च्वाडी माविमा अक्षयकोष स्थापना गर्न नगद प्रदान

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:११

माझीटार, विदुर नगरपालिका–५ मा रहेको च्वाडी पब्लिक माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ गत हप्ता सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयका संस्थापक सदस्य स्वर्गीय टेकबहादुर थापामगरको नाममा गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न उनको परिवारले अक्षयकोष स्थापनाका लागि एक लाख चार सय पाँच रुपैयाँ प्रदान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खनालको सभापतित्व र पूर्वप्रधानाध्यापक एवम् नेपाल रेडक्रस जिल्ला शाखाका पूर्वसभापति रामप्रसाद जोशीको प्रमुख आतिथ्यता र विदुर नगरपालिका–५ अध्यक्ष लीलानाथ न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा अक्षयकोष स्थापनाका लागि स्वर्गीय थापाको परिवारले नगद प्रदान गरेका थिए । कार्यक्रममा थापाका पाँच सन्तानमध्ये तीन सन्तान दिवाकर थापामगर, निर्मला रानामगर र प्रभाकर थापामगर उपस्थित भई विद्यालयका प्रधानाध्यापक द्वारिकाप्रसाद पाण्डेलाई उक्त रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडास्तरीय राजनीतिक दलका प्रतिनिधि, आसपासका विद्यालयका पूर्वप्राध्यापक/प्राध्यापक, शिक्षक, भूतपूर्व विद्यार्थी, क्याम्पसका प्रमुख तथा विभिन्न सङ्घ-संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष र अभिभावकको उपस्थितिमा दिवस सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पूर्वशिक्षक शिवकुमार मिश्रले स्थापना गरेको अक्षयकोषबाट विद्यालयमा अध्ययनरत कक्षा एकदेखि १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

विविध सांस्कृतिक कार्यक्रम, कराँते, तेक्वान्दो खेलका साथै गत वर्ष विद्यालयका नर्सरीदेखि कक्षा १२ सम्ममा र वार्षिकोत्सव कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो स्थान हुने छात्रछात्रालाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम सम्पन्न गर्न च्वाडी बाल क्लबको भूमिका प्रशंसायोग्य रहेको च्वाडी बाल क्लबका संरक्षक शिक्षक गणेशबहादुर कुमालले जानकारी दिए । उक्त कार्यक्रमकै अवसरमा विदुर नगरपालिका–५ नम्बर वडा कार्यालय माझीटार नुवाकोटबाट विद्यालयलाई फोहोर व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ च्वाडी बाल क्लब र रुम टु रिड ‘पढ्नका लागि कोठा’ बालिका शिक्षा कार्यक्रमको पहलमा सात थान डस्टबिन उपलब्ध गराइएको थियो ।