+
Search

ताजा अपडेट +

पपुलर +

प्राविधिक जनशक्तिको अभावमा मत्स्य अनुसन्धान प्रभावित

प्राविधिक जनशक्तिको अभावमा मत्स्य अनुसन्धान प्रभावित
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर, नेपालमा रेन्बो ट्राउट माछा सफल अनुसन्धान र विकासको कारण चर्चा कमाएको मत्स्य अनुसन्धान केन्द्र त्रिशूली नुवाकोट यतिबेला प्राविधिक जनशक्तिको अभावमा यसले गर्ने खोज, अनुसन्धान र उत्पादनका कार्यक्रम खुम्चिएको छ ।

०२७ माघमा लाङटाङ ट्राउट ह्याचरी नामले स्थापना भएको हालको मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीले नेपालको हावापानीअनुकूल रैथाने जातको असला र सहर जातको माछाको प्रविधि विकास र विस्तार गर्ने श्रेय पनि जान्छ । नेपालमा जापानबाट रेन्बो ट्राउट माछाको अण्डा कोसेलीको रूपमा ल्याएर मत्स्य अनुसन्धान केन्द्र त्रिशूली र ललितपुरको गोदावरीमा भुरा उत्पादन सुरु गरेको थियो । गोदावरीमा रेन्बो ट्राउट माछाका लागि पानी र तापक्रमअनुकूल नभएपछि त्रिशूलीमा मात्र ट्राउट माछाको एक दशक लगाएर भुरा उत्पादन, माउ माछा उत्पादन, दाना र बिडिङको अनुसन्धान गरेर सफल भएको यो केन्द्रलाई अहिले सरकारले प्राथमिकतामा राखेको छैन । यसले अनुसनधान र विकास गरेको प्रविधि र माछाको भुरा कृषक हुँदै व्यावसायिक उत्पादनसम्म आइपुगेको हो । तत्कालीन कृषि विभागबाट डा. टेकबहादुर गुरुङ मत्स्य प्रविधिको अनुसन्धानका लागि जापान गएर फर्कँदा जापानले रेन्बो ट्राउटको आँखा उम्रेका फुल (अन्डा) कोसेलीको रूपमा ल्याएर गोदावरी हुँदै त्रिशूली वर्षौँ लगाएर अनुसन्धान गरिएको थियो ।

त्रिशूलीमा ट्राउटको माछा प्रविधि सफल अध्ययन–अनुसन्धानपश्चात् नुवाकोटको ककनीका कृषक गोपालबहादुर लामा हुँदै हाल देशको ४० जिल्लामा विस्तार भई व्यावसायिक उत्पादन भइरहेको छ । नुवाकोटमा यो माछाको व्यावसायिक, विकास, विस्तार गर्न नुवाकोट उद्योग वाणिज्य सङ्घले २०६१ देखि नेपाल उद्योग वाणिज्य महासङ्घ र कृषि मन्त्रालयको सहयोगमा परियोजना केही वर्ष सञ्चालन गरेको थियो । सङ्घको सहयोगले रेन्बो ट्राउट माछाका भुरा, दाना, अन्डा, माउ माछा उत्पादन र विस्तार नुवाकोट हुँदै देशको ३४ जिल्लामा पुगेको मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीका पूर्व केन्द्र प्रमुख एवम् मत्स्य वैज्ञानिक साधुराम बस्नेतले जानकारी दिए । रेन्बो ट्राउट माछा र स्थानीय रैथाने जातको असला र सहर माछाको सफल अनुसन्धान, उत्पादन र प्रविधि विकास गरी देशभरि फैलाउन सफल केन्द्र अहिले प्राविधिक जनशक्तिको अभावमा थलिएको जानकारी पाउँदा दुःख लागेको उनले बताए । नेपाललाई माछामा आत्मनिर्भर बनाउन सकिने भए पनि सरकारले ध्यान नदिँदा विगतमा विदेशी दातृ निकायले बनाइदिएको भौतिक पूर्वाधारसहितको संरचना हुँदाहुँदै पनि प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न नसक्दा थलिएको छ । विगतमा खुलेका यस्ता कृषि क्षेत्रका एक दर्जनभन्दा बढी अध्ययन र अनुसन्धान केन्द्र अहिले प्राविधिक जनशक्ति र बजेटको अभावमा बन्द हुँदै गएका छन् ।

समुद्री सतहबाट ६ सय १० मिटरको उचाइमा रहेको मत्स्य अनुसन्धान केन्द्र त्रिशूली काठमाडौंबाट ७५ किलोमिटर उत्तर, पश्चिम र नुवाकोट जिल्ला सदरमुकामबाट ३ किलोमिटर उत्तरमा रहेको छ । यो केन्द्र आ.व. ०३२/३३ मा कृषि विभागअन्तर्गत मत्स्य विकास केन्द्रबाट ट्राउट ह्याचरीमा परिवर्तन हुँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को ऐन २०४८ मा जारीपछि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कृषि अनुसन्धान केन्द्र (माछापालन)का लागि स्रोत केन्द्रको रूपमा समेत रहेको थियो । आ.व. ०७१/७२ देखि सरकारले यो केन्द्रलाई मत्स्य अनुसन्धान केन्द्रका रूपमा अगाडि बढाइरहेको छ । केन्द्र स्थापनादेखि नै जाइका र जे.ओ. सिभीले लगानी गरी जनशक्तिको क्षमता अभिवृद्धि र भौतिक पूर्वाधार सुदृढीकरणका लागि प्राविधिक र आर्थिक सहयोग गर्दै आवश्यक सम्पूर्ण पूर्वाधार र प्राविधिक दक्ष जनशक्ति तयार गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । नेपाल सरकारलाई हस्तान्तरणसँगै मत्स्य अनुसन्धान केन्द्रमा खोज, अनुसन्धान र सर्भेका लागि सरकारको बजेट र जनशक्ति उपलब्ध गराउन नसक्दा यो केन्द्र अहिले पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

२४ जना प्राविधिक र प्रशासनिक जनशक्तिको दरबन्दी भए पनि अहिले १० जनाको भरमा केन्द्र सञ्चालन भइरहेको छ । केन्द्रले अनुसन्धान, उत्पादन गर्दै कृषकलाई माछाको भुरा, प्रविधि र प्राविधिक सहयोग आवश्यकताअनुसार केन्द्रको क्षमताले भ्याएसम्म दिइरहेको केन्द्र प्रमुख ईश्वरीसिंह महतोले बताए । आठ हेक्टर अर्थात् एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको यो केन्द्रमा रेन्बो ट्राउट माछाको ४४, ट्राउट नर्सरी पोखरी २५, ट्राउटको अनुसन्धान गर्ने पोखरी १२, कार्प माछाको पोखरी १२, कार्प अनुसन्धानको लागि पोखरी १२ गरी एक सय पाँचवटा पोखरी रहेको जानकारी केन्द्र प्रमुख महतोले दिए । केन्द्रमा दाना स्टोर, फिड ड्रायर र फिड मेसिन (दाना उत्पादन) घर छुट्टाछुट्टै रहेको छ । केन्द्रबाट ट्राउट माछा र अन्य स्थानीय जातका रैथाने माछाको विकसित प्रविधि कृषकलाई हस्तान्तरण गरी उत्पादन वृद्धिमा सहयोग गरिरहेको छ । ट्राउट माछाको अनुवांशिक सुधारमा नुवाकोट र नुवाकोटबाहिर जिल्लामा फरक–फरक वातावरणमा हुर्काइएका रेन्बो ट्राउट माछाका माउ भाले र पोथी सङ्कलन गरी प्रजनन गरेर प्राविधिकले अनुगमन गरेर राम्रो माउ तथा भुरा माछा किसानलाई वितरण केन्द्रले गरिरहेको छ, ट्राउट माछाको उत्पादन लागत घटाउनेबारे विगतदेखि दानामा प्रयोग हुने कच्चा पदार्थ सिद्रालाई गहुँको ग्लुटिनले प्रतिस्थापना गरी दाना तयार गरिरहेको केन्द्रले कृषकको फार्ममा गएरसमेत अनुसन्धानलाई निरन्तरता दिइरहेको छ ।

पूर्वाधारले परिपूर्ण यस केन्द्रले स्थानीय जातको सहर, कत्ले, असला, कार्प जातको माछाको सङ्कलन गरी संरक्षण र अनुसन्धान कार्यसमेत गर्दै आएको छ । चिसो, तोतो पानी सहन सक्ने र धान खेतमा राम्रै माछापालन गर्न सकिने टिलपिया जातको माछाको भुरा केन्द्रले उत्पादन गरी कृषकलाई वितरण र बिक्री गर्दै आएको छ । केन्द्रमा प्राविधिक जनशक्तिको अभाव र सरकारले बर्सेनि बजेट कटौती गर्दा केन्द्रले माछामा गर्ने खोज, अनुसन्धान, उत्पादन र प्रविधि विकासको कार्यक्रमलाई निरन्तरता मात्रै दिइरहेको केन्द्र प्रमुख महतोले बताए । केन्द्रअन्तर्गत नुवाकोट सूर्यगढी गाउँपालिकाको गड्खार उपकेन्द्रमा कत्ले, असला जातको माछाको प्रविधि विकास गर्दै भुरा उत्पादन गरिरहेको केन्द्रलाई सरकारले बेवास्ता गरेको गुनासो स्थानीय कृषकले गरेका छन् । नेपालमा रेन्बो ट्राउट माछाको विकास, विस्तार तीव्र रूपमा भइरहे पनि अहिले यसका लागि प्राविधिक जनशक्तिको अभावले खुम्चिँदै गएको छ । त्रिशूली केन्द्रले एक्कुरियममा पाल्ने रङ्गीन जातको माछाको भुरासमेत उत्पादन गरेर बजारमा बिक्री गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह