Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट बारको भवन उद्घाटनमा न्यायाधीशको दरबन्दी थप गर्ने माग

नुवाकोट बारको भवन उद्घाटनमा न्यायाधीशको दरबन्दी थप गर्ने माग
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले शुक्रबार नुवाकोट बारको भवन उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमका वक्ताले नुवाकोट जिल्लामा न्यायाधीशको दरबन्दी एउटा मात्र भएकाले मुद्दाको चाप थेग्न नसकेकाले जिल्ला अदालतमा अर्को न्यायाधीशको दरबन्दी थप गर्न माग गरेका छन् ।

अहिलेको न्यायपरिषद्ले दुईखाले न्यायपालिका बनाएको बार एसोसिएसनका अध्यक्ष घिमिरेले उद्घाटन मन्तव्यमा बताए । बार भवनको उद्घाटन गर्दै अध्यक्ष घिमिरेले न्यायपरिषद्को रवैयाको बारले विरोध गरिरहेको बताए । उनले भने, ‘कसैलाई पनि दुईखाले न्यायालय बनाउने छुट छैन । बारले यसको विरुद्ध आन्दोलन गर्नेछ ।’ अध्यक्ष घिमिरेले विभेदकारी नियमावलीविरुद्धको आन्दोलन पनि जारी रहेको र सम्पूर्ण कानुन व्यवसायी मात्र नभई सम्पूर्ण न्यायालयलाई सक्षम बनाउन बार लागिपरेको बताए । अध्यक्ष घिमिरेले पछिल्लो समय कानुन व्यवसायीलाई करको दायरामा जोड्दै लगेको बताउँदै भने, ‘गत आर्थिक वर्षमा कानुन व्यवसायीबाट मात्र एक अर्बभन्दा बढी कर राज्यलाई तिरेका छौँ ।’ कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीले न्यायालयलाई सक्षम बनाउन सबै पक्ष सबल र सक्षम हुनु आवश्यक रहेको बताए । उनले अनुसन्धान गर्ने प्रहरी, अभियोजन गर्ने सरकारी वकिल र डिफेन्स गर्ने प्राइभेट वकिल सक्षम भए मात्र न्याय पर्ने बताए । कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुधीर कर्ण र उषा राई, महासचिव रञ्जिता खनाललगायतले पीडितको न्यायका लागि कानुन व्यवसायी र न्यायालय एक–अर्काका परिपूरक भएकाले सहकार्य सदैव जरुरी रहेको बताए । कार्यक्रममा नुवाकोट जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीले जिल्लामा न्याय सम्पादनमा कानुन व्यवसायीको साथ र सहकार्य सुमधुर रहेको बताए ।

कार्यक्रममा नेपाल नोटरी पब्लिक एसोसिएसनका अध्यक्ष वसन्त बस्नेतले नुवाकोट जिल्ला अदालतमा अर्को न्यायाधीशको दरबन्दी थप गर्न माग गरे । उनले नुवाकोट, धादिङ, रसुवा र सिन्धुपाल्चोकलाई पायक पर्ने नुवाकोट भएकाले पाटन उच्च अदालतको इजलास पनि नुवाकोटमा राख्न आवश्यक रहेको बताए । कार्यक्रममा नुवाकोट बारमा निवर्तमान अध्यक्ष देवराज कँडेलले भवन निर्माणका लागि सहयोग गर्ने सम्पूर्ण दातालाई धन्यवाद दिए । ०७३ सालमा निर्माण थालिएको भवनको हालै निर्माण सम्पन्न भएको हो । पाँच आना जग्गामा निर्माण भएको भवनको लागत ६६ लाख ३४ हजार रहेको नुवाकोट जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष राजाराम थपलियाले बताए । कार्यक्रममा भवन निर्माणका लागि रकम प्रदान गर्नेलाई सम्मानपत्र प्रदान गरिएको थियो । केही सरकारी निकायसहित भवन निर्माणका लागि झन्डै दुई सयजनाले रकम प्रदान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह