कोलनी, सारथी बचत तथा ऋण सहकारी संस्था लि. विदुर नगरपालिका-९ को ११औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गोकर्ण रोक्काको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गरेका थिए ।
मेयर श्रेष्ठले सहकारीका समस्या समाधान गर्न शुद्धीकरणमा जानुपर्ने आवश्यकता रहेको बताएका थिए ।
सहकारीका सदस्य र नेतृत्वले सुशासन र सहकारीको मर्यादाभन्दा बाहिर गएर सम्झौता नगर्ने प्रतिबद्धतासहित नयाँ ढङ्गले अगाडि बढ्न सके सहकारी क्षेत्रमा देखिएको समस्या समाधान हुनेसमेत उनले बताए । अब सहकारीले आमजनसमुदायले महसुस हुने गरी योजना बनाएर व्यवस्थित रूपमा जान जरुरी रहेकोसमेत उनले बताए । विदुर नगरपालिका–८ का अध्यक्ष कमल श्रेष्ठले सो कार्यक्रममा सहकारीभित्र आएका समस्या व्यक्तिविशेषको कारणले आएको देखिएकाले सेयर सदस्यबीचमा मात्रै कारोबार गर्न सुझाव दिए । सो कार्यक्रममा विदुर नगरपालिका– ९ का अध्यक्ष हरेराम भण्डारीले समाज रूपान्तरणको अभियानमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सहकारीले पछिल्लो समय नीति र कानुनभन्दा बाहिर गएर कारोबार गरेको भन्दै सहकारी ऐन र नियमअनुसार चल्दै सदस्यलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष शान्ति गुरुङलगायतले बोलेका थिए । कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष गोकर्ण रोक्काले अबको एक वर्षमा सहकारीका सदस्यलाई सहकारी शिक्षा, सीपमूलक तालिम प्रदान गर्ने बताए ।
कार्यक्रममा कोषाध्यक्ष राजकुमार नगरकोटीले आय–व्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समितिका संयोजक रवीन्द्र नेपालीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन छलफल गरी पारित भएको सचिव वासुदेव खड्काले जानकारी दिए । सहकारीमा चार सय ४३ सदस्य र एक करोड ४९ लाख ९२ हजार तीन सय सेयरपुँजी रहेको अध्यक्ष गोकर्ण रोक्काले बताए । सहकारीले गत आ.व.मा पुँजी तथा दायित्व १६ करोड ६१ लाख ७५ हजार एक सय २६ र सम्पत्ति तथा जायजेथा १६ करोड ६१ लाख ७५ हजार एक सय २६ रहेको वित्तीय स्थितिको विवरण लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।






प्रतिक्रिया