जिल्ला सहकारी सङ्घको वार्षिक साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १२:२६

विदुर, तीन दशकअघि स्थापना भएको जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटको ३१औँ वार्षिक साधारणसभा गत पुस २५ गते बुधबार सम्पन्न भएको छ । उक्त साधारणसभाको उद्घाटन जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले गरेका थिए ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नारायण श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनसहित आ.व. ०८०/८१ को प्रस्तावित नीति तथा कार्यक्रम चालू आ.व. ०८०/८१ को वार्षिक कार्यक्रम, ०७९/८० को लेखा परीक्षण प्रतिवेदन, विनियम संशोधनलगायतका प्रस्ताव छलफल गरी पारित गरेको छ । सो कार्यक्रममा नुवाकोट जिल्लाको सहकारीको नालीबेलीसहित सहकारीको विश्वइतिहासबारे सहकारी सङ्घका उपाध्यक्ष शिवप्रसाद अधिकारीले स्वागत गरेका थिए । नेपालमा ३२ हजार सहकारी संस्था दर्ता र ७८ लाख सेयरधनी सदस्य रहेका छन भने नुवाकोटमा पाँच सय २७ सहकारी संस्थाको ६ अर्ब रुपैयाँभन्दा बढी पुँजी परिचालन भइरहेको सङ्घका अध्यक्ष गोकर्णनाथ न्यौपानेले बताए । नुवाकोटका १२ वटै पालिकामा रहेका सहकारी संस्थामध्ये सङ्घमा दुई सय ९२ वटा सहकारी र चारवटा विषयगत सङ्घमा आबद्ध रहेका छन् । सङ्घले आफ्नै भवनमा छापाखानासमेत सञ्चालन गरेको छ । सहकारी सङ्घको नाममा दुईवटा सुविधासम्पन्न व्यावसायिक भवन रहेका छन् । व्यावसायिक भवनको भाडाबाट सङ्घले भवन निर्माण गर्दा लिएको ऋणको किस्ता पाँच लाख १४ हजार ६ सय तीन रुपैयाँ राष्ट्रिय सहकारी बैंकलाई तिर्ने गरेको सचिव प्रकाशकुमार अधिकारीले बताए । आर्थिक मन्दीबाट प्रभावित सदस्य संस्थाको प्रवद्र्धन र विकासका लागि अभिभावकीय भूमिका निर्वाह गर्दै आएको सङ्घले स्थानीय निकाय, प्रदेश र सङ्घ सरकारसँग समन्वय गरी सहकारी अभियानलाई सुदृढ र व्यावसायिक बनाउन प्रयत्नरत रहेको छ ।