नुवाकोट र रसुवाका उत्कृष्ट विद्यार्थी तथा विद्यालय सम्मानित

  • त्रिशूली प्रवाह
  • २६ पुष २०८०, बिहीबार १३:२१

विदुर, यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रस्टले नुवाकोट र रसुवाका सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट ग्रेड ल्याई उत्तीर्ण हुने जिल्ला प्रथम छात्र/छात्रा र विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरेको छ ।

ट्रस्टले शनिबार नुवाकोटका चारजना छात्र/छात्रा र रसुवाका एकजना छात्रलाई नगद पुरस्कार दश हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ । सोही कार्यक्रममा नुवाकोटका दुईवटा विद्यालयका प्रधानाध्यापक र रसुवाका एकजना प्रधानाध्यापकसमेत सम्मानित भएका छन् । यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रस्टले नुवाकोट र रसुवाबाट एसइई २०७९ मा उत्कृष्ट भएका विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरेकी थिइन् । प्रमुख अतिथि कार्कीले ट्रस्टले अत्यन्त उदाहरणीय कार्य गरेको भन्दै प्रशंसासमेत गरिन् । सो कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एवम् पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका संयोजक रजिन्द्रविक्रम ठकुरी, नेपाली काङ्ग्रेस नुवाकोटका निवर्तमान सभापति एवम् संविधानसभा सदस्य तथा यशोदादेवी–भगवानसिंह मेमोरियल ट्रस्टका महासचिव जगदीश्वरनरसिंह केसीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नुवाकोटका सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम भएका पृथ्वी मावि विदुरका छात्र र छात्रा, द्वितीय भएका सहिद जगतप्रकाशजंग संस्कृति माविकी छात्रा र द्वितीय हुने पृथ्वी माविकै छात्र र रसुवाबाट सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम भएका नीलकण्ठ माविकी छात्रा एकजनासहित पाँचजना र उक्त विद्यालयका प्रधानाध्यापकलाई प्रमुख अतिथिले सम्मान गरेका थिए । ट्रस्टको प्रमुख संरक्षकमा अर्जुननरसिंह केसी, संरक्षकमा डा. नारायणनरसिंह खत्री र बद्रीनरसिंह केसी रहेका छन् । ट्रस्टले बर्सेनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयलाई सम्मान गर्दै आइरहेको छ । ०६५ मा स्थापना भएको ट्रस्टले रसुवा, नुवाकोटलगायत देशका अन्य जिल्लामा समेत सामाजिक कार्य गर्दै आइरहेको छ ।