नुवाकोट महोत्सवको तयारी तीव्र

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:२९

विदुर, नुवाकोटको विदुर नगरपालिका–४ विदुरमा हुन लागेको आठौँ महोत्सवको तयारीमा नुवाकोट उद्योग वाणिज्य सङ्घ दु्रत गतिमा जुटिरहेको छ । सङ्घले महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढाएको छ ।

सङ्घले ०६३ देखि स्थानीय उत्पादनलाई प्राथमिकता दिन स्थानीयले माग गरेअनुसार महोत्सवमा निःशुल्क स्टल उपलब्ध गराएको थियो । यही माघ २६ देखि फागुन ७ गतेसम्म हुन लागेको महोत्सवमा पनि स्थानीय लघु घरेलु तथा कृषि उत्पादनको प्रदर्शनीका लागि निःशुल्क स्टलको व्यवस्था गरेको छ । स्थानीय लघु घरेलु तथा कृषि उत्पादनको बजारीकरण र प्रवद्र्धन मुख्य उद्देश्य रहेको आयोजक उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा विदुर नगरपालिकासहित जिल्लाको १२ वटै पालिकाका विभिन्न स्थानमा रहेका स्थानीय उत्पादनको खोजी र पहिचान गरेर महोत्सवमा ल्याउन पालिकासँग समन्वय र सहकार्य गरिरहेको सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । महोत्सवमा स्थानीय कृषि उत्पादनसँगै हस्तकलाका सामग्रीका लागि निःशुल्क स्टल उपलब्ध गराएर आउन प्रेरित गरिएकोसमेत उनले बताए । त्यस्तै, स्थानीय उद्योगले उत्पादन गरेका अन्य औद्योगिक सामग्रीका लागि स्टल शुल्कमा ३० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । गाउँ–गाउँमा भएका उत्पादनको विवरण सङ्कलन गर्ने काम भइरहेको कृषि प्रदर्शनी व्यवस्थापन समितिका संयोजक तथा सङ्घका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । उनले स्थानीय कृषि सहकारी तथा हस्तकला उत्पादक सम्पर्कमा आइरहेको बताए । जिल्ला कृषि ज्ञान केन्द्र, घरेलु विकास कार्यालय, जिल्ला लघु उद्यमी सङ्घ र जिल्लाका विभिन्न पालिकाबीचको समन्वयमा स्थानीय उत्पादन र कृषि उपजको प्रदर्शनीको व्यवस्था मिलाइएको छ । महोत्सवमा कृषि ज्ञान केन्द्र र पशु अस्पताल तथा विज्ञ केन्द्रले स्थानीय रैथाने कृषि उत्पादन र पशुपक्षीको प्रदर्शनी गर्ने तयारी गरिरहेका छन् । मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीले नुवाकोटमै अनुसन्धान गरी सफल भएको रेन्बो ट्राउट माछा, रङ्गीन माछासहित जिल्लामा पाइने स्थानीय जातका माछाको प्रदर्शनी र महोत्सवका आगन्तुकलाई परामर्श दिने तयारीमा रहेको केन्द्रका प्रमुख ईश्वरीसिंह महतोले जानकारी दिए ।
महोत्सवको स्टल बनाउने कार्य सुरु भइसकेको छ । स्टल बनाउन आवश्यक सामग्री र प्राविधिक जनशक्ति ठेकेदारले ल्याइसकेको छ । स्टल व्यवस्थापन समितिका संयोजक एवम् सङ्घ रहेको उपाध्यक्ष सविन राजभण्डारीले दिएको जानकारीअनुसार माघ २२ गतेभित्र स्टल निर्माण भइसक्नेछ ।

महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन सङ्घले २९ वटा उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरी परिचालन गरिरहेको छ । महोत्सव अवधिभरका लागि जिल्लाबाहिरका लोकदोहोरी, आधुनिक गीतलगायत हास्यविधाका कलाकारसँग सम्झौता भइसकेको कलाकार समन्वय समितिका संयोजक एवम् सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए । महोत्सवको प्रचार–प्रसार विभिन्न माध्यमबाट तीव्र रूपले भइरहेको सङ्घका महासचिव उपेन्द्र बुढाथोकीले जानकारी दिए । महोत्सवको तुल–ब्यानर जिल्लाभरि राख्ने काम भइसकेको, विदुर, बट्टारमा स्वागत गेट बनाइसकेको, माघ २० देखि जिल्लाभर महोत्सवको जानकारी दिने गरी माइकिङ गरिने उनको भनाइ छ । विगतको भन्दा मितव्ययी ढङ्गले महोत्सव सम्पन्न गर्ने तयारीमा सङ्घ रहेको छ । महोत्सवमा लगभग एक करोड आम्दानी र एक करोड नै खर्च गर्ने योजना बनाएर सङ्घ क्रियाशील भइरहेको सङ्घका कोषाध्यक्ष एवम् महोत्सवको प्रायोजक÷प्रवद्र्धक व्यवस्थापन समितिका संयोजक मेघनाथ घिमिरेले बताए । महोत्सवको प्रायोजक÷सहप्रायोजकसँग सम्झौता भइसकेको, प्रवेश टिकटको डिजाइन भई छपाइको प्रक्रिया अगाडि बढाइएको सङ्घका कार्यसमितिका सदस्य एवम् टिकट व्यवस्थापन समितिका संयोजक पुरुषोत्तम कार्कीले बताए ।