देवीघाट, नुवाकोट र विदुरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईयो

अन्तर्जातीय विवाह गर्ने सम्मानित

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १३:०७

विदुर, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नुवाकोटमा विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी मनाइयो । गत पुस २७ गते विदुर नगरपालिका–२ को आयोजनामा नुवाकोट दरबारपरिसर, पृथ्वी स्मारक संरक्षण समिति विदुर नगरपालिका–५ देवीघाटमा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको आयोजनामा पार्टी कार्यालयअगाडि लोकतान्त्रिक चौतारा विदुरमा भव्य रूपमा सम्पन्न भएको छ ।

नुवाकोट दरबारपरिसरमा भएको कार्यक्रम विदुर नगरपालिका–२ का अध्यक्ष दीपक कायस्थको सभापतित्व र बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमसहित सम्पन्न भएको थियो । जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख दलबहादुर तामाङ, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायत नागरिक अगुवा, स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागी बाजा–गाजासहित बजार परिक्रमा गरेर दरबारभित्र रहेको पृथ्वीनारायण शाहको सालिकलाई माल्यार्पण गरेर सभामा सहभागी भएका थिए । कार्यक्रमको प्रमुख अतिथि आर्थिक मामिला तथा योजनामन्त्री लामाको राष्ट्रिय एकता बलियो बनाउन जोड दिए । सो कार्यक्रममा विदुर नगरपालिका–२ ले नुवाकोट युवा क्लबका अध्यक्ष सरोज डङ्गोललाई युवाहरूको कुशल नेतृत्व गरी अग्रजको विश्वास र साथ लिई सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरी नुवाकोट स्वयम्भू संरक्षण कार्यमा विशेष भूमिका खेलेकोमा अभिनन्दनपत्र प्रदान गरिएको थियो । त्यसैगरी, वडाले गौतममानसिंह डङ्गोललाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वले भरिपूर्ण नुवाकोट क्षेत्रमा रहेको नुवाकोट स्वयम्भूको तथ्यपूर्ण खोज संरक्षण र प्रचार–प्रसारमा स्थानीय समुदाय, सङ्घ–संस्थासँग समन्वय गरी नुवाकोट स्वयम्भू क्षेत्रको संरक्षण र पुनर्निर्माणमा सक्रिय रहेकाले उनको योगदानको उच्च कदर गर्दै अभिनन्दनपत्र प्रदान गरेर सम्मान गरेको छ । वडा कार्यालयले वडाभित्र परम्परागत मागी अन्तर्जातीय विवाह गर्ने जोडीलाई समेत सो अवसरमा सम्मान गरेको छ । वडाले सन्जोक सुनार विदुर नगरपालिका– २ शेरा र विदुर नगरपालिका–२ की रचना कसाईलाई सम्मान गरेको छ । उनीहरूले समाजमा विद्यमान सामाजिक कुरीति तथा जातीय विभेदविरुद्ध आफूलाई उभ्याई मानवीय समानता र सामाजिक एकता कायम गर्न गत वैशाख २७ गते परम्परागत मागी अन्तर्जातीय विवाह गरी समाजमा सकारात्मक सन्देश दिएकोमा उनीहरूको आँट, धैर्यता र सोचको सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको वडाध्यक्ष दीपक कायस्थले बताए ।

त्यसैगरी, पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम पृथ्वीनारायण शाहको देहावसान भएको विदुर नगरपालिका–५ देवीघाटमा भव्य रूपमा सम्पन्न भएको छ । पृथ्वी स्मारक संरक्षण समिति देवीघाटको आयोजनामा भएको कार्यक्रम समितिका अध्यक्ष गोविन्दलाल चित्रकारको सभापत्विमा भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसहित नागरिक अगुवा, स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । माघ १ गते पृथ्वीनारायण शाह देहावसान भएको दिन हो । उक्त दिनमा पनि स्मारकमा र समाधिस्थलमा पृथ्वी स्मारक संरक्षण समिति देवीघाटको पदाधिकारी र स्थानीय उपस्थित भएर माल्यार्पण गरेको पृथ्वी स्मारक संरक्षण समिति देवीघाटका उपाध्यक्ष रामकृष्ण भट्टले जानकारी दिए । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको पृथ्वीजयन्ती तथा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विदुरको लोकतान्त्रिक चौतारामा कार्यक्रम गरेर पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेको थियो ।