विदुर, नेपाली सेनाले गोरखाबाट शनिबार सुरु गरेको एकीकरण पदयात्राको टोली मंगलबार नुवाकोट दरबार आइपुगेको छ । विदुर नगरपालिका–२ नुवाकोट दरबार आइपुगेको टोलीलाई नुवाकोट जिल्लामा स्थानीयले भव्य स्वागत गरेर बिदाइ गरेका छन् ।
शनिबार बिहान गोरखाबाट यात्रामा निस्केका सैनिक टोलीलाई नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी सन्तोषवल्लभ पौडेल र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले टर्च दिएर बिदाइ गरेका थिए । नेपालको राष्ट्रिय झण्डा, टर्च बोकेर नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज)को झण्डासहित नेपाली सेनाको टोली गोरखा दरबारबाट हिँडेको थियो । टोलीमा नेपाली सेनाको परम्परागत पोसाक (काली कपडा)मा सजिएका १० जना र हालको कार्यालय पोसाकमा २० जना सैनिक सहभागी भएका थिए । नेपाल एकीकरण र नेपाली सेनाको इतिहाससँग जोडिएका ऐतिहासिक गढी, कोट, किल्ला, कोसेढुङ्गा (हरेक कोष–कोषमा गाडिएको ढुङ्गा) पाटी, पौवा र ऐतिहासिक चिजको खोजी र ती क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने सेनाको नीति छ । नेपाली सेनाको आयोजनामा भएको यो चौथो पदयात्रा हो ।
पदयात्राको टोलीले गोरखा जिल्लाभित्र रिपुमर्दन गणले नेतृत्व गर्दै टर्च र झण्डा धादिङ जिल्लामा तैनाथ शिवदल गणलाई हस्तान्तरण गर्दै धादिङको टोलीले धादिङ जिल्ला सकिएपछि नुवाकोट जिल्लाको जब्बरजंग गणको टोलीलाई उक्त झण्डा र टर्च हस्तान्तरण गर्ने कार्यक्रमअनुसार सोमबार नुवाकोटको टोलीलाई हस्तान्तरण भएको थियो । धादिङ र नुवाकोटको सिमाना भ¥याङभुरुङदेखि सामरी हुँदै बगुवा–हात्तीगौँडा–शुभघाट–गेर्खुटार हुँदै नुवाकोटको कालिका मन्दिरसँगैको महामण्डल डाँडामा विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाली सेनाको नं. ६ बाहिनी अड्डा बैरेनीका सहायक उपरथी रामचन्द्र कार्की, विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीसहित नागरिक अगुवा, स्थानीयवासीको सहभागितामा मंगलबार नुवाकोट दरबारपरिसरमा स्वागत गरिएको थियो । पञ्चेबाजा, नेपाली सेनाको ब्यान्डबाजा बजाउँदै आएको टोलीलाई स्वागत गरी नुवाकोटबाट उक्त टोलीलाई मंगलबार नै बिदाइ गरिएको थियो । उक्त टोली नुवाकोट दरबार हुँदै चतुरालेबाट रानीपौवा बुधबार पुगेको थियो । टोलीले आज बिहीबार ककनी गाउँपालिकाको नुवाकोट–काठमाडौं सिमाना ओखरपौवामा काठमाडौंबाट आएको कालीध्वज गणलाई टर्च, झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको जब्बरजंग गणका गणपति चिरञ्जीवी पौडेलले जानकारी दिए । विदुर नगरपालिका– २ ले विदुर नगरपालिकासँग समन्वय गरेर स्वागत कार्यक्रम गरेको वडाध्यक्ष दीपक कायस्थले बताए । वर्तमान नेपाल निर्माणमा पृथ्वीनारायण शाहको ठूलो योगदान रहेकोले उनको स्मरण हामी सबै नेपालीले गर्नुपर्नेसमेत उनले बताए ।
नुवाकोटमा भएको स्वागत कार्यक्रममा स्थानीय नागरिक अगुवा कुशबहादुर डङ्गोलले राष्ट्रिय विभूति पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारको क्रममा धादिङ, नुवाकोट हुँदै काठमाडौं हमला गरेको इतिहासको विविध पक्षको व्याख्या गर्दै उनलाई सम्झनुपर्ने बताए । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले छरिएर रहेको नेपाल राज्यलाई एकीकृत गरी वर्तमान नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको इतिहासलाई जगेर्ना गर्दै तत्कालीन उनी हिँडेको बाटोलाई पदमार्ग बनाएर पर्यटन प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । उक्त कार्यक्रमका सभापतित्व एवम् विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले भने, ‘पृथ्वीनारायण शाह र नेपाली सेनाको गौरवमय इतिहास जोडिएको यस महान् कार्यक्रममा हामी पनि सहभागी हुन पाउँदा गर्व लागेको छ । यसलाई एकीकरण पदमार्गको रूपमा विकास गर्ने हाम्रो योजना छ ।’ नुवाकोट नेपाल एकीकरणको पहिलो पाइला चालेको र जितेको भूमि हो । यहाँबाट जितेपछि नेपाल एकीकरणले तीव्रता पाएको हो । कार्यक्रममा उपस्थित हुनुभएका ६ नं. बाहिनी अड्डा धादिङका प्रमुख सहायकरथी रामचन्द्र कार्कीले त्रिशूली प्रवाह साप्ताहिकसँग भने, ‘वर्तमान नेपाल निर्माणमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ठूलो योगदान छ । उनले नेपाली सेनाको पनि त्यही बेला निर्माण गरेका थिए । नेपाल एकीकरणसँग सम्बन्धित कोट किल्लाको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व हो । सोहीअनुरूप यो पदयात्रा भएको हो ।’






प्रतिक्रिया