सुलक्षणा सहकारीको खुदनाफा दुई लाख ९४ हजार

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १२:३०

त्रिशूली, नुवाकोटको विदुर नगरपालिका-९ कोलनीमा मुख्य कार्यालय रहेको सुलक्षणा बहुउद्देश्यीय सहकारी संस्था लि.को २१औँ वार्षिक साधारणसभा गत पुस २७ गते सम्पन्न भएको छ । साधारणसभाले सेयरपुँजी वृद्धि गर्ने, निक्षेप वृद्धि गर्ने, सुरक्षित कर्जा लगानीमा ध्यान दिने, भाखा नाघेका ऋण असुली प्रक्रियामा जोड दिनेलगायत भावी नीति पारित गरेको छ ।

०५८ सालमा स्थापना भएको सहकारीले आ.व. ०७९/८० मा १७ करोड २४ लाख ३३ हजार चार सय ८९ रुपैयाँ बचत, १० करोड ४९ लाख ६४ हजार पाँच सय ९८ रुपैयाँ निक्षेप भुक्तानी गरी ६ करोड ७४ लाख ६८ हजार आठ सय ९१ रुपैयाँ निक्षेप सङ्कलन गरेको अध्यक्ष शिवप्रसाद अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष अधिकारीले साधारणसभामा वार्षिक कार्यक्रम तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आ.व. ०७९/८० को असार मसान्तसम्म कुल कर्जा लगानी ६ करोड ८० लाख ९४ हजार नौ सय ७८ र कर्जा असुली एक करोड ७५ लाख ९१ हजार दुई सय ३७ रुपैयाँ गरी कुल कर्जा लगानी पाँच करोड पाँच लाख तीन हजार सात सय ४१ रुपैयाँ रहेको जानकारी दिए । सहकारीले आ.व. ०७९/८० मा ९७ लाख २२ हजार ३२ रुपैयाँ विभिन्न शीर्षकमा खर्च गरी खुदनाफा दुई लाख ९४ हजार चार सय ९४ रुपैयाँ आर्जन गरेको छ ।
साधारणसभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक सुवर्णमान श्रेष्ठले प्रस्तुत गर्दै सहकारीको सेयरपुँजी निक्षेपको तुलनामा न्यून रहेकाले बढाउन सुझाव दिए । सामूहिक जमानीमा प्रवाह गरेको ऋण बढी जोखिम हुने भएकाले धितो सुरक्षणमा जोड दिनुपर्ने धारणा उनको थियो ।

सहकारीमा आ.व.०७८/७९ को तुलनामा आ.व. ०७९/८० मा सेयरपुँजी ६ लाख ५१ हजार आठ सय रुपैयाँले वृद्धि भएको जानकारी व्यवस्थापक सुनील बज्राचार्यले दिए । आ.व. ०७८/७९ मा ५५ लाख ९१ हजार दुई सय सेयरपुँजी रहेकामा साधारणसभाले निर्णय गरेअनुसार आ.व. ०७९/८० मा ६२ लाख ४३ हजार पु¥याइएको उनले बताए । साधारणसभाको अवसरमा विदुर नगरपालिका क्षेत्रभित्रका लौरोको सहायताबिना हिँडडुल गर्न असमर्थ वृद्ध/वृद्धा, अपाङ्गलाई ‘सुलक्षणा सहकारीको अभिभारा टेक्ने लठ्ठी वृद्ध/वृद्धाको सहारा’ भन्ने नारालाई कार्यान्वयन गर्न ३० जनालाई टेक्ने लौरी वितरण गरिएको सहकारीका सचिव हरिप्रसाद अधिकारीले जानकारी दिए । साधारणसभामा निवर्तमान अध्यक्ष मोहनबहादुर श्रेष्ठलाई सम्मान र शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले भैरुम मावि कक्षा ११ का छात्र नवीन श्रेष्ठलाई ‘सुलक्षणा बहुउद्देश्यीय सहकारी शिक्षा छात्रवृत्ति’ प्रदान गरिएको थियो ।