पासाङल्हामु राजमार्ग छिट्टै निर्माणको चरणमा जान्छ : अर्थमन्त्री महत

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १३:४९

त्रिशूली, सङ्घीय सरकारका अर्थमन्त्री डा. प्रकाशरण महतले नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा पुरानो सडक पासाङल्हामु राजमार्गको निर्माण छिट्टै अघि बढ्ने बताएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ मा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले जिल्लाको ठूलो भूगोल समेट्ने सडकको स्तरोन्नतिको क्रममा जीर्ण भएको सडक अबको एक वर्षभित्र चरणबद्ध रूपमा ठेक्का लगाइसक्ने प्रतिबद्धता जनाएका हुन् । त्रिशूलीबाट ककनी हुँदै सीधै बालाजु निस्कने ७२ किलोमिटर सडकको काठमाडौंतर्फको निर्माण सम्पन्न भइसकेकाले नुवाकोटतर्फको सडकलाई दुई चरणमा ठेक्का लगाउन लागिएको उनको भनाइ छ । ‘काठमाडौंको तिनपिप्लेदेखि नुवाकोटको ककनीसम्म एक अर्ब ३३ करोड बजेट सुनिश्चित गरेर बहुवर्षीय ठेक्का लगाइसकिएको छ,’ अर्थमन्त्री महतले भने, ‘ककनीदेखि पिपलटारसम्मको सडक यसअघिको ठेक्काबाट बच्ने रकममा सम्बोधन हुन सक्छ । त्यसो नभए अर्को वर्ष बजेट छुट्याएर काम सुरु हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।’
वि.संं.२०१८ सालमा विस्तार भएको नुवाकोट र रसुवा जोड्ने पासाङल्हामु राजमार्ग वि.सं. २०७१ सालमा एकबाट दुई लेन बनाउन स्तरोन्नतिको ठेक्का लगाइएको थियो ।

उक्त समयमा यसअघि गरिएको कालोपत्रे खनेपश्चात् निर्माण व्यवसायीले काम नगरेपछि सरकारले ठेक्का तोड्न बाध्य भएको थियो । सुचारू अवस्थामा रहेको सडक स्तरोन्नतिका लागि जीर्ण बनाएसँगै पछिल्लो एक दशकदेखि यस सडकमा आउजाउ गर्न समस्या भएसँगै सोही सडक हँुदै कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्री डा. महतले अबको एक वर्षभित्रै स्तरोन्नतिको काम सुरु हुने प्रतिबद्धता जनाएका हुन् । जीर्ण भएको सडकमा आउजाउ गर्न प्रभावित भएसँगै जिल्लावासी वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएको, कृषि उपजको बजारीकरण, पर्यटकीय क्षेत्र ककनी ओझेलमा परिरहेको समयमा सडक स्तरोन्नति सुरु हुने अर्थमन्त्रीको प्रतिबद्धताले उत्साह जागेको छ ।