बालाजु, नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूली बजारबाट राजधानीमा आई बसोवास गरेका व्यक्तिबाट सञ्चालनमा रहेको त्रिकास बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा काठमाडौं महानगरपालिका-१६ म्हेपी मन्दिरपरिसरमा शनिबार सम्पन्न भएको छ ।
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा समाजसेवी सहकारीका ज्येष्ठ सेयर सदस्य वंशीलाल प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा अध्यक्ष अनिलकुमार श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन पेस गरेका थिए । यस्तै, लेखा समितिका संयोजक राजुबहादुर श्रेष्ठले संस्थाको लेखा प्रतिवेदन पेस गरेका थिए । साधारणसभामा अध्यक्ष श्रेष्ठले पेस गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएअनुसार सहकारीले यस आर्थिक वर्षमा १३ करोड ५५ लाख ५५ हजार एक सय ६४ रुपैयाँको कारोबार गर्न सफल भएको छ । यस्तै, संस्थाले यस आर्थिक वर्षमा नौ करोड ९७ लाख ४२ हजार आठ सय ७१ रुपैयाँ बचत गरेको छ । संस्थाले यस आर्थिक वर्षमा कुल आठ करोड ५३ लाख तीन हजार पाँच सय लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले पछिल्लो समय सहकारीबारे बाहिर आएका समाचारसँगै मुलुकमा देखिएको आर्थिक मन्दीको अवस्थामा पनि सहकारीका सेयर सदस्यहरूले धैर्यताका साथ सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा सहकारीलाई अझ व्यवस्थित रूपमा अघि बढाउने र सेयर सदस्यको हितमा काम गर्दै जाने प्रतिबद्धतासमेत जनाए । उनले संस्थालाई आवश्यक परिमार्जन गर्दै त्रिशूलीवासीको पहुँचमा सहकारीको सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाउँदै सहकारीमार्फत मुलुकको आर्थिक विकासका लागि क्रियाीशल रहने उल्लेख गरे । अध्यक्ष श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सहायक प्रबन्धक विमलचन्द्र प्रधानले गरेका थिए ।
संस्थाका उपाध्यक्ष सुरेशबहादुर श्रेष्ठ, सचिव देशभक्त प्रधानसहित अन्य अतिथिले शुभकामना मन्तव्य राखेको कार्यक्रममा एसइई परीक्षा ०७९ मा सेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट ग्रेड ल्याई उत्तीर्ण हुने सेयर सदस्य कुमार श्रेष्ठकी छोरी सुकृति श्रेष्ठलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो । ०६४ सालमा स्थापना भएको सहकारीमा दुई हजार १८ सेयर सदस्य र दुई करोड १५ लाख ६० हजार दुई सय सेयरपुँजी रहेको छ । सहकारीले आ.व. ०७९/८० का उत्कृष्ट बचतकर्ता विजयप्रसाद श्रेष्ठ, उत्कृष्ट क्रमिक बचतकर्ता झकास समूहका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ र उत्कृष्ट ऋणीमा प्रदीपकुमार प्रधानलाई सम्मान गरेको छ । सहकारीले यसै शैक्षिक वर्षदेखि त्रिभुवन त्रिशूली बहुमुखी कलेजमा अध्ययनरत एकजना छात्र र एकजना छात्रालाई एक वर्षका लागि छात्रवृत्ति प्रदान गर्नेसमेत साधारणसभाले निर्णय गरेको छ ।






प्रतिक्रिया