राष्ट्रपति रनिङ सिल्ड ज्ञानज्योतिको पोल्टामा

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार ११:५८

काहुले, किस्पाङ गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । ज्ञानज्योति मावि फिकुरीमा सम्पन्न प्रतियोगितामा छात्र/छात्राको आठ खेल विधामा प्रतिस्पर्धा गराएको थियो ।

पालिकाभित्रका ६ माविले भाग लिएको प्रतियोगितामा ज्ञानज्योति मावि फिकुरी प्रथम भएको छ । उक्त प्रतियोगितामा पञ्चलिङ्गे मावि किस्पाङ गाउँपालिका–२ काहुले दोस्रो र साल्मे मावि साल्मे तृतीय भएको छ । प्रतियोगितामा दुई र चार सय मिटर दौड, ज्यामलिङथ्रो, सटफुट, हाइजम्प, लङजम्प, भलिबल, कबड्डी खेल समावेश गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम हुने ज्ञानज्योति माविले ६ स्वर्ण, चार रजत, दुई कांस्य, द्वितीय हुने पञ्चलिङ्गेले चार स्वर्ण, तीन कांस्य र तृतीय हुने साल्मे माविले तीन स्वर्ण, एक रजत र दुई कांस्य पदक प्राप्त गरेका थिए । प्रतियोगिताका विजेता विद्यालयलाई सोमबार पालिकाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले सिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।