

राजनीतिक जीवन
दावाफिन्जो ०१५ मा डा. के.आई. सिंहको पार्टीको चुनावी अभियानमा जोडिए । तर, त्यो समयमा नेपाली काङ्ग्रेसले चुनाव जित्यो, बिपी कोइराला प्रधानमन्त्री बने । ०१७ मा युवक सङ्गठनको सभापति भए । त्यो समय राजनीतिमा लाग्ने बिग्रन्छन् भन्ने सोच थियो । राजा महेन्द्रले ‘कु’ गरेर बिपी र उनका पार्टीका नेतालाई जेल हालेपछि त झन् मानिसमा राजनीति गर्नुहँुदैन, जेल परिन्छ भन्ने भ्रम प¥यो । उनी पहिले जिल्ला पञ्चायत सदस्य चुनिए । तर, पहिलो कार्यकालमै जिल्ला पञ्चायत सभापति बनेका लयुल तामाङ राष्ट्रिय पञ्चायत सदस्यमा गएपछि सभापतिको कार्यभार दावाफिन्जोकै काँधमा आइप¥यो । अचम्म त के भने दावाफिन्जो सभापति हुँँदा बुबा डिण्डु वाङ्दी प्रधानपञ्च थिए । बाबुछोरा नै राजनीतिमा लाग्दा घर–गोठ चल्दैन भनेर परिवारमा दबाब बढ्न थाल्यो । बुबाले प्रधानपञ्चबाट राजीनामा दिए । आफ्नै बुबाको राजीनामा सभापतिको हैसियतले दावाफिन्जोले नै स्वीकृत गर्नुप¥यो । उतिबेला रसुवामा राजनीतिक चेतनाको विकास अहिले जस्तो थिएन । सभापति र राष्ट्रिय पञ्चायत उपाध्यक्ष हुँदा पनि खासै वास्ता गर्दैन थिए । सबै सोझा थिए । गोठालो र खेतीपातीकै दिनचर्या । गोठको सङ्ख्या धेरै हुनु नै सम्पन्नताको सूचक मानिथ्यो ।

रसुवा र भूगोल
पहिले रसुवा, धादिङ र नुवाकोट एउटै जिल्लाअन्तर्गत थियो, जसलाई पाँच सय खोला (पश्चिम १ नम्बर) भनिन्थ्यो । पछि राम्चेभन्दा माथि र पारिपट्टिका डाँडागाउँपारिका खोला, किम्ताङ, खनियाँबास र छाप पञ्चायत रसुवामा राखियो । राम्चेभन्दा तल नुवाकोट पर्दथ्यो । ०३० मा वर्तमान रसुवाको भूगोल बनेको हो । रसुवामा ६ मात्र गाउँ पञ्चायत थिए । पछि १४ हुँदै १८ गाविस भयो । अहिले पाँच गाउँपालिकामा भूगोल विभाजित रहेको छ ।

सदरमुकाम धुन्चेमा सार्दाको दुःख पीडा
०२१ भन्दा पहिले सदरमुकाम स्याफ्रुमा थियो । ०२१ मा राजा महेन्द्रले भूमिसुधार लागू गरेपछि बी.बी. सुब्बा मालपोतमा खटिएर आए । सदरमुकाम पुग्न ठूलोभार्खुको ठूलो भिर पार गर्न गाह्रो थियो । बी.बी. सुब्बाले दावाफिन्जोलाई सदरमुकाम धुन्चे सार्न सल्लाह दिए । त्यसै भयो । सदरमुकाम धुन्चे सारेकोमा धुन्चेवासी खुसी भएनन् । रिसाए । घर भाडामा दिन मानेनन् । भवन बनाउन जग्गा दिएनन् । कार्यालय कहाँ राख्ने, भवन कहाँ बनाउने ? पिरलो धेरै पछिसम्म रहिरह्यो । धुन्चेवासीले विरोध जारी राखेपछि सदरमुकाम तल कालिकास्थानमा सार्ने चर्चा पनि चल्यो । तर, दावाफिन्जोले मितबा, मामालगायतसँग हारगुहार र सहयोग लिएर धुन्चेमै टिकाए । ०२२ को जिल्ला सभा पहिलोपटक धुन्चेमा भएको थियो । सभापति भएपछिको पहिलोपटक सरकारी बजेट ३० हजार रुपैयाँ आयो । त्यो बजेटले सिडिओ र सभापतिको भवन बनाए । १२ वर्षसम्म जिल्ला पञ्चायतको सभापति भएर काम गर्दा पनि उनले पारिश्रमिक लिएनन्, बरु विकासमा खर्च गरे ।

राजा वीरेन्द्रमार्फत राजदरबारसँग जोडिएको सम्बन्ध
०२७ मा तत्कालीन युवराज वीरेन्द्र रसुवा भ्रमणमा आएका रहेछन् । उतिबेला अहिलेजस्तो गाडीको सुविधा थिएन । दावाफिन्जो चन्दनबारीमा ऊन काढ्दै थिए । वीरेन्द्र सरकार आएको खबर भान्जीमार्फत उनले पाए । भान्जी स्याफ्रुमा कारागारमा काम गर्ने भएकीले थाहा पाइछिन् । खबर थाहा पाउनेबित्तिकै उनी स्याफ्रु झरेछन् । उनी स्याफ्रु झरे, तर वीरेन्द्रको टिम भने गोसाइँकुण्डतर्फ उकालो चढिसकेछ । उनी पछ्याउँदै गए । उकालोमा सैनिकको टिम भेटियो । अघि जान दिएनन् । छोटो बाटो हुँदै माथि पुगेर कुरेर बसे । युवराज सैनिक टोलीको बीचमा रहेछन् । सरकार भन्दै फूलको गुच्छाले दावाफिन्जाले वीरेन्द्रलाई स्वागत गरे । सबै छक्क परे । युवराज भनेर चिन्ने को रहेछ यो ? तिमी को हौ ? एडिसी ताराबहादुरले सोधे । म यो जिल्लाको सभापति हुँ । ए, लौ तपाईंसँग भेट भयो, खुसी लाग्यो । यति भनेर बिदा गरेछन् । दावाफिन्जोले होइन हजुर बाटो अप्ठ्यारो छ । थाहा पाइहालेँ, भोलि केही भइहाल्यो भने मलाई अप्ठ्यारो पर्छ । सरकारसँगै जान पाऊँ ! ताराबहादुरले हुँदैन भनेर रोके । तर, भ्रमण दलमा रहेका कर्णेल र डाक्टरबीचमा खासखुस सल्लाह भयो र सरकार आएको कसैलाई नभन्नु, तर अब सँगै हिँड्नु भनियो ।
टोली ठूलोस्याफ्रुमा पुग्दा दावाफिन्जोकै काकाको घरमा पुग्यो । त्यहीँ बस्ने होला भन्ने ठानी खाना बसाल्नै लाग्दा ताराबहादुरले लात्तीले हानेर भाँडै हु¥याइदिए । किन राजा आएको हल्ला गरेको ? अब उनीहरू त्यहाँ नबस्ने भए । उकालो लागे । दावाफिन्जोलाई चिन्ता लाग्यो । बाटोमा अन्यत्र बस्ने ठाउँ छैन । जे त पर्ला भनेर चामल, आलु, डेक्ची, डाँडु र पन्युसहित भरिया लिएर उकालो लागे । बाटोमा दावाफिन्जोको फुपूले फूलको गुच्छाले राजाको स्वागत गरिन् । ताराबहादुरले फेरि दावाफिन्जोलाई हकारिहाले । झन् कसैलाई नभन्नु भनेको कसरी थाहा पाए यी सबैले ? उनले जुक्ति निकाले र भने यहाँका मानिसलाई लाग्छ कि बन्दुक बोकेर आउने सरकारका मान्छे हुन् । स्वागत गर्ने चलन छ हजुर । सबै चुप लागे । गोसाइँकुण्डसम्म पुग्न अप्ठ्यारो अनि उकालो बाटो । बाटोमा के खाने र कहाँ बस्ने भन्नेसम्मको टुङ्गो नभई युवराज वीरेन्द्रको सवारी भएको रहेछ ।

तर, दावाफिन्जोले जति सहयोग गर्दा पनि खुसी भएका थिएनन् एडिसी । यी सबैलाई मसिनोसँग ध्यान दिइरहेका वीरेन्द्र भने दावाफिन्जोसँग साह्रै खुसी भएछन् । युवराजको भ्रमणमा कुनै कुरामा कमी हुन नदिन उनले भरमग्दुर प्रयास गरे । उनको सहयोगी र मिजासिलो व्यवहारबाट युवराज वीरेन्द्र अझ बढी खुसी भए । यही भ्रमणले उनलाई दरबारसँग सम्बन्ध नजिक बनायो । उनी सोझै दरबार आउजाउ गर्न सक्ने हैसियतमा पुगे । दरबारले समय–समयमा बोलाइरहन्थ्यो, दावाफिन्जो गइरहन्थे । सम्बन्ध यतिसम्म नजिक भयो कि जिल्लाको विकासका लागि कुनै योजना माग गर्दा दावाफिन्जोले माग गरेको केही पनि नरोकी तुरुन्त स्वीकृत हुन्थ्यो । ०३१ साउन १४ गते उनले आफैँले फलाएका १५ दाना स्याउ लिएर राजदरबार पुग्दा खुसी भई स्याउ प्राप्त भयो भन्ने व्यहोराको पत्र दरबारबाट पाएको उनले आफ्नो पुस्तकमै राखेका
छन् ।

राष्ट्रिय पञ्चायतको उपाध्यक्ष र विकासमा योगदान
०३१ सालमा गाउँफर्क राष्ट्रिय अभियानको बागमती अञ्चल समितिमा राजाले ६ जना मनोनीत गर्दा दावाफिन्जो पनि परे । पछि त्यसको सभापति पनि भए । ०३८ मा राष्ट्रिय पञ्चायतको सदस्य हुँदै उपाध्यक्ष निर्वाचित भए । रसुवालाई मात्रै होइन, तामाङ समुदायको हितका लागि धेरै काम गरे । उतिबेला पञ्चायतका सदस्यले ८० हजार पाउँथे । त्यो रकम पनि विकासमै खर्चिए । उनकै पहलमा विद्यालय स्थापना भए । बाटो बने । पासाङल्यामु सडक (बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रु हुँदै सोमदाङसम्म) गणेश हिमालमा रहेको जस्ताखानीबाट सामान ढुवानी गर्न खोलिएको थियो । सोमदाङमा जस्ताखानी पत्ता लगाउने चक्रवर्ती भन्ने बङ्गाली थिए । पहिले सडक धुन्चेपारिबाट लान धेरै प्रयत्न भयो । तर, उनले सदरमुकाम क्षेत्रबाटै सडक लान अडान राखे । राजा वीरेन्द्र रिसाए पनि । सबैलाई मनाएर सडक बाटो धुन्चे सदरमुकाम हुँदै माथि लैजाने स्वीकृति पाए । एकताका रसुवामा भोकमरी समस्या देखा पर्न थाल्यो । दावाफिन्जो विश्व खाद्य सङ्गठनमा सहयोग माग्न पुगे । थापाथली गोदामबाट गहुँ र मकै लगेर अन्न वितरण गर्दै बेत्रावतीदेखि रसुवागढीसम्म घोडेटो बाटो खन्न लगाए । बाटो पनि बन्यो, भोकमरी समस्या पनि ट¥यो । स्याफ्रुदेखि लाङटाङ जाने बाटो पनि दावाफिन्जोले स्थानीयलाई अन्न वितरण गरेर नै खन्न लगाएका थिए ।

राजनीतिमा लाग्न नयाँ पिँढीलाई दावाफिन्जोको सन्देश

दावाफिन्जो रसुवाको राजनीतिमा पैसा हुनेले रजाइँ गरिरहेकोमा चिन्तित छन् । उनलाई रामकृष्ण आचार्यको पैसाले विस्थापित गरेको हो । ०५४ मा भाइ सुब्बा लामा एमालेबाट संसद् उठ्दा डिबी लामाले पैसा बाँडेरै हराए । त्यसपछि सत्ता–राजनीति जो–जससँग पैसा छ, उसैको पोल्टोमा जाने गलत अभ्यास बढ्दै छ । जिल्लामा यति उचाइसम्म पुगेका दावाफिन्जोलाई अहिले पछ्याउने युवापिँढी कोही पनि देखिँदैन । राजनीतिलाई चुनाव अनि पैसा र पदसँग जोड्ने प्रवृत्ति मौलाउँदा समस्या भएको उनी बताउँछन् । विकास र समृृद्धिका लागि गर्नुपर्ने धेरै काम छन्, त्यो अघि बढाउने जिम्मा अब नयाँ पुस्ताले लिनुपर्ने दावाफिन्जाको सन्देश छ । जिल्लाको विकास र समृद्धिका लागि युवापिँढीले राजनीतिमा दिलचस्पी राख्नुपर्ने उनको इच्छा

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह