संस्थागत स्वमूल्याङ्कनमा दुप्चेश्वर प्रथम

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार ११:५५

विदुर, नुवाकोटका १२ वटा पालिकामध्ये ‘संस्थागत स्वमूल्याङ्कन’मा दुप्चेश्वर गाउँपालिकाले ८० अङ्क पाएको छ । आर्थिक वर्ष ०७९/८० को ‘संस्थागत स्वमूल्याङ्कन’मा दुप्चेश्वरले सो अङ्क पाएको हो ।

माघ ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत दीपेश रिजालले स्वमूल्याङ्कन सूचक, सूचकको पूर्णाङ्क र प्राप्त अङ्कसम्बन्धी पेस गरेको विवरणअनुसार दुप्चेश्वरले ८०.५ अङ्क प्राप्त गरेको हो । आर्थिक वर्ष ०७८/७९ मा ५१ अङ्क मात्र ल्याएको पालिकाले त्यसपछि कार्यसम्पादन र क्षमतामा उल्लेख्य सुधार गरी उक्त अङ्क बढाएको छ । आ.व. ०७९/८० मा भने ८०.५ अङ्क प्राप्त गरी आफ्नो क्षमता सुधार भएको पालिकाले उल्लेख गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम विभिन्न १० वटा क्षेत्रको एक सयवटा सूचकमा दुप्चेश्वर गाउँपालिकालाई आ.व. ०७९/८० को संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा ८० प्रतिशत प्राप्त भएको छ । नुवाकोट जिल्लामा हालसम्म संस्थागत स्वमूल्याङ्कनको नतिजा सार्वजनिक भएकामध्येमा दुप्चेश्वर प्रथम भएको छ भने किस्पाङ गाउँपालिकाले ७७ अङ्क ल्याएर दोस्रो भएको छ । पुस मसान्तसम्म सबै गाउँपालिका र नगरपालिकाले संस्थागत स्वमूल्याङ्कन पठाउनुपर्ने कार्यविधि, २०७७ अनुसार नुवाकोटको सबै पालिकाले स्वमूल्याङ्कन गरेर जिल्ला समन्वय समितिमा कार्यपालिकाको बैठकबाट निर्णय गराएर अझै केहीले पठाएका छैनन् ।