ओखरपौवा माविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

  • त्रिशूली प्रवाह
  • १९ पुष २०८०, बिहीबार १२:०२

ककनी, जलुकेनी निर्माण सेवा प्रा.लि.ले नुवाकोटको ककनी गाउँपालिका–१ मा रहेको ओखरपौवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

ओखरपौवाका नरेन्द्रप्रसाद फुँयाल अध्यक्ष रहेको निर्माण कम्पनीका प्रबन्ध–निर्देशक राजेश फुँयाल, त्यसै विद्यालयमा अध्ययनरत कम्पनीका निर्देशक सुशील फुँयाल र लेखा प्रमुख हरेराम फँुयालको उपस्थितिमा कम्पनीले गत बुधबार कार्यक्रम गरेर विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । पूर्वप्राथमिकदेखि माध्यमिक तहका १६ जना गरिब, जेहेनदार, जनजाति र दलित समुदायका विद्यार्थीलाई एक शैक्षिक सत्रमा शैक्षिक गतिविधिका लागि आवश्यक पर्ने ७४ हजार आठ सय ४० रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद फुँयालको रोहवरमा कम्पनीको तर्फबाट विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो । छात्रवृत्तिले विद्यार्थीलाई शैक्षिक गतिविधि सञ्चालनमा सहजता ल्याउने र त्यसले सिकाइप्रति अभिप्रेरणासमेत जागृत गर्ने प्रधानाध्यापक फुँयालले बताए ।

निर्माण व्यवसायी सङ्घ नुवाकोटका महासचिवसमेत रहेका कम्पनीका निर्देशक सुशील फुँयालले छात्रवृत्तिले विद्यार्थीको शैक्षिक उन्नयनमा सहयोग गर्ने विश्वास व्यक्त गरे । साथै, उनले यो अभियानलाई सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक कार्यक्रममै समावेश गरी निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएका छन् । निजी स्रोतबाट सञ्चालित उक्त विद्यालयमा तीन सय ४० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । जलुकेनी निर्माण सेवा प्रा.लि.ले विगतदेखि नै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमणमा सहयोग गर्दै आइरहेको थियो ।