राष्ट्रिय सभाको चार सिटका लागि बागमतीका १५ जनाको उम्मेदवारी

नुवाकोटका श्रीकृष्ण माओवादी केन्द्रको कोटामा गठबन्धन उम्मेदवार

  • त्रिशूली प्रवाह
  • २६ पुष २०८०, बिहीबार १३:२४

हेटौँडा (मकवानपुर), राष्ट्रिय सभाको रिक्त १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा बागमती प्रदेशका तीन सय ३७ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले दिएको जानकारीअनुसार तीन सय ३७ मतदाता रहेका छन् ।

बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक सय १० जना प्रदेश सभा सदस्य, बागमती प्रदेशमा रहेका एक सय १९ स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी दुई सय ३८ जना हुनुपर्नेमा एकजना पद रिक्त रहेकाले दुई सय ३७ गरी कुल तीन सय ३७ जना मतदाता रहेका छन् । दोलखाको गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको मृत्युपश्चात् पद रिक्त रहेको निर्वाचन कार्यालय हेटौँडाले जानकारी दिएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेललाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौँडाको भुटनदेवी माविको प्राविधिक शिक्षालयको भवनमा मतदान केन्द्र तोकेको छ । नुवाकोटमा राष्ट्रिय सभा निर्वाचनका लागि १२ पालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्य चारजना गरी २८ जना मतदाता रहेका छन् । बागमती प्रदेशमा चार सिटका लागि १५ जनाले सोमबार मनोनयन दर्ता गरेका छन् । बागमतीमा चार सिटका लागि निर्वाचन हुँदै छ । चार सिटका लागि १५ जनाको उम्मेदवारीले रोचक चुनावी भिडन्त हुँदै छ । जसमध्ये दलितबाट एक पदका लागि तीनजनाको, महिला, अपाङ्गता र अन्यमा एक–एक पदका लागि चार/चारजनाको उम्मेदवारी परेको छ । दलित कोटामा राप्रपाले उम्मेदवारी दिएको छैन ।
बागमती प्रदेशमा महिला, दलित, अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदाय र अन्य समूहका चार सिटका लागि निर्वाचन हुँदै छ । बागमतीमा महिला समूहतर्फ एमालेकी रोचकुमारी चौलागाईं, सत्तगठबन्धनबाट काङ्ग्रेसकी विष्णुदेवी पुडासैनी, राप्रपाकी बालकुमारी डल्लाकोटी र नेमकिपाकी कृष्णलक्ष्मी दुवालको उम्मेदवारी परेको छ ।

बागमती प्रदेशमा दलित समूहतर्फ एमालेका ध्रुवराज विश्वकर्मा, सत्तागठबन्धनबाट एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा, नेमकिपाकी संगीता नेपालीको उम्मेदवारी परेको छ । बागमती प्रदेशको अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक समुदायको समूहतर्फ चारजनाको उम्मेदवारी परेको छ । एमालेबाट विवेक देवकोटा, सत्तागठबन्धनबाट माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी, राप्रपाबाट भरतमणि भट्ट र नेमकिपाबाट हिमालयश्वरलाल मुलको उम्मेदवारी परेको छ । माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी नुवाकोट वागेश्वरीका हुन् । यसैगरी, बागमती प्रदेशको अन्य समूहतर्फ चारजनाको उम्मेदवारी परेको छ । एमालेबाट त्रिलोचन निर्मल पौडेल, सत्तागठबन्धनबाट काङ्ग्रेसका जितजंग बस्नेत, राप्रपाबाट हेमजंग गुरुङ र नेमकिपाबाट श्रीकृष्ण महर्जनको उम्मेदवारी परेको छ ।