भैरवी सहकारीको चारवर्षे रणनीति योजना तर्जुमा

  • त्रिशूली प्रवाह
  • १९ पुष २०८०, बिहीबार १२:१३

धादिङबेँसी, धादिङमा क्रियाशील उत्कृष्ट सहकारीमध्येमा पर्ने भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीको चारवर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

कोभिडपछि विश्व अर्थतन्त्रमा परेको प्रभावको कारण पछिल्लो समयमा केही सहकारीमा देखिएको समस्याले भैरवी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक गम्भीर भएर छलफल गरेका छन् । कोभिडपछिको सुस्ताएको आर्थिक गतिविधिलाई सहकारीका सञ्चालकले सूक्ष्म ढङ्गले छलफल गरेर पुस १४ र १५ गते दुई दिन लगाएर चारवर्षे रणनीतिक योजनाको खाका तयार पारेका छन् । भैरवी साकोसका सञ्चालक समितिका पदाधिकारी तथा सदस्य, उपसमितिका सदस्यहरू, सल्लाहाकार र कर्मचारीको उपस्थितिमा भएको गोष्ठीमा प्रशिक्षक अनिलवीर बज्राचार्यले प्रशिक्षण र सहजीकरण गरेका थिए । गोष्ठीले ‘आर्थिक, सामाजिक तथा व्यावसायिक उन्नतिका लागि, पहिलो रोजाइ भैरवी सहकारी’ परिकल्पना तयार पारेको छ । ०५७ सालमा स्थापना भएको भैरवी सहकारीको ०८० असारसम्म दुई हजार चार सय १८ जना सेयर सदस्य, तीन करोड दुई लाख १३ हजार एक सय सेयर पुँजी, १६ करोड ७६ लाख ६५ हजार नौ सय ४२ रुपैयाँ कर्जा लगानी २५ करोड ७७ लाख २६ हजार एक रुपैयाँको कारोबार रहेको सहकारीका महासचिव राजकुमार श्रेष्ठले जानकारी गराए । सहकारीले ०८४ सम्म सेयर सदस्यता चार हजार दुई सय ७१ जना, सेयर रकम पाँच करोड र बचतलाई समयानुकूल वृद्धि गर्नुका साथै ४० करोडको कारोबार गर्ने लक्ष्य बनाएकोसमेत महासचिव श्रेष्ठले जानकारी गराए ।

सेयर सदस्यको गम्भीर रोगको उपचार तथा दुर्घटनाबाट घाइते भई अप्रेसन गराउनुपरेको खण्डमा बढीमा ३५ हजार रुपैयाँसम्म भुक्तानी गर्न सेयर सदस्य उपचार कोषको व्यवस्था गरिएको छ । पाँच प्रकारका बचतमा आकर्षक ब्याज भुक्तानी र सात प्रकारका कर्जा लगानीमा सुलभ ब्याजदर रहेको सहकारीले स्थापना कालदेखि हालसम्म केही सेयर सदस्यले लगानीको साँवा–ब्याज भुक्तानी नगरेको कारण संस्थाको खुद मनाफा, कर्जा जोखिम कोषमा छुट्याउनुपरेकाले गत आ.व.मा ७.२७ प्रतिशत मात्र लाभांश वितरण गरेको थियो । यस वर्ष दाहोरो अङ्कको मुनाफा वितरण गर्न असुलीतर्फ ध्यान दिनुपर्ने भएकाले, जस्तोसुकै कदम चाल्नुपरे पनि आफू पछि नहट्ने भन्दै कर्जा भुक्तानी नगर्ने सदस्यलाई अध्यक्ष गणेशकुमार श्रेष्ठले चेतावनी दिँदै कर्जा असुलीमा कठोर बन्ने बताए ।