+
Search

ताजा अपडेट +

पपुलर +

लायन सहकारीको अध्यक्षमा शैलेन्द्र श्रेष्ठ

लायन सहकारीको अध्यक्षमा शैलेन्द्र श्रेष्ठ
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार, नुवाकोटको विदुर नगरपालिकाभरि कार्यक्षेत्र रहेको लायन बचत तथा ऋण सहकारी संस्था लि. बट्टारको १६औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । विदुर नगरपालिका–२ का अध्यक्ष दीपक कायस्थले उद्घाटन गरेको साधारणसभाले सञ्चालक समितिसमेत सर्वसम्मत चयन गरेको छ ।

सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचन गर्ने गठित निर्वाचन कमिटीका संयोजक उत्तमराज अमात्यले दिएको जानकारीअनुसार चारवर्षे कार्यकालका लागि शैलेन्द्रकुमार श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठ यसभन्दा अगाडि सहकारीको सञ्चालक समितिको उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा महेश्वर अमात्य, सचिवमा ध्रुवप्रसाद ढकाल, कोषाध्यक्षमा लक्ष्मण श्रेष्ठ र सदस्यमा कुमारलाल श्रेष्ठ, अञ्जु रिमाल, अप्सरा श्रेष्ठ, बद्रीप्रसाद त्रिपाठी, लालप्रसाद न्यौपाने, शिवलाल श्रेष्ठ, नवराज पाण्डे निर्विरोध चयन भएका छन् । त्यसैगरी, साधारणसभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा राजु अधिकारी, सदस्यमा दीपकराज केसी र नवराज अधिकारीलाई चयन गरेको छ ।

सहकारी मूल्यमा आधारित तथा सीपमूलक आय–आर्जन कार्यक्रमलगायत आर्थिक सङ्कट टार्न सहुलियत ब्याजदरमा ऋण वितरण तथा लगानी गरी सदस्यको आर्थिक, सामाजिक अवस्थामा सुधार गर्ने उद्देश्यले ०६४ पुस ४ गते दर्ता भई सञ्चालन भइरहेको लायन बचत तथा ऋण सहकारीको आफ्नै सुविधासम्पन्न सभाकक्षसहितको कार्यालय भवन विदुर नगरपालिका–४ बट्टारबजारमा रहेको छ । सहकारी संस्थाको दीर्घकालीन हित र विकासका लागि सेयरपुँजी वृद्धि गरी पाँच करोड पु¥याउने लक्ष्य गत वर्षको साधारणसभाले पारित गरेको थियो । उक्त लक्ष्यलाई पूरा गर्न सहकारीले यस आ.व.मा सेयरपुँजी वृद्धि गरेको छ । सहकारीको आ.व. ०७८/७९ मा दुई करोड ३३ लाख ३४ हजार दुई सय सेयरपुँजीबाट ७४ लाख ५७ हजार दुई सय सेयरपुँजी वृद्धि भई आ.व. ०७९/८० को असार मसान्तसम्म तीन करोड सात लाख ९१ हजार चार सय पु¥याउन सफल भएको अध्यक्ष कुवेरमान श्रेष्ठले साधारणसभामा जानकारी दिए । सहकारीले आ.व. ०७९/८० मा आयकर व्यवस्थापछिको बाँडफाँटयोग्य कुल नाफा १२ लाख ३६ हजार पाँच सय ६५ रुपैयाँ खुद नाफा आर्जन गरेकोसमेत उनले बताए । सहकारीमा अहिले महिला पाँच सय ६२ र पुरुष आठ सय ७९ सहित कुल सेयर सङ्ख्या एक हजार चार सय ४१ रहेको छ । साधारणसभाले आ.व. ०८०/८१ मा सेयर सदस्य एक हजार सात सय ५०, सेयरपुँजी तीन करोड ७५ लाख पु¥याउने अनुमानित प्रस्ताव विवरण पारित गरेको अध्यक्ष कुवेरमान श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह