‘झिल्टुङ चिनाउने र धावक बढाउने’ क्रसकन्ट्री प्रतियोगिता सम्पन्न

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:४४

नुवाकोट, ‘जे गरौँ गज्जबले गरौँ’ भन्ने नाराका साथ नुवाकोटको बेलकोटगढी नगरपालिका–५ झिल्टुङमा ‘झिल्टुङ क्रसकन्ट्री दौड’को आठौँ संस्करणको प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका राष्ट्रियस्तरका खेलाडीसहित भेट्रान, खुला छात्र–छात्रा एवम् स्थानीय महिला (आमा समूह) तथा पुरुष (बा समूह)सहितको विभिन्न दश विधामा प्रतिस्पर्धा गर्दै ‘धावक’ले अघिल्ला वर्षका कीर्तिमानी (रेकर्ड) तोडेका छन् । प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीका अनुसार १३.५ किलोमिटर पुरुष खुलातर्फको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका टंकबहादुर कार्की प्रथम, काठमाडौंका मिङ्मार सिङ्गी तामाङ दोस्रो र त्रिभुवन आर्मी क्लबका सुवास कार्की तेस्रो भए । १३.५ किलोमिटर महिला खुलातर्फ खोटाङकी प्रिया राई प्रथम, नेपाल पुलिस क्लबकी राममाया बुढा दोस्रो र त्रिभुवन आर्मी क्लबकी हुमी बुढामगर तेस्रो भए । यस्तै, १३.५ किलोमिटरको भेट्रान खुला पुरुषतर्फ दाङका भीमबहादुर गुरुङ प्रथम, धादिङका रैवतबहादुर दाहाल दोस्रो र नेपाल डाइनामिक क्लबका भीमबहादुर अवाले तेस्रो भए । सोही दूरीअन्तर्गत स्थानीय पुरुषको प्रतिस्पर्धामा विमल थापामगर प्रथम, सन्दीप राई दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए ।

प्रतियोगिताको छोटो दूरीतर्फ ४.५ किलोमिटर खुला (१६ वर्षमुनि)को छात्रातर्फ काठमाडौंका आयुस्मा आचार्य प्रथम, निला याख दोस्रो र कास्कीकी कविता मगर तेस्रो भए । सोही दूरीतर्फको खुला (१६ वर्षमुनि) छात्रतर्फ काठमाडौका सनाम शेर्पा प्रथम, जयराम थापा दोस्रो र हरिचन्द्र तामाङ तेस्रो भए । ४.५ किलोमिटर स्थानीय छात्रतर्फ सुरज नेपाल प्रथम, सन्तोष तामाङ दोस्रो र गोकुल कुँवर तेस्रो भए भने छात्रातर्फ सकिना तामाङ प्रथम, सिलसिला कुँवर दोस्रो र कौशिला लामा तेस्रो भए । ४.५ किलोमिटर स्थानीय महिला (आमा समूह)तर्फ सनिता श्रेष्ठ प्रथम, कमला श्रेष्ठ दोस्रो र बिन्दा नेपाल तेस्रो भए भने स्थानीय ४५ वर्षमाथिका पुरुष (बा समूह)तर्फ मिठु नेपाल प्रथम, गोपी नेपाल दोस्रो र चन्द्रमान श्रेष्ठ तेस्रो भए । प्रतियोगिताको लामो दूरीतर्फ खुला महिला र पुरुषतर्फको विधामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार राशिसहितको सम्मानपत्र प्राप्त गरे । यस्तै, बाँकी लामो दूरी र छोटा दूरीतर्फका विभिन्न आठ विधाका उत्कृष्ट प्रतियोगीलाई नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदान गरे । दौडमार्फत नुवाकोट र झिल्टुङलाई देशभर चिनाउन सहयोग पुगेको भन्दै आगामी संस्करणदेखि प्रतियोगितालाई परिमार्जनसहित थप परिष्कृत बनाउने नेपाल एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।

नुवाकोटको दुईपिपलनिवासी तथा एथलेटिक्स खेलाडी मोहन नेपालको परिकल्पनामा सात वर्षअघि बेलकोटगढी नगरपालिका– ५ कोल्पुटारमा रहेको महाँदेव माविको आयोजनामा सुरु भएको प्रतियोगिता पछिल्लो समय सञ्चालनको जिम्मेवारी आफूहरूले लिएर पालिकास्तरीय खेल पर्वको रूपमा विकास गर्दै अघि बढेको आयोजक वडा नं.– ५ का अध्यक्ष मदन भुजेलले बताए । उनका अनुसार प्रतियोगिताबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा उल्लेख गरेअनुसार रसुवाको गोसाइँकुण्डभन्दा नुवाकोटको झिल्टुङ ‘पहाडी जीवन’का लागि उत्कृष्ट स्थल हो भनेर बुझाउन सहयोग पुगेको छ । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीसहित स्थानीय छात्र–छात्राको सहभागिताले धावक उत्पादन र खेल पर्यटनमा उल्लेख योगदान मिलेको छ,’ वडाध्यक्ष भुजेलले भने, ‘स्थानीय आमा र बा’लाई दौडाउँदा समाज रूपान्तरण र परिवर्तनमा महिला–पुरुषबीचको समानता छाएको छ ।’ यस वर्षको आठौँ संस्करणको प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका राष्ट्रियस्तरका खेलाडीसहित दुई सयभन्दा बढी प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।