त्रिशूली किनारमा नवौँ धादिङ महोत्सव हुँदै

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १२:१६

धादिङबेँसी, धादिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा धादिङको गजुरी गाउँपालिका–५ गलौदीको त्रिशूली नदी किनारमा नवौँ धादिङ महोत्सव माघ १० देखि सञ्चालन हुने भएको छ । सङ्घ महोत्सवको तयारीमा जुटेको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित माघ १० गतेदेखि २१ गतेसम्म नवौँ धादिङ महोत्सव हुँदै छ ।

त्रिशूली किनारमा हुन लागेको नवौँ धादिङ महोत्सवको शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएका छन् । कृषि, पर्यटन, औद्योगिक, व्यापारिक प्रदर्शनी साथै स्थानीय उत्पादनको प्रचार–प्रसार र प्रवद्र्धन गर्न र जिल्लाको सांस्कृतिक विविधताको संरक्षणमा सहयोग पुग्ने अपेक्षा रहेको धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु थपलियाले बताए । ‘महोत्सवमा एक सय ५० वटा स्टल रहनेछन् । त्यसमध्ये ५० वटा स्टल जिल्लाभित्रका विभिन्न प्रकारका सेवा र वस्तुको प्रवद्र्धनात्मक र पहिचान झल्कने गरी १३ वटै स्थानीय तहसँगको सहकार्यमा निःशुल्क प्रदान गरिनेछ,’ अध्यक्ष थपलियाले भने, ‘महोत्सवमा मुख्यतः घरेलु उत्पादन, कृषि उत्पादन, स्थानीय पहिचानसहितको वस्तु तथा सेवा प्रवद्र्धनमा जोड दिइनेछ । पर्यटनमा जलयात्रा पहिलो प्राथमिकतामा छ । महोत्सवको आम्दानीबाट सङ्घको संस्थागत विकासमा ठोस योगदान पुगोस् भन्ने उद्देश्यका साथ व्यावसायिक पुस्तकालयसहितको व्यावसायिक सूचना केन्द्र र सुविधासम्पन्न सभाहल निर्माणको योजनासहित प्रक्रिया सुरु भएको छ ।’

धादिङ उद्योग वाणिज्य सङ्घले ०६४ बाट महोत्सव गर्न थालेको हो । त्रिशूली किनारमा आयोजना गनै लागिएको यो महोत्सव नवौँ संस्करण हो । गलौदीमा तेस्रोपटक हुन लागेको महोत्सव माघ १० देखि २१ सम्म महोत्सव आयोजना हुने तालिका तय गरिएको छ । धादिङ उद्योग वाणिज्य सङ्घले त्रिशूली किनारमा यसअघि गलौदीमा ०६८ र ०७०, चरौँदीमा ०७५ मा महोत्सव सम्पन्न गरिसकेको छ ।